झापा ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको प्रतिरक्षा गर्दै अहिले देश दौडाहमा छन् । काठमाडौंसहित नेपालका विभिन्न जिल्लामा उनी अहिले प्रतिनिधिसभा विघटनको निर्णयको बचाउ गर्दै मुख्य वक्ताको रुपमा सभालाई सम्बोधन गर्दै आएका छन् ।
नेकपाको गुटको राजनीति र संसद विघटनको आफ्नै कदमको बचाउ मुख्य प्राथमिकतामा राखेका उनले देशका विभिन्न स्थानमा पुगेर सभालाई सम्बोधन गरिरहेका छन् ।
सरकारका काम कारवाहीभन्दा पनि नेकपाभित्रको आफ्नो गुट बचाउन उनी लागीपरेको विश्लेषण हुन थालेको छ । झण्डै दश महिनादेखि सिंहदरवारस्थित आफ्नो कार्यालय नपुगेका उनी पार्टीको आन्तरिक विवादमा भने विपक्षी खेमालाई चर्को आलोचना गर्दै देश दौडाह गर्न भ्याएकै छन् । आफ्नो बचाउ र अर्को खेमाको बिरोध गर्ने मन्त्रीहरुलाई दायाँबायाँ राखेर ओली किन आफैले विघटन गरेको प्रतिनिधिसभाको प्रतिरक्षा गर्दै हिँडिरहेका छन् त ?
नेकपाको ओली खेमाले आइतबार आयोजना गरेको सभाका लागि बुटवल पुगेका काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभित्रका केही नेताले कामै गर्न नदिएको बताइरहँदा तीन बर्षमा जति विकास कहिल्यै नभएको भन्दै दोहोरो कुरा गरिरहेका थिए ।
पुस पाँचमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसबिरुद्ध नेकपाकै दाहाल–नेपाल खेमा पुनःस्थापनाको एजेण्डा लिएर सडक संघर्षमा उत्रिँदा ओली भने प्रतिरक्षा गर्दै देशव्यापी सभा गर्दै हिँडेका छन् । तर, उनले प्रधानमन्त्री कार्यालय सिंहदरबार नटेकेको दश महिना भइसक्यो । नेकपाका अध्यक्ष समेत रहेका ओलीले सरकारको कामलाई प्राथमिकता नदिएका मात्रै हैनन्, उल्टै मन्त्रीहरुलाई दाँया–बाँया राखेर पार्टीको सभा सम्मेलनमा हिडाउँदै आएका छन् ।
ओलीले सरकारको नेतृत्व सम्हालेको फागुन ३ गते तीन बर्ष पुग्दैछ । उनी चैतपछि सिंहदरबार त गएका छैनन् । तर संसद विघटन गरेपछि पुस २४ गते सुदुरपश्चिमको मन्त्रीहरुलाई लावालस्कर लगाएर धनगढी सभामा पुगे । माघ १७ चितवन, २३ गते काठमाडौंका सभालाई सम्वोधन गर्न भ्याइसकेका छन् । काठमाडौंमा निरन्तरजसो आफ्नो समूहका पार्टी गतिविधि पनि चलिरहेकै छन् । फागुन ९ गते प्रदेश १को भेलालाई सम्वोधन गर्ने तालिका बनिसकेको छ ।
कोरोना महामारी र लकडाउनको असरबाट अर्थतन्त्र र जनजीवन अझै तङ्ग्रिन सकेको छैन् । यस्तो बेला संसद विघटन गरेर प्रधानमन्त्री ओली आफैंले मुलुकमा राजनीतिक अस्थिरताको विजारोपण गरेका छन् ।


























