तरकारी किन्न बजार होइन अब झोला बोकेर वारी जाऔं अभियान

0
865

झापा ।

सहारा नेपाल सहकारी संस्थाले अब कृषि क्षेत्रको विकाससँगै कृषकलाई आय–आर्जनको पाटोमा जोड्न शुरु गरेको छ ।

बाहुनडाँगीदेखि उदयपुरसम्म र पाँचथरदेखि उदयपुरसम्मको चुरे क्षेत्रका कृषकलाई बाख्रा पालनका लागि प्रोत्साहन गर्दै दीगो आय–आर्जनका लागि प्रेरित गर्ने सहकारीको योजना रहेको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

सहकारीले कृषि मूल्य श्रृंखला अन्तर्गत चुरे क्षेत्रका पाँच हजार जनालाई प्राविधिक सिप, ऋण समेत दिने योजना अघि सारेको कार्यकारी निर्देशक गिरीको भनाइ छ । विगत तीन वर्षदेखि चुरे क्षेत्रमा यस खाले कार्यक्रम सञ्चालन गर्दै आएपनि अब कृषकलाई आय–आर्जनको पाटोमा जोडेर लान सहकारीले थप रणनीति लिएको कार्यकारी निर्देशक गिरीको भनाइ छ । यसअघि सञ्चालनमा ल्याइएको यो कार्यक्रम प्रभावकारी भएको भन्दै यस खाले कार्यक्रमले कृषकहरु प्रत्यक्ष लाभान्वित भएकाले यो कार्यलाई निरन्तरता दिँदै अघि बढ्ने गिरीले बताए ।

सहकारीले टनेल भिलेज कार्यक्रम सञ्चालन गरिरहेको र अब सहकारीका सदस्य तरकारी लिन बजारतर्फ होइन करेसावारी र कौशीतिर जाने छन्– गिरीले भने– सहकारीले सञ्चालन गरेको यो कार्यक्रमले सबै सदस्यलाई राहत पुग्ने छ । अहिले यो कार्यक्रमका लागि पाँच सय टनेल खेती गरिनेछ । यो कार्यक्रम सञ्चालन भएर लागू भएपछि हाम्रा सदस्य तरकारी लिन बजार होइन वारीतर्फ जाने छन् । यो अभियान अहिले सहकारीले सञ्चालन गर्दैछ ।

सहकारीले शिवसताक्षी नगरपालिका–८स्थित दोमुखाको जमिनलाई कृषि पर्यटनका रुपमा विकास गरेर लगेको गिरीको भनाइ छ । सो क्षेत्रमा दुई विगाह ८ कठ्ठा जमिनमा मह उद्योग, बाख्राको स्रोत केन्द्र र तरकारीको टनेल निर्माण गर्ने सहकारीले लक्ष्य लिएको बताइएको छ ।

सहकारीका सदस्यहरुले उत्पादन गरेका वस्तुको बिक्रीका लागि बजारीकरण गर्न समेत पहल थालिएको गिरीको भनाइ छ । जसका लागि सहकारीले कोशेली घर निर्माण गर्ने बताइएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यहरुमा कोरोना संक्रमण देखिए १४ दिनसम्म ५ सय रुपैयाँका दरले उपचारमा सहयोग गर्ने र अस्पताल भर्ना भएर उपचार गर्नुपरेको खण्डमा तीन लाख रुपैयाँसम्म उपचार खर्च व्यहोर्ने भएको छ ।

अहिले कोरोना संक्रमण दर उच्च रहेको र यसलाई नियन्त्रणका लागि सरकारको तर्फबाट पहल भइरहेको र संक्रमितको संख्या बढ्दै गएको खण्डमा २५ वेडसम्मको सुविधासम्पन्न मिनी अस्पताल निर्माण गर्ने बताइएको छ । गिरीले मृगौलाको डायलासिसका लागि समेत २५ वेडको अस्पताल तया गर्ने कार्यक्रम सहकारीले अघि सारिएको बताए ।

शनिवार सहारा नेपाल सकारी संस्थाको २४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै १ नम्वर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले सहकारी क्षेत्रले अब वजारीकरणको नेतृत्व लिनुपर्ने बताएका छन् ।

विचौलियाका कारण उपभोक्ताले उत्पादन गरेका सामान उपभोक्तासम्म पुग्दा महंगो मूल्य पर्ने र उत्पादन गरिएका कृषि सामग्रीसँगै बिक्री बितरणमा समस्या भएको भन्दै राज्यमन्त्री रानाले उपभोक्ता र कृषकलाई जोड्ने काम गर्न सहकारीले बजारीकरणको नेतृत्व लिनुपर्ने बताए । मन्त्री रानाले बजारीकरणको नेतृत्व लिन सहारा नेपाल सहकारी संस्थालाई आग्रह गर्दै उत्पादनमा मात्र नभई सहकारीले अब बजारीकरणको समेत काम गर्नु पर्ने धारणा राखे । राज्यमन्त्री रानाले सहकारीले अब सरकारसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने र बजारीकरणका लागि पहल गर्न जरुरी रहेको बताए ।

राज्यमन्त्री रानाले बजारका सम्झौताका कारण समेत नेपाली कृषक मारमा परेको बताए । उनले नेपालबाट भारत लगायतका देशमा तरकारी निर्यात गर्दा बन्दा कोपी मात्र निर्यात गर्ने सम्झौता रहँदा समस्या हुने गरेको बताए ।

सहकारीका कार्यवाहक अध्यक्ष हरि प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २का वडाध्यक्ष नगेन्द्र संगौला लगायतले बोलेका थिए ।

सहकारीका कोषाध्यक्ष डम्वर देउजाले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा सहकारीका कार्यकारी निर्देशक गिरीले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष उप्रेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रम चित्रकला ओली र शुक्रवहादुर तामाङले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here