दिपेन लावती, शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–२ मा चन्द्र विष्णु होमस्टे सञ्चालनमा आएको छ । बुधवारे चौकबाट जयपुर जाने सडक–खण्डबाट एक किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सो होमस्टे सुन्दर शान्त वातावरणमा रहेको छ । सामाजिक तथा युवा ब्यक्तित्व संजिल प्रसाईले सञ्चालनमा ल्याएको होमस्टे काठमाडौंका आगन्तुकलाई लक्षित गरी खोलिएको उनले बताए ।
काठमाडौंबाट झापा हुदैं इलाम,पाँचथर, ताप्लेजुड जाने पर्यटकलाई विसाउने चौतारीको रुपमा होमस्टे सञ्चालनमा आएको उनले बताए । मेची राजमार्गबाट अलि टाणा रहेकाले शान्त र पारिवारिक वातावरण मन पराउने पाउनाका लागि उपयुक्त हुनेछ । काठमाडौंबाट ताप्लेजुडको प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने तीर्थालुले एक दिन यहाँ बस्ने र भोली पल्ट ताप्लेजुड पठाउने र त्यहाँ बस्ने समेत ब्यवस्था यहाँबाटै मिलाइ दिने पूर्वाञ्चलकर्मीसंगको कुराकानीको क्रममा सञ्चालक प्रसाईले भने ।
आफ्नो हजुर बुवा र हजुरआमाको नाममा सञ्चालनमा आएको होमस्टेमा करीव ८० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक प्रसाईले जानकारी दिए । हेर्दा चिटिक्क र आकर्षण ढंगले सिंगारिएको होमस्टे तेजपत्ता र दालचिनीको रुखलाई समेटेर ट्रि हाउस बनाइएको छ । यसका साथै मिनी माउण्टेन, धराहरा, वाटरफल, शिवलिंग लगायत वरिपरी हेरीरहुँ जस्तो आकर्षक ढंगले रंगाइएको छ । विभिन्न म्युजिक भिडियो र चलभित्रको छायाड्कन गर्न उपयुक्त स्थानको रुपमा समेत चिनाउने उनको भनाई छ । उनका अनुसार केही म्यूजिक भिडियोको छायाड्कन समेत गरिएको छ ।

१२ कठ्ठा क्षेत्रमा फैलिएको उक्त होमस्टे परिषरमा आउने आगन्तुकलाई खान बस्नका निम्ती सौलियत दरमा मिनु ब्यवस्था गरिएको छ । बुद्धशान्तिमा होटल, होमस्टे, रेष्टुरेन्ट र वार खुल्ने क्रम बढेपछि चन्द्र विष्णु होमस्टेपनि थपिएको छ । पाउनाको रुची र माग अनुसारको खान खुवाउने होमस्टे परिवारले जनाएको छ ।
यसका साथै होमस्टेमा विसादीरहित खाना खुवाउने ब्यवस्था गरिएको सञ्चालक प्रसाईले बताए । उनका अनुसार होमस्टे परिषरमा अर्ग्यानीक तरकारी खेती र माछा, मासु खानेका लागि पनि बाहिरबाट नल्याई आफ्नै उत्पादन खुवाउँनेछौ । होमस्टे सञ्चालक प्रसाइले बुद्धशान्ति भरी खुलेका होटलहरु भन्दा सस्तो दरमा खानाको ब्यवस्था गरिएको दावी गरे ।
होमस्टेमा बस्न आउने पाउनालाई सुविधा सम्पन्न कोठाको ब्यवस्था गरिएको छ । हाल तीन वटा कोठा सञ्चालनमा आएको र समुहमा बस्न चाहनेहरुका लागि करीव १० जनासम्म अट्ने कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । यसका साथै विभिन्न सभा समारोह सञ्चालन गर्न सकिने सभाहलको पनि ब्यवस्था गरिएको छ ।
बुद्धशान्ति गाउँपालिका भित्र विभिन्न पर्यटकीय क्षेत्र रहेकाले देशका विभिन्न स्थानबाट घुम्न आउने र यहाँबाट कतिपय इलाम, पाँचथर हुदै ताप्लेजुड जानेको संख्या बढ्न थालेपछि होटल, रेष्टुरेन्ट ब्यवसायमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।































