आँगनमा कार्यालय तर नागरिकताका लागि तीन दिन हिँड्नुपर्ने

0
1055

जितेन्द्र भण्डारी,
पाँचथर ।

सरकारले खटाए अनुसारको स्थानमा कर्मचारी नबस्दा सर्वसाधारणले दुःख पाउने गरेका छन् । पाँचथर सीमा प्रशासन कार्यालय च्याङ्थापूमा अधिकृतस्तरको कुनै कर्मचारी बस्न नमान्दा स्थानीयले सरकारले दिएको सुविधा समेत उपभोग गर्न पाएका छैनन् ।

पाँचथरको याङ्वरक वडा नम्बर १,२ र ३लाई लक्षित गरेर स्थापना भएको सीमा प्रशासन कार्यालयमा अधिकृतस्तरको कुनै कर्मचारी लगायत अन्य कर्मचारीहरु समेत नबस्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी नबस्दा नागरिकता बनाउन सदरमुकाम फिदिम धाउनुपर्ने बाध्यता यथावत छ । कर्मचारी सरकारले तोकेको स्थानमा जानै नमान्ने र गए पनि दुई चार महिना बसेपछि सरुवा भइ जाने जस्ता कारणले यस क्षेत्रका सर्वसाधारणले सरकारी सेवा सर्वशुलभ रुपमा पाउन सकेका छैनन् ।

यस क्षेत्रमा २ महिना अधिकृत कर्मचारी बसे पनि १० महिना नबस्ने च्याङ्थापूका स्थानीय राजेन्द्र तिम्सिनाको गुनासो छ । कार्यालयमा अहिले अधिकृत, नायवसुब्बा, लेखापाल लगायत कार्यालय सहयोगी गरी ८ जनाको दरबन्दी भए पनि लामो समयदेखि नासु र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।

अधिकृतस्तरको कर्मचारी नबस्दा यस क्षेत्रका स्थानीयले सदरमुकाम फिदिम आएर दुई/तीन दिनमा मात्रै नागरिकता पाउने गरेका छन् । हिउँदमा जेनतेन आवतजावतमा कम समस्या भए पनि वर्षात्को समयमा बाढी पहिरोका कारण कच्ची सडकमा सवारी साधन नचल्दा च्याङ्थापू, फलैँचा, ओयामका स्थानीयले सदरमुकाम फिदिममा आएर नागरिकता समेत बनाउन सक्ने अवस्था छैन ।

कार्यालयमा अधिकृतस्तर लगायतका अन्य कर्मचारी बसिदिएको खण्डमा सेवाग्राहीलाई सहज हुने विष्णु मावि च्याङ्थापूका प्रधानाध्यापक अग्नि खरेल बताउँछन् । कर्मचारी हुँदा नागरिकता यसै कार्यालयबाट प्रदान गरिँदै आएको र भारतको सिक्किम जाने पास पनि यतैबाट दिइने गरिएकोमा अहिले ती सवै काम हुन छोडेको कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासले बताए ।

स्थानीयको समस्याबारे गाउँपालिका जानकार भए पनि अहिलेसम्म केही गर्न नसकेको याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङ्हाङले बताइन् । समस्याको बारेमा जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई जानकारी गराए पनि समस्या सामधान हुन सकेको छैन ।

यस क्षेत्रमा अधिकृतस्तरको कर्मचारी मात्रै नियमित रुपमा कार्यालय बसेर सेवा प्रवाह गर्ने हो भने घरपायक स्थानबाटै यस क्षेत्रका स्थानीयले नागरिकता पाउने थिए । यस्तै सीमावर्ती यस क्षेत्रका स्थानीयलाई समेत आवातजावत गर्न सहज हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here