लापरवाही नगरौं

२८ मंसिर २०७७, आईतवार मा प्रकाशित

पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारको यो तथ्यांकका आधारमा महामारीको रुप लिएको कोरोना भाइरसको प्रभाव कम हुँदै गएको मान्नु पर्छ । यद्यपि सरकारको दाबी पत्याइहाल्नु पर्ने अवस्थाको छैन । सरकारले परीक्षण नै कम गर्दै लगेको र संक्रमित भई हाले उपचार नै नपाइने अवस्थाका कारण तथ्यांक मिथ्यांक हुन सक्ने अनुमान गर्न गाह्रो छैन । निःशुल्क हुँदै आएको पीसीआर परीक्षण सशुल्क गरेपछि त्यसै पनि परीक्षण गर्नेहरुको संख्या कम हुन थालेको समाचार सार्वजनिक भएकै हो । अझ संक्रमित भई हाले मापदण्ड अनुसारको आइसोलेसन र त्यसपछिको अवस्थामा उपचारको अनुपलब्धताका कारण कतिपयको घरमै मृत्यु हुन थालेको सन्दर्भले पनि सरकारको तथ्यांकका आधारमा ढुक्क हुने अवस्था छैन ।

परीक्षण निःशुल्क भएको अवस्थामा ६० देखि ६२ प्रतिशतमात्र संक्रमणमुक्त हुने गरेका थिए । त्यतिबेला परीक्षण दर उच्च थियो, परीक्षणशालामा परीक्षण गर्न जानेहरुको भीड रहन्थ्यो । नेपालमा सरुवा रोग विशेष उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पनि अहिले परीक्षण नै कम भएको भन्दै विगतका संक्रमितको निको हुने दर बढेको स्वीकार गरेका छन् । त्यस्तै सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपालले पनि डा. राजभण्डारीकै तर्क दिँदै लक्षण नभएकाहरु घरमै निको हुन थालेको बताएका छन् । त्यस्तै तथ्यांक मृत्युदरमा देखिएको छ । अर्थात् संक्रमितहरुको मृत्युदर विश्वका अन्य देशको तुलनामा नेपालमा कम नै छ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको दर २.३ प्रतिशत छ भने नेपालमा ०.६७ प्रतिशत मात्र रहेको छ । यसरी हेर्दा नेपालीहरु कारोनाबाट सुरक्षित छन् र थोरै पनि सावधानी अपनाए महामारीबाट बच्न सकिने देखिन्छ ।

विश्वमा हालसम्ममा ७ करोडभन्दा बढी मानिस कोरोना संक्रमित छन् । ती मध्ये सोह्र लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये नेपालमा दुई लाख ४६ हजारभन्दा बढी संक्रमित छन् र सोह्र सय चौहत्तर जनाको मृत्यु भइसकेको छ । कोरोनाको त्रास यथावत रहेको तथ्यांकले बोलिरहँदा पनि हाम्रा आनीबानीमा परिवर्तन आउन सकेको छैन । हाटबजार, बिहेबटुलो, भोजभतेर र सडक पुरानै लयमा फर्किसकेका छन् । यस्तो लाग्छ कि अब नेपालीलाई कोरोनाको त्रास छैन, नेपाल कोरोनामुक्त देश हो । न स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सम्बन्धी मापदण्डको सुनवाई भएको छ न त त्यसको अनुगमन गर्ने कुनै संयन्त्र नै छ । भौतिक दूरी कायम गर्ने विषय त सरकारले नै उल्लंघन गरेकै हो । सर्वसाधारणले पनि मास्क लगाउन छाडिसकेका छन् । भीडभाड अनियन्त्रित हुन थालेको छ, केबल सिनेमा घर खुल्न बाँकी छन्, स्कूलहरु असुरक्षित ढंगले खुल्न थालेका छन् । यस्तो लाग्छ यो सरकारको निष्प्रभावले ठूलै आँधी ल्याउनेछ र कारोना नामको आँधीले दोस्रो चरणमा प्रवेश गरी अझै ठूलो क्षति गराउनेछ । त्यसैले थोरै पनि सजग नभइए परिणाम अकल्पनीय हुन सक्छ, होशियारी गर्नै पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here