बिर्तामोड ।

कोचिला गाभुर फ्रन्टले कोच राजवंशी समुदायको भाक्कालगायतका खाना परिकारको संस्थागत विकासका लागि सरोकारवालासँग छलफल÷अन्तरक्रिया थालेको छ ।
गाभुर फ्रन्टको केन्द्रीय समितिले परम्परागत खाना परिकार भाक्कालाई राष्ट्रिय परिकारको रुपमा स्थापित गर्नेगरी विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मीलगायतसँग छलफल थालेको हो । छलफल÷अन्तरक्रियाबाट प्राप्त सुझाबका आधारमा कोच राजवंशीको भाक्कालगायत परिकारको विकास र प्रवद्र्धनका लागि नेपाल सरकारसंग अनुरोध गर्ने फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
फ्रन्टले शनिबार दुर्गापुरमा नेपाल पत्रकार महासंघ झापासहित जिल्लाका पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा बोल्दै पत्रकार महासंघका कार्यबाहक अध्यक्ष एकराज गिरीले गाभुर फ्रन्टले आयोजना गर्दै आएको पुस २९ गतेको राष्ट्रिय भाक्का दिवस कार्यक्रम पश्चात भाक्का आदिवासी राजवंशीको मात्र नभई सबै जाति समुदायको साझा खानाको रुपमा स्थापित भएको धारणा राखे । उनले मुलुकभित्र सम्भवत् खाना परिकारको दिवसका रुपमा भाक्का दिवस पहिलो भएको भन्दै गाभुर फ्रन्टलाई बधाई ज्ञापन गरे ।
महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले भाक्काको संरक्षण र प्रवद्र्धनमा राजवंशी युवा जुटेकोमा खुशी व्यक्त गरे । उनले भाक्का परिकारको इतिहास खोज गरी थप परिस्कृत गर्नुपर्ने सुझाव राखे । ‘राजवंशी जातिमा धेरै विषयको खोज अनुसन्धान हुन जरुरी छ । त्यसमध्ये एउटा भाक्का पनि हो’– उनले भने– ‘भाक्काको बर्षौ पुरानो इतिहास खोज गरेर अहिलेको आधुनिकतासँग मेल खाने गरी व्यवसायिकता दिन सक्यौं भने यसले राजवंशी समुदायको आर्थिक पाटोमा ठूलो परिवर्तन ल्याउन सक्छ ।’
पत्रकार महासंघ पूर्व जिल्ला अध्यक्ष भीम नेम्वाङले पुस २९ गतेको भाक्का दिवसलाई सरकारी मान्यता प्रदान गर्नेतर्फ प्रक्रिया थाल्न सुझाव दिए । दिवस मनाउने कार्यक्रमले भाक्कालाई विशेष परिकारको रुपमा स्थापित गरेको उनको भनाइ छ । ‘भाक्का अब हामीले खाने चोक–बजारमा मात्र सीमित रहेन । भाक्का दिवस मनाउन थालेपछि यसको महत्व र प्रचार व्यापक भएको छ ।
त्यसैले दिवसलाई सरकारी मान्यतासहित अघि बढौं’– उनले भने । तीर्थ सिग्देलले भाक्कालाई एउटा विशेष खाना परिकारको रुपमा व्यवसायिकीकरण गर्न जरुरी रहेको धारणा राखे । उनले त्यसतर्फ राजवंशी समुदायलाई ध्यान दिन आग्रह गरे । सिग्देलले खाना परिकारले त्यहाँको माटो र भूगोल झल्काउने भएकाले भाक्कालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
गीतकार ज्ञानु राजवंशीले राजवंशी समाज विकास समितिले अहिलेसम्म २०÷२५औं भाक्का दिवस मनाउनुपर्नेमा त्यस्तो हुन नसकेकोमा दुःख व्यक्त गरे । उनले भने– ‘हाम्रो समाजले अहिलेसम्म कम्तिमा २५औं भाक्का दिवस मनाउनुपर्ने थियो । तर, त्यस्तो अवस्था छैन ।
गाभुर फ्रन्टले चौथो राष्ट्रिय भाक्का दिवस मनाएर भए पनि हाम्रो समुदाय र हाम्रो खाना परिकारप्रति ठूलो गुन लगाएको छ ।’ राजवंशी समाज विकास समिति झापाका पूर्व जिल्ला अध्यक्ष टोम राजवंशीले ढिलै भए पनि राष्ट्रिय भाक्का दिवस भव्यरुपमा मनाउन थालिएकोप्रति खुशी व्यक्त गरे । उनले अब भाक्कालाई व्यवसायिक बनाउनुको विकल्प नभएको धारणा राखे ।
कार्यक्रममा गणेशमान मुखिया, लीला अनमोल, सुब्रत न्यौपाने, विशाल नेम्वाङ, बिनोद पाण्डे, लीलाराज झापाली, रेजिना रोदन, जीवनसिंह राजवंशी, स्प्रिन्डल कलेजका प्रबन्धक निरज श्रेष्ठलगायतले आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए । अन्तरक्रियामा सहभागीले राजवंशी समुदायको भाक्का, भुजा, घुम्नीमुरी र पिठ परिकारको पनि उत्तिकै विशेषता र महत्व रहेकोले ती परिकारको पनि प्रवद्र्धन र संरक्षण जरुरी रहेको बताएका छन् ।
अधिकांशले भाक्काको खोज गर्न आग्रह गर्दै परम्परागत माटोको हन्डीबाट उत्पादित भुजाको उत्पादन वृद्धि गर्न जोड दिए । राजवंशी समुदायले भाक्का दिवस मनाउन थालेपछि समग्र समुदायले यसलाई उत्सवका रुपमा स्वीकार गरिसकेको पत्रकारहरुको धारणा थियो ।































