कोरोनाको बहानामा ठूला सञ्चारमाध्यमबाटै पत्रकारको सेवा खोस्ने काम भयो: पत्रकार महासंघ

0
1064

काठमाण्डौ,

कोरोना भाइरसको सङ्क्रमणको बहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारहरु सेवाबाट बञ्चित हुनुपरेको नेपाल पत्रकार महासंघको अध्ययनले देखाएको छ ।

कोरोनाको बहानामा सन् २०२० मा नियमित सेवा सुविधा उपलब्ध नहुने, बेतलबी बिदामा बस्नुपर्नेलगायत समस्या पत्रकारले झेल्नुपरेको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । महासंघको तथ्यांक अनुसार कोरोनाका कारण ७ जना पत्रकारले ज्यान गुमाएका छन् ।

चार सय ७० जना पत्रकार कोरोनामुक्त भएका छन् । यस्तै संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल नै नगरेकाे महासंघले जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले निकाल्नुभएको विज्ञप्ती अनुसार सरकारले संसद समक्ष पुर्‍याएका सार्वजनिक सेवा प्रसारण सम्बन्धी विद्येयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकसहित सञ्चार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु रहेका छन् ।

यसैबीच, महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्बर ३१ सम्मको एक वर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु भएका छन् । गएको वर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना भएका थिए ।

अभिलेख अनुसार सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका रहेका छन् । त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन् । यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here