मादरीका बन्दरीया !

0
1065

पुस ५ गते भएको संसद विघटन या भनौं राजनीतिक दुर्घटना जसले सम्पूर्ण देशलाई नै एउटा अन्यौलतामा पारेको छ । अब के ? सो प्रश्न राजनीतिक दलहरु आफैंमा बोकेर बसेकै छन् र नेपाली जनताको र देशको भविष्यलाई पनि अब के भन्ने अन्यौलतामा परेका छन् । संंसद विघटन हुनु र त्यसपश्चात दलहरुको आन्दोलन र आलोचनालाई कसरी लिने नेपाली जनताले अब ? यो घिनलाग्दो तरिका र राजनीतिक खेलले देश र जनताको भविष्य अन्धकारतर्फ लम्किरहेको छर्लङ्ग देखिन्छ ।

दलहरुबीच भइरहेको तछाड–मछाड, एकअर्कामाथिको घोचपेच, कसले कसलाई धेरै घोचेर भन्ने, उखान टुक्काको प्रतिस्पर्धा, कार्यकर्ता त्यसमै हाँस्ने र हँसाउने अनि एकअर्काको टाउकोमा दोष थोपर्ने र आफू सुकिलो रहन खोज्ने अनि जनतालाई अन्यौलतामा राख्ने । यो प्रवृत्तिको बिकास हुनु भनेको के देशले समृद्धिको गति लिनु हो र ? आज नेपाली राजनीति सर्वोच्च अदालतको दैलोसम्म पुगेको देख्दा लाग्ने गर्छ हर कोहीलाई कि सायद यो डर हो, देशको भविष्य खतरामा पर्ला कि भनेर होइन आफ्नै भविष्य अन्धकार होला कि भन्ने डर ।

यहाँ आज पनि आफ्नै भविष्य बचाउमा बोलिएका बोलीमा हामी नेपाली जनता सजिलै विश्वास गर्दछौं । जसले गर्दा हामी नेपाली जनताहरु विगतमा धेरै नेताको खोस्टा बोली र भाषणको भुलभुलैयाको खेलको चपेटामा प¥र्यौं । अब यो बुझ्न जरुरी छ कि आफ्नो मनमानी ढङ्गले पद र कानूनको प्रयोग गर्नु र प्रतिफलमा देश र जनतालाई तनावपूर्ण स्थितिमा पु¥याएर भुलभुलैयाको खेल खेलेर संविधान र लोकतन्त्रमाथि नै प्रश्न खडा गर्ने स्थितिमा पु¥याउनुको उद्देश्य अनेक नभएर एकै मात्र छ– भविष्यमा आफ्नो पद र कुर्सीमा आइपर्ने संकटलाई आजैबाट ठेगान लागाउन प्रयोग भइरहेका वैकल्पिक उपायहरु मात्र हुन जुन कुरा अब नेपाली जनताले बुझ्नै पर्दछ ।

सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहालको ‘म’ भन्ने सोचले राजनीति समीकरणमा भएको यो दुर्घटनाले देशको समयचक्र नयाँ दिशातिर मोडिएको छ । उक्त दिशाको गन्तब्यमा उन्मुख भएको नेपाली राजनीतिलाई अधेरोमा हानेको तीर झैं भन्न सकिन्छ । तीर त छोड्यो, तर अब के हुन्छ भन्ने स्वयम् खेलाडीलाई पनि अन्दाज छैन म र मेरो भन्ने भावना विकास हुँदै आएका राजनीतिवादहरु सही गलत के हो भन्ने सोच्दैनसोची विपक्षीको विपक्ष मै कदम चाल्न र खुट्टा तान्नमा बल र बुद्धिको प्रयोग गर्दछन् । देश र नागरिकको आवश्यकता र मागमा भने ध्यान कुर्सी संंकटमा परेको बेलामात्र जाने प्रवृत्ति नेताहरुको परम्परागत संस्कृति नै हो । जुन संस्कृतिको भरपुर फाइदा लिन छिमेकीहरुले कहिले छोड्दैनन् ।

नेपाली जनतालाई उकालो–ओरालो–भिरालो बाटोसँग गुनासो छैन । दाउरा बालेर खाना पकाउन गाह्रो भएको पनि होइन त्यसैले नेपाली जनतालाई ऐस, आरामको जीवन चाहिएको होइन सरकार, नेपाली जनतालाई त उनको हित र कल्याण हुने नीति चाहिएको हो । निर्मला र सम्झना जस्ता लाखौं चेलीलाई न्याय दिने कानून चाहिएको हो, नेपाली युवाले खाडी गएर जोतिनु नपर्ने दिन चाहिएको हो । त्यसैले जनताको माग र इच्छा जहाज चढ्ने होइन सरकार, पहिले नेपाल बसेर सास फेर्न र काम गर्न सक्ने वातावरण सृजना गर्नुस् । नेपाली युवाका लागि रोजगारको व्यवस्था गरिदिनुस् । राजनीतिमा स्थिरता ल्याउनुस् । देशलाई शक्तिशाली देशहरुको फुटबल नबनाऊ सरकार ।

अनेक बहानामा कोही भारत, कोही चीन फुत्त–फुत्त जाने–आउने क्रम त सधैँ झैं छदैछ । हिजोका दिनमा नेपालको छिमेकी देश भारतको आवत–जावत बाक्लो थियो भने संंसद विघटन लगायतै चीनबाट बाक्लिन थलेको छ । एकाएक आएर देशको राजनीति व्यवस्थाबारे यति ठूलो चासो र सहानुभूति देखाउनु केका लागि ? आखिर नेपालमाथि र यहाँको राजनीतिमाथि आँखा त सबैले गाडेकै रहेछन् । यो अस्थिर राजनीति किन भन्ने कुरोको चुरो र भेउ अब जनताले चाल पाइसकेका छन् । कोही नेता पूर्वको कुरो सुन्लान्, कोही उत्तरतिरको सुन्लान् । जसले जताको सुने पनि यी मादरीका बन्दरिया हुन जो मादरीको तालमा नाच्ने गर्दछन् भन्ने अब नेपाली जनताले बुुुझिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here