झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि दुई खेमामा विभाजित नेकपा नेता अहिले जिल्ला जिल्लामा छन् ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले प्रतिनिधि सभा बिघटन गरी निर्वाचनको घोषणा गर्दा पक्ष र विपक्षमा दैनिकजसो झापामा प्रदर्शन भइरहेका छन् । नागरिकलाई बिभिन्न प्रलोभनमा पारेर सडकमा देखाउने होडबाजी नै छ । तर, कतिपय स्थानमा भएका सभामा उही मानिस समर्थन र बिरोधमा देखिएका छन् ।
कोभिडको त्रासकै बीच पनि नेकपासहित अन्य दलले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई दिनहुँजसो सरकारको विरोध र समर्थनमा कार्यक्रम गरिरहेका छन् । सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अहिले बाक्लै कार्यक्रमको आयोजना गरिरहेको छ ।
तर, सत्तारुढ दल नेकपाले भने दुई खेमामा दिनहुँजसो गाउँ–गाउँमा कार्यक्रम गरिरहेका छन् । झापाका कतिपय स्थानीय तहमा एकैदिन दुई खेमाका फरक–फरक कार्यक्रम गरिँदा नेकपाकै कार्यकर्ता अलमलमा छन् । एक खेमाको कार्यक्रममा सहभागी भएका नेता अर्काे खेमाको कार्यक्रममा सहभागी भएको प्रशस्तै देख्न सकिन्छ ।
नेकपाको चुनाव चिन्ह सूर्यले आधिकारिकता नपाउँदा अलमलमा परेका स्थानीयस्तरका नेता अहिले पनि ‘पर्ख र हेर’को स्थितिमा रहेको नेकपाका एक नेताले बताए । उनले भने– अहिले खुलेर बोल्न सक्ने अवस्था छैन, कतिपयले नेतालाई मन पराएका छन् त कतिपयले चुनाव चिन्ह र आस्थालाई मानेका छन् । दोधारकाबीच अहिले पनि धेरै नेकपाका कार्यकर्ता न यता न उता केही बोल्न सकिरहेका छैनन् ।
नेकपाका केन्द्रीयस्तरका नेता अहिले जिल्ला दौडाहमा छन् । यसै क्रममा केही दिन अघि उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सूर्य चिन्ह ओली नेतृत्वको नेकपाले पाउने दावी गरे । दाहाल–नेपाल समूहका केन्द्रीयस्तरका नेताले पनि अहिले दिनहँु जसो झापामा कार्यक्रम सञ्चालन गरिरहेका छन् । दुवै खेमाका नेता तथा कार्यकर्ताहरु अहिले जिल्लादेखि गाउँसम्म पुगेर कार्यकर्ता रिझाउन व्यस्त रहेको देख्न सकिन्छ ।
चुनाव जितेपछि गाउँ नफर्केका कतिपय नेताहरु ओलीको पछिल्लो कदमले अहिले कार्यकर्ता माझ देखिएका छन् । तल्लो तहमा पुगेका नेताले नागरिक समस्या र विकासको नामसम्म लिँदैनन् । बरु, अर्को खेमाका नेताको खेदो खनेर फर्किन्छन् । आरोप र प्रत्यारोपको सिलसिला केन्द्रदेखि गाउँसम्म देख्न सकिन्छ ।
दाहाल पक्षीय नेताहरु प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेर संविधानलाई नै खतरामा पारेको आरोप लगाइरहेका छन् । प्रधानमन्त्रीको कदमले संघीयता र गणतन्त्र नै खतरामा पारेको यो समूहको मुख्य एजेण्डा छ ।
ओली पक्षका नेता भने प्रधानमन्त्रीको कदमको बचाउ गर्दै निर्वाचनको बिकल्प नभएको तर्क गरिरहेका छन् । दाहाल समूहले प्रधानमन्त्रीलाई अविश्वास र राष्ट्रपतिलाई महाभियोग लगाउने तयारी गरेपछि प्रतिनिधिसभा बिघटन गर्नुपरेको यो समूहको दाबी छ ।
दुवै समूहले अहिलेको परिस्थितिको कारक एकअर्कालाई देखाइरहेका छन् । कतिपय नेता त, व्यक्तिगत र तल्लो तहमै उत्रिएर आलोचना गरिरहेका छन् । नेकपाभित्रै अहिले आरोप प्रत्यारोप चलेका कारण जिल्ला र गाउँस्तरका नेकपाका नेता तथा कार्यकर्तामा निराशा छाएको देख्न सकिन्छ । पदीय स्वार्थको लडाइमा लागेका नेताहरुकै चरित्रका कारण स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु निराश रहेको बताइन्छ ।




























