भद्रपुर ।

मेची नदी पारी ‘मेचीपारी गाउँ’ले परिचित त्यहाँका ९ जना छात्रालाई निःशुल्क साइकल प्रदान गरिएको छ ।
आर्थिक, सामाजिक तथा भौगोलिक रूपमै पछि परेका भारतीय भूमिसँग जोडिएको भद्रपुर नगरपालिका–३स्थित मेचीपारि गाउँका आदिवासी तथा मधेसी समुदायका ९ जनालाई छात्रालाई आइतबार एक कार्यक्रमकाबीच लायन्स क्लब अफ भद्रपुरले साइकल निःशुल्क उपलब्ध गराएको हो ।
मेचीपारि गाउँबाट माध्यमिक शिक्षा हासिल गर्न मेची नदी पार गरी पाँच किलोमिटरसम्म हिँड्नुपर्ने बाध्यतालाई ख्याल गर्दै क्लबले छात्रालाई निःशुल्क साइकल उपलब्ध गराएको क्लबका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिए ।
साइकल पाउने छात्राहरू चन्द्र भानु माविमा अध्ययनरत् हिना राजवंशी, सरस्वती गुप्ता, चाँदनी महतो, गीता राजवंशी, सरिता राजवंशी, ज्योतिका राजवंशी, तुलसी राजवंशी, जमुना राजवंशी र मनिषा महतो रहेका छन् ।
हाल मेची नदीमा झोलुङ्गे पुल बनेपछि साइकल र मोटरसाइकल चढेर आवतजावत गर्न सहज भएकोले विद्यार्थीलाई साइकल दिएको उनको भनाइ छ । मेचीपारि आधारभूत विद्यालयमा आयोजित कार्यक्रम लायन्स क्लब अफ भद्रपुरका चार्टर प्रेसिडेन्ट तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा भद्रपुर–३ नम्बर वडाध्यक्ष कमला थुलुङ, क्लबका इमिडियट पास्ट प्रेसिडेन्ट यामबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, देवेन्द्र गौतम, भद्रपुर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल, क्लबका सदस्यहरू शर्मिला अधिकारी, उत्तम राजवंशी, अनिता राजवंशी, गोपाल खनाल, पार्वती ओझा, अनिता रिजाल, उर्मिला गौतम, आरिफ अली लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापन शिक्षक कैलाश राईले गरेका थिए ।






























