दमक।

तपाईं होटलमा गएर या घरमा ल्याएर वियर तथा अन्य पेय पदार्थ पिउँदै हुनुहुन्छ ? तपाईले मिति हेर्न त भुल्नु भएको छैन ? यदि नहेरी पिउँदै हुनुहुन्छ भने त्यो उपभोग्य मिति सकिएको पनि हुनसक्छ । यसले तपाईको स्वास्थ्यमा हानी गर्नेछ ।
झापाका दमकका फाइन लगायतका नाम चलेका होटलहरुमा पनि उपभोग्य मिति सकिएका वियर भेटिएका छन् । डिलरले केही दिन अघिमात्र ल्याएकाले आफूहरुले उपभोग्य मिति नहेरेको व्यवसायीहरुले भनाइ छ ।
दमक नगरपालिकाकाको बजार अनुगमन समितिका संयोजक एवम् वडा नं. ७का वडाध्यक्ष भीम पौड्यालसहित उपभोक्ता हित संरक्षण मञ्चको टोलीले बजार अनुगमन गर्दा त्यस्तो पाइएको हो । बजारको अवस्था लाजमर्दो रहेको छ– पौड्यालले भने । धेरैपटक भनिसकेका छौं तर व्यवसायीहरु इमान्दार बनेका छैनन्– पौड्यालले भने ।
बारम्बार अनुगमन गरेर उपभोग्य मिति सकिएका सामग्री बिक्री नगर्न भनेका छौं, तर अटेरीपना देखिन्छ– बजार अनुगमन समिति संयोजक पौड्याल बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्च दमक अध्यक्ष डा. नवीन चापागाईका अनुसार उपभोग्य मिति सकिएको तथा सकिन लागेका वियर यहाँका डिलरबाट सस्तो मूल्यमा होटलहरुमा गएको र त्यही उपभोक्तालाई बेचेको सूचना पाएपछि अनुगमन भएको हो ।































