नरेन्द्र ढकाल,झापा ।

राष्ट्रिय स्तरका अखबार र अनलाइनमा झन्डै ४ % भ्रामक समाचार प्रकाशन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । मिडिया एक्सन नेपालले राष्ट्रिय स्तरका १० वटा पत्रिका तथा १० वटा अनलाइन पोर्टलका ५० हजार समाचारको अध्ययन गर्दा ४ % समाचार भ्रामक तथा मिथ्या पाइएको हो ।
मिडिया एक्सन नेपालले भ्रामक तथा गलत समाचारको विषयमा अध्ययन गरेर नेपालमै पहिला पटक पुस्तक सार्वजानिक गरेको छ । पछिल्लो समय सञ्चारमाध्य माथिको विश्वसनीयता घटिरहेका बेला सञ्चार माध्यम र पत्रकारलाई जिम्मवारका साथै जवाफदेही बनाउने उद्धेश्यले मिडिया एक्सनल नेपालले डेढ वर्षदेखि भ्रामक तथा मिथ्या समाचारको विषयमा अभियान सञ्चालन गर्दै आएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिनुभयो ।
मिडिया एक्सन नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै पुस्तकको लोकापर्ण गरिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले पुस्तक सार्वजानिक गर्दै सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार बनाउन पुस्तक उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपालको पत्रकारिताको विकासका लागि अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिची-एलेनले भन्नुभयो , ” संयुक्त राज्य अमेरिका स्वतन्त्र प्रेसको भूमिकालाई सम्मान गर्दछ, साथै अमेरिकी दूतावास र राष्ट्रपति बाइडेन प्रशासन पारदर्शितालाई समर्थन गर्दछ र प्रेसलाई शसक्त सरकारका लागि महत्वपूर्ण ठान्दछ, मिडिया एक्सन नेपालको यस महत्वपूर्ण अध्ययनको माध्यमबाट सिकेका पाठहरूले पत्रकार र पाठक दुबैलाई लाभान्वित गर्नेछ ।”
कार्यक्रममा बोल्दै सञ्चार क्षेत्रमा अगुवाहरुले समाचारको क्षेत्रमा भ्रामक र गलत समाचारका कारण पाठक तथा दर्शन स्रोतामा भ्रम सिर्जना भएको बताएका छन् । मिडिया एक्सन नेपालले राष्ट्रिय स्तरका २० वटा सञ्चारमाध्यमका ५० हजारबढी समाचारको अध्ययन गर्दा तीन दशमलव सातशून्य (३.७०%) प्रतिशत समाचार गतल तथा भ्रामक भएको निकर्ष निकालेको छ ।
सञ्चार क्षेत्रमा अगुवा ध्रुवहरि अधिकारीले समाचार प्रकाशन तथा प्रशारणको क्षेत्रमा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाचार सन्तुलित र विश्वसनीय भए मात्र भ्रामक तथा गलत समाचार रोकन सकिने बताउनुभयो । पत्रकारले अरुलाई निगरानी गरेपनि पत्रकारलाई मिडिया एक्सन जस्ता संस्थाले निगरानी गर्ने बताउनुभयो ।
अग्रज पत्रकार नम्रता शर्माले गलत तथा भ्रामक समाचारले समाजमा ठूलो असर गर्ने भएकाले सबैले जिम्मेवारीता अँगाल्नुपर्ने बताउनुभयो । उहाले लैगिक समान्ताको विषयमा पनि सञ्चारमाध्यमले ध्यानदिनुपर्ने विचार ब्यक्त गर्नुभयो । नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले मिडिया एक्सन नेपालले त्रुटि औल्याई दिएकाले आगामी दिनमा त्यसलाई सुधार गरेर लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रकारका साथै सञ्चार गृहका लागनी कर्तालाई समेत प्रशिक्षित गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
द हिमालयन टाइम्सका सम्पादक राजन पोख्रेलले सञ्चार गृह र पत्रकारको क्षमता अभिवृद्धिमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले विषयको अनविज्ञताका कारण भ्रामक तथा गलत समाचारहरु प्रकाशन भइरहेको बताउनुभयो । अनलाइन खबरका कमलदेव भट्टराईले सञ्चारमाध्यममा गेटपिकको रुपमा जनशक्ति नहुनु तथा हतारो पत्रकारिताका कारण सञ्चारमाध्यमहरु चुक्ने गरेको बताउनुभयो ।
उहाँले पत्रकारितालाई विश्वसनीय बनाउन प्रशिक्षणको आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अध्ययनकर्ता जेबी विश्कर्माले अध्ययनका क्रममा अप्नाएका मापदण्डको विषयमा प्रकाश पार्नुभयो । उहाँले ५० हजार समाचारको अध्ययन गर्दा भ्रामक तथा गलत समाचारले पारेको प्रभावका विषयमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेपाल स्थित अमेरिकीदुतावासकी प्रेरणा मरासिनीले मिडिया एक्सनले गहन अध्ययन गर्दै सञ्चारमाध्यम तथा पत्रकारले सुधार गर्नुपर्ने विषयमा सुझाव दिएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले यो अध्ययनले नेपाली पत्रकारितामा देखिएका कमजोरी सुधार गर्ने सुनौलो अवसर हुने बताउनुभयो ।
पहिलो चरणमा राजधानी बाहिरका सञ्चार माध्यमको अध्यउन गरिएको थियो । भ्रामक तथा गलत समाचारले पार्ने प्रभावका विषयमा अध्ययन गरिएको थियो । इलाम र चितवनमा स्थानीय पत्रकारलाई भ्रामक तथा मिथ्या समाचारले पार्ने प्रभाव र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा तालिम समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन कृति भुजु र प्रियङ्का झाले गर्नुभएको थियो ।






























