बिद्यालयलाई पुरानो लयमा फर्काउन सकस

0
703

झापा । 

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण लामो समय बन्द रहेका बिद्यालय बिस्तारै खुल्दैछन् । कोभिडको जोखिमलाई मध्यनजर गर्दै सरकारले गत वर्ष चैत महिनाबाट लकडाउन गरे पछि देशभरका विद्यालय पूर्ण रुपमा बन्द रहेका थिए ।

उपत्यका बाहिरका विद्यालय सञ्चालनका लागि स्थानीय तहलाई जोखिमको मध्यनजर गर्दै सञ्चालनको अनुमति दिएपछि झापासहित पूर्वका विद्यालय विस्तारै खुल्न थालेका हुन् । तर, राजधानीमा भने केही दिन अघिबाट मात्रै विद्यालय सञ्चालनमा आएका छन् ।

झापामा कोभिडको जोखिमलाई मध्यजनर गर्दै एकपछि अर्काे स्थानीय तहले विद्यालय सञ्चालन गरे । अहिले १५ वटै स्थानीय तहमा विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले पूर्णकालीन कक्षा सञ्चालन गरे पनि केही विद्यालयले त्रासकै बीच बैकल्पिक विधिबाट कक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश स्थानीय तहका विद्यालयले आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गरे पनि केहीले मात्रै बैकल्पिक विधिबाट कक्षा सञ्चालन गरिरहेको बताइएको छ ।

स्थानीय तहको निर्णय बमोजिम सबै जसो विद्यालय सञ्चालनमा आए पनि कक्षा भने सञ्चालनमा अझै कठिनाइरहेको विद्यालय प्रशासनले बताएको छ । विद्यालयमा नै क्वारेन्टिन बनाइएका कारण पनि अभिभावकमा अझैं त्रास कायम रहेका कारण बिद्यार्थी विद्यालय नआएको बताइन्छ । झापाका अधिकांश विद्यालयमा क्वारेन्टिन बनाइएको र लामो समयसम्म विद्यालयमा नै क्वारेन्टिन रहेकाले समस्या भएको प्रधानाध्यापकहरुको भनाइ छ ।

केही समयअघि नै विद्यालयबाट क्वारेन्टिन पूर्ण रुपमा हटाइए पनि अझै विद्यार्थीलाई राख्न सक्ने अवस्था नरहेको बताइएको छ । कोभिडका कारण शिक्षक आफै अझै अन्यौलमा छन्, यस्तो अवस्थामा कसरी बिद्यार्थीलाई कक्षा कोठामा राखेर पठनपाठन गराउने भन्ने समस्या छ– एक शिक्षकले भने ।

यता बाह्रदशी गाउँपालिकाका केही विद्यालयमा दुई सत्रमा कक्षा सञ्चालन भए पनि अधिकांश बिद्यालयमा एउटै सत्रमा विद्यालय सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बताए । उनले भने– विद्यार्थी धेरै भएका विद्यालयमा अहिले पनि दुई सत्रमा विद्यालय सञ्चालन गरिएको छ, बाँकी विद्यालयमा एउटै सत्रमा विद्यालय सञ्चालन हुँदै आएको छ । बाह्रदशी गाउँपालिकाको भगवती र जनविकासमा दुई सत्रमा कक्षा सञ्चालन भइरहेको छ– शिक्षा शाखा प्रमुख पौडेलले भने– कक्षा ११ र १२का विद्यार्थीलाई भने दुई सत्रमै कक्षा लिइँदैछ । विद्यार्थी र अभिभावकमा अझै कोभिडको डर नहटेकाले विद्यालयमा स्वास्थ्य सम्वन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न लगाउने गरेका छौं– उनले भने– मास्क, सेनिटाइजर, सावुन पानीले हात धुन लगाइरहेका छौं ।

उता ३५ सामुदायिक र २५ संस्थागत विद्यालय रहेको शिवसताक्षी नगरपालिकामा पनि बिद्यालय बिस्तारै पुरानै लयमा फर्कन लागेका छन् । जोखिमलाई मध्यनजर गर्दै नगरभित्रका विद्यालय सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले जानकारी दिए । उनले भने– कुन बेला के हुने हो पत्तो छैन, मास्क, सेनिटाइजरको भरमा डराई डराई विद्यालय सञ्चालन गरिएको छ ।

कनकाई नगरपालिकाभित्र रहेका विद्यालय पनि विस्तारै पुरानै लयमा फर्कंदैछन् । तर, त्रास भने कायमै रहेको शिक्षा शाखाका हरि मिश्रले जानकारी दिए । उनले भने विद्यार्थीमा समस्या नदेखिए पनि शिक्षकमा कोभिडको समस्या देखिएको थियो । उहाँहरु अहिले पूर्ण रुपमा ठीक हुनु भएको छ र विद्यालय जाँदै हुनुहुन्छ । केही अभिभावक र विद्यार्थी त्रसित रहे पनि विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर गर्न भनेका छौं । सबैजसो विद्यालयलाई मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको छ– उनले भने– सबै विद्यालय सञ्चालनमा छन् ।

प्याव्सन झापाका पूर्वअध्यक्ष मिलन ढुङ्गानाले गाउँस्तरमा विद्यालय सञ्चालनमा खासै कठिनाई नरहे पनि सहरी क्षेत्रमा भने अझैं विद्यालय सञ्चालनमा कठिनाइ हुने गरेको बताएका छन् । उनले बिद्यार्थी र अभिभावकमा कोभिडको त्रास विस्तारै घट्दै गएकाले ग्रामीण क्षेत्रमा विद्यालय सञ्चालनमा कठिनाई नरहे पनि पुरानो लयमा फर्कन भने समय लाग्ने बताएका छन् ।

शिक्षकले पालना गर्दैनन् स्वास्थ्य सुरक्षा मापदण्ड

कोभिडको जोखिम न्यून भएको भन्दै सरकारले विद्यालय सञ्चालनको अनुमति दिएपछि देशभरका विद्यालय सञ्चालनमा आएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड महामारी कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने पनि पछिल्लो समय स्वास्थय सुरक्षा मापदण्डमा खासै ध्यान दिएको पाइँदैन ।

विद्यालय सञ्चालन भएपनि झापाका सबैजसो विद्यालयमा अहिले शिक्षक र विद्यार्थी मास्कको प्रयोग बिनानै विद्यालय जाने गरेका छन् । विद्यार्थीलाई कोभिडबाट बच्न मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने, वेला–वेलामा मिचिमिची सावुन पानीले हात धुनु पर्ने शिक्षा दिने शिक्षक नै अहिले आफैं मास्क र सेनिटाइजर विना नै विद्यालय जान थालेका छन् ।

विद्यार्थी स्वास्थ्य सुरक्षाका उपाय अपनाउन लगाउने शिक्षक नै स्वास्थ्य सुरक्षा मापदण्डमा नरहदा जोखिम वढेको खण्डमा समस्या हुने निश्चित प्राय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here