उपभोक्ता अधिकारप्रति सचेत बनौं

0
5

आज अंग्रेजी महिना मार्चको १५ तारिख । आजको दिनलाई उपभोक्ताको वस्तु तथा सेवा उपभोग सम्बन्धी अधिकार सुनिश्चित गर्ने दिनका रुपमा लिइन्छ । सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाईलाई उपभोक्ताको प्रमुख चार अधिकारका रुपमा घोषणा गरेका थिए । त्यही घोषणाको आधारमा संयुक्त राष्ट्रसंघले सन् १९८५ बाट उपभोक्ता अधिकारसहितको अनुबन्ध पारित गरेको थियो । राष्ट्रसंघले राष्ट्रपति केनेडीद्वारा प्रस्तुत अधिकारमा थप गरेर पारित गरेको आधारमा विश्वभरका देशहरुले उपभोक्ता कानून जारी गरेका छन् ।

उपभोक्ता कुनै वस्तु उपभोग गर्ने वा सेवा प्राप्त गर्ने व्यक्ति हो । आफूले कुनै वस्तु वा सेवा उपभोग गरेवापत केही मूल्य तिर्छ, त्यसका आधारमा व्यक्ति वा संस्था उपभोक्ता हुन्छन् । आफूले प्रयोग गर्ने वस्तु व्यक्तिको स्वास्थ्यसँग सम्बन्धित हुन्छ । त्यसैले उपभोक्ताले कुनै वस्तु वा सेवा उपभोग गर्नु पूर्व त्यसको गुणस्तर, प्रभाव वा असरका बारेमा सजगता अपनाउनुपर्छ । त्यस्ता वस्तु उपभोग गर्न योग्य छ/छैन, उत्पादन र उपभोगको सीमा निर्धारित छ÷छैन भन्नेमा उपभोक्ता सचेत हुनैपर्छ । सँगसँगै वस्तु उत्पादक, आयात–निर्यातकर्ता, सञ्चयकर्ता, बिक्रेता र सेवा प्रदायक संस्था पनि जिम्मेवार हुनुपर्छ । त्यसका लागि सेवा प्रदायक र वस्तु विक्रेता, उत्पादकदेखि आयात–निर्यातकर्ता र सञ्चयकर्ताले पनि उपभोक्तालाई सचेत गराउनु पर्दछ ।

केनेडीको घोषणाका आधारमा राष्ट्रसंघको साधारणसभाबाट पारित अधिकारसहितको अनुबन्धलाई प्रत्येक सदस्य राष्ट्रले स्वीकार गरी उपभोक्ता कानून जारी गरेका छन् । त्यस अनुसार प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरिएको छ । राज्यद्वारा प्रत्याभूत अधिकारको पूर्ण उपयोग प्रत्येक व्यक्तिको अधिकार हो । तसर्थ प्रत्येक उपभोक्ता आफूले प्राप्त गर्ने सेवा र उपभोग गर्ने वस्तुको प्रभावकारिता र गुणस्तरको बारेमा सचेत हुनुपर्छ । उपभोक्ताका अधिकारहरुमा सुरक्षा, सूचित, छनोट, सुनुवाई, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच, स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार राज्यद्वारा प्रत्याभूत गरिएका छन् । सो अधिकारको प्रयोग गर्नेबारे उपभोक्ता सजग हुन सके कुनै पनि प्रकारको सम्भावित जोखिमबाट सुरक्षित हुन सकिन्छ । विश्व उपभोक्ता अधिकार दिवसले आमउपभोक्तामा सचेतना जगाओस्, स्वास्थ्य नै धन हो भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्न सकोस् अनि मात्र यसको सान्दर्भिकता बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here