अंशहक र अंशवण्डा सम्बन्धी कानूनी व्यवस्था

0
3548

विश्वमा परापूर्वक कालदेखि नै अंशबण्डाको अभ्यास हुँदै आएको छ । पूर्वीय सम्यतामा अंशवण्डाको चलन अधिकांश समाजमा रहेको पाइन्छ । महाभारत कालमा हस्तीनापुर राज्यको अंशवण्डाको विषयलाई लिएर आफ्नै भाइ भारदार कौरब र पाण्डबहरुबीच ठूलो युद्ध भएको घटनाको वर्णन महाभारतमा पाइन्छ । यही अंशबण्डा जसले एउटी आमाका स्तनपान गर्ने सहोदर दाजुभाइहरुबीच क्षणभरमा फाटो ल्याई दिन्छ । अनि आफ्नै छोरो वा छोरी यसैको लागि आपूmलाई जन्मदिने मातापिताको विभत्स हत्या गर्न समेत पछि पर्दैनन् ।

तथापि कानूनी दृष्टिकोणबाट हेर्दा अंशहक नैसर्गिकरुपमा प्राप्त गर्ने हक हो । अंशवण्डा भन्नाले संगोलमा रहेको पारिवारिक सम्पत्तिलाई त्यस परिवारका अंशियारहरु बीच भागबण्डा लगाउने प्रक्रिया हो । यसअर्थमा ‘अंश’भन्नाले हिस्सा र ‘वण्डा’ भन्नाले अंशियारहरुकाबीच सम्पत्तिमा अंश वा भाग लगाउने कार्य भन्ने जनाउँदछ । नेपाली बृहत शब्दकोषमा ‘अंशियारहरुकाबीचमा रहेको संगोलको श्रीसम्पत्तिको बाँडफाँड ।’ भनेर अंशबण्डाको परिभाषा गरिएको छ । त्यसैगरी डा. शान्ता थपलियाका अनुसार ‘घर सारमा सरसल्लाहको रुपमा होस् या अदालतमा नालिस गरेर होस् पैतृक सम्पत्तिको (चल–अचल) अंशियारहरु बीच कानूनको रीत पु¥याइ नरम करम मिलाई बाँडफाँड हुनु अंश बण्डा गर्नु हो ।’

संगोलको सम्पत्तिको अंशवण्डा

सामान्यता अंशबण्डा पैतृक सम्पत्तिको सम्बन्धमा लागू हुने अर्थात् बाबुबाजेले आर्जन गरेको सम्पत्तिको सम्बन्धमा लागू हुने भएता पनि संयुक्त परिवार रहेको अवस्थामा पैतृक सम्पत्तिको अंश परिवारको सदस्यहरुका अंशियारहरुबीच भागबण्डा नभइसकेको अवस्थामा परिवारका सदस्यहरु जस्तैः भाइ, छोरा, नाति, बुहारी आदिले आर्जन गरेका सम्पत्ती पनि पैतृक सम्पत्तीमा गाभिन गई संगोलको सम्पत्ति ठहरिन सक्दछ ।

किनकि मुलुकी देवानी संहिता, २०७४ को दफा २५७ ले संगोलको सम्पत्तिको रुपमा पुख्र्यौलीबाट प्राप्त सम्पत्ति, निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, अंशियाले संगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति, कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा बढे÷बढाएको सम्पत्ति पति वा पत्नीको संगोलको सम्पत्ति मानेको छ । त्यस्तै बाबु–आमा र छोरा–छोरीबीच अंशबण्डा गर्नेप्रयोजनको लागि बाबु–आमाले आर्जन गरेको सम्पत्ति समेत संगोलको सम्पत्ति मानेको छ । यस्तो संगोलको सम्पत्तिको उपभोग, हक हस्तान्तरण लगायतका कार्यहरु कानून बमोजिम मात्र हुने व्यवस्था रहेको छ ।

तथापि वादी सुमनकुमार प्रधानविरुद्ध सुरेन्द्रकुमार प्रधान समेत भएको अंश चलन मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले एक फैसलामा भनेको छ– ‘आफ्नो सिप र प्रयासबाट निजी तवरमा प्राप्त गरेको कुनै सम्पत्ति प्राप्त गर्नेको निजी नै मान्नुपर्ने र कुनै सम्पत्ति बण्डा लाग्ने सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिले त्यस्तो सम्पत्ति के–कसरी प्राप्त गरेको हो ? सो सम्पत्ति संगोलको आयआर्जनबाट खरिद गरेको बाहेकका संगोलको खतिउपतिबाट जोडेको हो भनी–भनी तथ्ययुक्त प्रमाण पेश गरी पुष्टि हुनु आवश्यक हुन्छ ।’ (ने.का.प. २०७३ अङ्क ८, नि.नं. ९६५२)
त्यस्तै, वादी अहमद अति गद्दीविरुद्ध अलि गद्दि भएको अंश मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले निजी आर्जनको सम्पत्तिको सन्दर्भमा फैसल गर्दै भनेको छ– ‘सम्पत्ति राजीनामाबाट प्राप्त गरेको र सो सम्पत्ति निजी आर्जनको सम्पत्ति निजी आर्जन देखिने गरी निजले अन्य विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेकोले निजको निजी आर्जनको भन्न सकिने अवस्था नदेखिएकोले संगोलको सम्पत्ति मान्नु पर्ने ।’ (ने.का.प. २०७१, अंक १, नि.नं. ९११२) । त्यसैगरी, प्रमाण ऐन, २०३१ को दफा ६(क) ले पनि यस कुरालाई पुष्टि गरेको छ । जसमा भनिएको छ– ‘अंशियार जसको नाउँमा रहेको सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म संगोलको मान्नुपर्ने ।’

अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्वपूर्ण हुन्छ । पैतृक सम्पत्तिको स्रोतबाट आएको सम्पत्तिमा प्रत्येक अंशियारहरुको समान हक लाग्दछ । प्रत्यक्ष रुपमा बाबुको अंशहक रहने सम्पत्तिमा निजका छोराछोरीको लागि पनि स्वतः अंशहक निश्रित रहने हुन्छ । अंशबण्डा गर्दा अंशीयारहरु बीच समान हुने किसिमबाट गर्नुपर्छ भन्ने अंशबण्डाको सिद्धान्त रहेको छ । यसै सन्र्दभमा सर्वोच्च अदालतको संयुक्त इजलासले एक अंशवण्डा मुद्दामा भनेको छ– ‘पुख्र्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भन्ने हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन र सो सम्पत्ति बण्डा भएको छैन भने त्यसलाई अंशियारहरु बीच अंशबण्डा रहेको सम्पत्तिकै रुपमा लिनु पर्छ र त्यस्तो अंशबण्डाको सम्पत्ति सबै अंशियारहरुलाई बण्डा लाग्ने ।’ (ने.का.प. २०७६, अं १, नि.नं १०१७१) ।

संगोलको सम्पत्ति अंशबण्डा प्रक्रिया

संगोलको सम्पत्ति अंशबण्डा गर्दा कानूनले निर्धारण गरेको प्रक्रिया अनुसार अंशियारहरु बीच लिखित रुपमा बण्डापत्र गर्नुपर्दछ र उक्त अंशबण्डाको लिखत तयार गर्दा साक्षी राखी त्यस लिखितमा सबै अंशियारको सहीछाप गरी कानूनको रीत पु¥याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्दछ । नत्र त्यो लिखितले कानूनी मान्यता पाउन सक्दैन । तथापि पैतृक सम्पत्तिको स्रोतबाट नै आएको सम्पत्ति कारणबश अंशबण्डा गर्दाको समयमा अंशबण्डाको कागजमा उल्लेख नभए पनि सबै अंशियारको बीचमा समानरुपमा बण्डा गर्नु नै न्यायपूर्ण हुन्छ भन्ने नजीर सिद्धान्त रहेको ।
अंशबण्डा गर्दा संगोलको सम्पत्ति र संगोलको ऋण समेत घटि–बढी नहुने गरी बण्डा गर्नुपर्दछ । व्यवहारिकरुपमा पनि अंशको अधिकार दाबी गर्नेले ऋण दायित्वलाई समेत उदासिन हुन नमिल्ने हुन्छ । तर, ऋण बण्डा गर्दाखेरी साहूको मञ्जुरी नलिई कुनै अंशियारले मात्र संगोलको ऋण तिर्ने जिम्मा रहने गरी अंशबण्डा गर्न मिल्दैन । तथापि कुनै अंशियारले संगोलको ऋण तिर्न जिम्मा दिएको भएता पनि साहुले मञ्जुर नगरे सबै अंशियारहरुलाई संगोलको ऋण बराबर भाग लाग्दछ । अंशबण्डा गर्दा असल कमसल मिलाई सबै अंशियारहरुको मञ्जुरी बमोजिम गर्नुपर्दछ । यदि सबैको मञ्जुरी नभएको अवस्थामा गोला हाली बण्डा गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

त्यस्तै अंशबण्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंशबण्डा गर्न सकिने, तर त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्न सकिन्छ । कसैले पनि अंशबण्डा गर्नुपर्ने सम्पत्ति लुकाउन÷छिपाउने हुँदैन । यदि त्यस्तो गरेको अदालतबाट ठहरेमा त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति लिन पाउने छैन । त्यस्तो सम्पत्ति अन्य अंशियारले अंश भाग लगाई लिन पाउने कानूनी व्यवस्था रहेको छ । तर, कुनै अंशियारले आफ्नो अंश आंशिक रुपमा लिई वा नलिई वा अंशवापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्दछन् । तर, यरी अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नि वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सकिन्छ ।

