पार्थ मण्डल,भद्रपुर ।

वातावरण प्रदूषणलाई बेबस्ता गर्दै घना मानवबस्ती छेउमै झापाका एक उद्योगीले इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीयवासी आन्दोलित बनेका छन् । स्थानीयको सहमति बेगर दमकका व्यवसायी गुणराज थापाले इँटा उद्योग खोल्ने तयारीमा लागेपछि त्यसको विरोधमा स्थानीयवासी आन्दोलित बनेका हुन् ।
व्यवसायी थापाले झापाको कमल गाउँपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुदाँहुदै जबरजस्ती इँटा उद्योग खोल्न लागेकोमा वातावरण मैत्री समाज निर्माणका लागि प्रदूषण युक्त उद्योगविरुद्ध भन्दै उनीहरूले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै त्यसको घोर विरोध गरेका हुन् ।
उनीहरू कुनै पनि हालतमा इँटा उद्योग खोल्न नदिने र त्यसको प्रतिकारमा रगत बगाउन पनि पछि नहट्ने चेतावनी दिएका छन् । व्यवसायी थापाको छोराको नाममा १६ विगहा जमिनमा इँटा उद्योग खोल्ने भनी २०७३ साल कार्तिक ९ गते गाउँपालिकाबाट एउटा पत्र आएको थियो । गाउँलेको हातमा पत्र परेपछि त्यही पत्र लिएर हामीहरू तत्काल गाउँपालिका पुगेको स्थानीय तुलसीराम दंगालले बताए ।
गाउँपालिकाका उपाध्यक्ष रेणु सिवाकोटीले गाउँलेको सहमति बिना इँटा उद्योग खोल्न नपाइने आश्वासन दिएपछि हामी ढुक्क भएर फर्किएको उनले बताए । त्यसपछि इँटा उद्योगविरुद्ध ३२० जना गाउँलेको हस्ताक्षर गराएर गाउँपालिकामा निवेदन दर्ता गराएको बताउँदै उनले भने, ‘गाउँपालिकाको सिफारिस पत्रसहित घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर पुगेर त्यस विषयमा जानकारी गराएको थियौँ ।’ तर, उद्योगी थापाले केही कुण्डले मुण्डलेको आडमा गाउँवासीलाई धम्काउने, तर्साउने र फकाउने कर्तुतमा लागेर उद्योग खोल्ने तयारीमा लागेको गाउँले थाहा पाएपछि हामी त्यसको प्रतिकारमा उत्रिएका हौँ, उनले भने ।’ गाउँलेको सहमति बिना गाउँमा इँटा उद्योग खोल्ने प्रयास गरिएमा रगत बगाउन पनि पछि नहट्ने उनले चेतावनी समेत दिए । इँटा उद्योगको वायु प्रदूषणले वातावरण ठुलो असर पर्ने भएकोले हामी त्यसको विरोधमा उत्रिएको स्थानीय रविन ढुङ्गानाले बताए ।
‘वायु मण्डलमा पिएम नाम कणको मात्रा ४० हुनु पर्नेमा इँटा उद्योगबाट निस्किने प्रदूषणको मात्रा त्यसलाई बढाएर ५ सय बनाउने काम गर्छ,’ उनले भने, ‘जुन वातावरणको लागि खतरनाक वायु हो, त्यसैले हामी इँटा उद्योग खोल्न दिने पक्षमा छैनौँ ।’ ‘वातावरणमैत्री उद्योग वा पार्क खोल्न आएमा त्यसको हामी स्वागत गर्छौ, उनले भने ।’
व्यवसायी थापाले स्थानीयको विरोधका वावजुत प्रदूषण फैलाउने र मानव बस्तीलाई विस्थापित गराउने उद्देश्यले उद्योग खोल्ने तयारीको वर्षौँदेखि नै विरोध गर्दै आएको स्थानीय सन्तोष कटुवाल बताउँछन् । उद्योगीले पहिले कुरा मात्र गर्ने गरेको तर यस पटक उद्योगका लागी संरचना निर्माणका लागि सरसामान नै झार्न थालेपछि स्थानीयहरू सङ्गठित बन्दै आन्दोलनमा उत्रिएको उनको भनाई छ । ‘अब हामी वारपारको अवस्थामा पुगेका छौँ, यसका लागि रगतको खोला पनि बग्छ, उनले भने ।’
त्यस्तै स्थानीय सविता कटुवालले उद्योगी दादागिरी शैलीमा इँटा उद्योग खोल्न लागेकोले हामी त्यसको प्रतिकारमा उत्रिएको बताइन् । टोल विकास संस्था, नागरिक समाज, गाउँवासीको सहमति बिना कुन कानुनले इँटा उद्योग खोल्ने अनुमति दिएको प्रश्न गर्दै उनले भनिन्, ‘पैसा र शक्तिको आडमा कानुनलाई लत्त्याएर जे पनि गर्न पाइन्छ रु’
यता कमल गाउँपालिका १ नम्बर वडा अध्यक्ष केदार कुटवालले गाउँमा इँटा उद्योग खोल्ने विषयमा वडा कार्यालय र गाउँपालिकामा आधिकारिक रुपमा केही सूचना र पत्र नआएको बताए । उद्योगीले कहाँबाट अनुमति ल्याएर उद्योग खोल्ने तयारीमा लागेको आफू पनि आश्चर्यमा परेको उनको भनाई छ । उद्योग खोल्ने विषयमा वडा कार्यालयबाटै सरजमिन हुनु पर्ने बताउँदै उनले भने, ‘यस विषयमा आफूलाई पनि थाहा छैन ।’
उद्योगी थापाले पैसा र आफ्नो निकटका सम्बन्ध भएका मानिसहरूलाई प्रलोभनमा पारेर मानव स्वास्थ्य र स्थानीयलाई विस्थापित गराउने खेल्नमा लागेकोले यसको विरुद्ध जस्तोसुकै कदम चाल्ने स्थानीयबासीहरु तयारमा छन् ।