तथापि नाबालक अंशीयारको हकमा अंश छोडपत्र गर्न कानूनले वर्जित गरेको छ । अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ । नेपालको सर्वोच्च अदालतमा पुनरावेदन परेको एक अंशबण्डा मुद्दामा ‘अंश जस्तो नैसर्गिक अधिकारको विषयमा बादीले दाबी गरेको अवस्थामा कायम रहेको अंशियारको संख्या पछि फैसला हुँदाको अवस्थामा घटी वा बढी हुन गएमा प्रमाणको आधारमा अंशियारहरुको वास्तविक संख्या बमोजिम निर्णय दिनुपर्ने विशेष अवस्था हुन जाने ।’ भनी नजीर सिद्धान्त निमार्ण भएको छ । मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १० मा अंशबण्डा सम्बन्धी गरेको व्यवस्था :

– कानूनतः अंशियार भन्नाले एकाघरका पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् ।
– अंशियारबीच आपसी सहमति भएमा निजहरु जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्नेछन् ।
– पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरु एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग–अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै पनि अंशबण्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् ।
– गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन् ।
– कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पत्तिबाट जन्मिएका छोरा, छोरीले त्यस्ताबाबु आमाबाट अंश पाउने ।
– बाबुको पहिचान नभएका छोरा, छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने छन् । त्यस्तै प्रकाशन गरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा, छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन ।
– संगोलमा बसेका दाजुभाइका छोरा, छोरी वा पत्नीले आफ्ना बाबु वापतीको भागबाट मात्र अंश पाउने छन् ।
– अंश नहँुदै पति वा बाबु, आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् ।
– कुनै व्यत्तिको एकभन्दा बढी पत्नीहरु भएमा निजहरुले पतिको भागबाट मात्र अंश पाउने छन् ।
– पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने छन् । त्यस्तै पत्नी जीवित हुने कुनै व्यत्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश छुट्याई आपूmले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनुपर्नेछ ।
– पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा पति वा पत्नीले कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।
– पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।
– विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्ने । तर, विधवाले अर्को विवाह गरेमा निजले अंशवापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोरा, छोरी भएमा त्यस्ता छोरा, छोरीले र नभएमा निज आफैले लिन पाउनेछ ।
– घरको मुख्य भई काम गर्ने व्यत्तिले संगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिनपाउने छैन ।
– कुनै अंशियारको अंश भागमा परेको कुनै सम्पत्ति कानून बमोजिम अंशियारको हक नपुग्ने भई निजले भोग गर्न नपाएमा त्यस बराबरको सम्पत्ति सबै अंशियारबाट समानुपातिक हिसाबमा शोध भर्ना गर्नुपर्नेछ ।
– अंशियारहरु बीच आपसी सहमति भएकोमा बाहेक कुनै अंशियारले अंशबण्डाबाट प्राप्त गरेको कुनै सम्पत्ति अंशबण्डा भएपछि बिग्रेको, नासेको वा मन नपरेको कारण देखाई अन्य अंशियारसँग सट्टापट्टा गर्न पाउने छैन ।
– अंशबण्डा गर्दा कुनै अंशियारको भागमा परेको घर वा जग्गामा आउन–जानको लागि बाटो वा निकास नहुने भएमा र अन्य अंशियारको जग्गाबाट निजलाई बाटो वा निकास दिन मिल्ने भएमा सम्बन्धित अंशियारले त्यस्तो घर वा जग्गामा बाटो वा निकास दिनुपर्ने गरी बण्डा गर्नुपर्दछ ।
अंशहक लिई भिन्न हुन चाहने व्यक्तिले के गर्ने ?

कुनै अंशियारले आफ्नो अंश भाग छुट्याई भिन्न हुन चाहेमा अन्य अंशियारसँग आप्mनो मानो छुट्टिएको मिति उल्लेख गरी आफ्नो र थाहा पाएसम्म अन्य अंशियारको नाममा रहे भएको अंशबण्डा हुने सम्पत्ति र ऋण धनको विवरण खुलाई कानूनी उपचार खोज्नु पर्दछ । अदालतमा नालिस दिँदा कानूनले तोकेको हद म्यादभित्र दिनुपर्दछ । नत्र नालिस लाग्दैन किनकि आफ्नो हकअधिकार समयमै नखोजी सुतेर बस्ने र बिलम्ब गरी अदालत जाने व्यक्तिलाई अदालते न्याय गर्न सक्दैन । त्यस्तै, कानूनको म्याद नघाई जहिलेसुकै अदालतमा नालीस उजुर गर्न दिने हो भने विवादको कहिल्यै अन्त्य नभई अनिश्चितता उत्पन्न हुन्छ । तसर्थ, मुलुकी देवानी संहिता, २०७४ को दफा २३५ ले अंशबण्डा सम्बन्धी काम कारवाहीबाट मर्का पर्ने व्यक्तिले निम्न अवस्थामा निम्न समयभित्र नालिस गर्नुपर्ने व्यवस्था गरेको छ :

– अंशवण्डा नै नभएको वा अंशबण्डा हुँदा गोश्वारको लिखित भएको र लिखित नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा जहिलेसुकै नालिस लाग्दछ ।

– अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिनाभित्र नालिस दिइसक्नु पर्दछ ।

– सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म नालिस दिन सकिनेछ ।

– यी माथि उल्लेखित अवस्था बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालेस दिनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here