युवा शक्तिको दुरुपयोग

0
1523

युवा भनेको किशोर अवस्थादेखि वयस्क अवस्थासम्म मात्र होइन, युवा भनेको एउटा तागत, ऊर्जा, विचार, विवेक, भविष्य हो । र, यो हरेक देशको सबैभन्दा ठूलो पँुजी र सम्पत्ति हो । देशलाई कुन बाटोमा र कसरी अगाडि लैजाने भन्ने विषयमा युवा शक्तिको ठूलो भूमिका रहेको हुन्छ । युवा शक्ति राजनीतिक, सामाजिक र आर्थिक बिकास र परिवर्तनका संवाहक हुन् । जबसम्म कुनै पनि ठाउँ, देशमा युवा जागरूक हुँदैनन्, युवा ऊर्जावान, गतिशील र सक्रिय हुँदैनन् तबसम्म देशको बिकास र उन्नति हुन असम्भव छ । तसर्थ, युवा विकास र गतिशील हुन देशको लागि अत्यन्तै महत्वपूर्ण छ ।

युवा शक्ति र ऊर्जाको राजनीतिक परिवर्तन र देश निर्माणमा ठूलो योगदान रहेको हुन्छ । हाल नेपालमा ४०.३५५ युवा जनसंख्या छ । विश्व रेकर्डमा हेर्ने हो भने नेपाल ७७औं नम्बरमा रहेको छ । यो भारी संख्यामा युवा भएको देश अब पनि देश निर्माण र विकासमा ढिला नहुनुपर्ने हो, तर दुर्भाग्यवस यहाँ १९.२५ युवा पुर्णरुपले वेरोजगार छन् भने पढे–लेखेका वेरोजगार युवा २६.१५ रहेका छन् । देशको अस्थिर राजनीतिले यो भारी संख्याको युवा शक्तिमा एउटा युवा अन्यौलता पैदा गरेको छ । देशमा बसेर केही गरौं भन्ने वातावरण नभएको हुनाले बाहिरी मुलुकमा गएर श्रम बेच्न बाध्य छन् । लाखौं संख्यामा हरेक वर्ष देश छोडेर युवा विदेश पलायन हुनुमा प्रमुख कारण देशको अस्थिर राजनीति हो ।

प्राकृतिक श्रोत साधनले भरिपूर्ण, अथाह सम्पत्ति भएको यस्तो राष्ट्र विश्वमा पुरानो इतिहास बोकेर कला र सभ्यताको पाठ सिकाउने देश अझै पनि विकास र समृद्धिको बाटो ढुकेर नै बसिरहेको छ । यहाँका गल्ली–गल्ली, बाटो–घाटो, वन–जङ्गल हरेक ठाउँमा पाइलैपिच्छे अन्याय भेटिन्छन् । हजारौं किसिममा समस्या र गुनासोहरु भेटिन्छन् । यहाँ कसैलाई कसैको मतलब छैन । म गर्छु भनेर आश्वासन दिनेको कमी भने छैन । तर, जति आए सबैले भाषण मा नै सिमित राखेर गए । यहाँ सोझा र आशावादी जनताहरु भने हरेक पटक छलिए । देशमा भएका विकास निर्माणका काम र देशको अर्थतन्त्र हेर्दा जनताका सपना र चाहनाहरु माथि पानी फिरेको स्पष्टसँग दूधको दूध पानीको पानी छुट्याउन सकिन्छ ।

यहाँ रुँने रोइरहेका छन्, कराउने कराइरहेका छन्, खाने खाइरहेका छन् । ठग्नेले ठगी रहेको छ । देशले एउटा सही दिशा र बाटो लिन नसकेकोले आज देश चलाएर अगाडि लैजाने व्यक्ति र निःस्वार्थ नेतृत्व गरेर देशको सेवा गर्न सक्ने क्षमता भएको नेता आजसम्म यो देशले कोही भेटेन । एउटा आँखा नदेख्ने व्यक्तिले बाटो देखाउने काम गर्छ भने त्यहाँ सबै खाडीमा गिर्नु तय हुन्छ । एउटा सही नेतृत्व गर्ने नेता विभिन्न समस्याहरुसँग जुध्छ, लड्छ तर समस्यालाई देश र जनताको सुख–शान्ति खोस्न दिएर समस्यालाई जित्न दिँदैन । उसमा जनताका समस्या र दुःख–पीर बुझ्न सक्ने खुबी हुनु पर्दछ । बोलेर मात्र होइन काम गरेर देखाउन सक्ने साहस हुनु पर्दछ । त्यसैले सही नेतृत्व गर्नेलाई चुनौती छ भने सही नेतृत्व गर्नेको पर्खाइमा देश सिकिस्त बिरामी भएको छ । यस्ता हजारौं समस्याका बीचमा एउटा प्रमुख समस्या युवा शक्तिमा बढ्दै गएको राम्रोसँग अड्कल गर्न सकिन्छ । युवामा भएको ऊर्जा र विवेक यतिखेरको परिस्थितिमा अन्यौलतामा रहेको छर्लङ्ग देखिन्छ ।

संसद विघटन पश्चात् भएका गतिविधि र क्रियाकलापले युवा समूहमा अब के गर्ने भन्ने प्रश्न झन् बढेर गएको छ । सही ठाउँ र सही समयमा युवा ऊर्जा र विवेकलाई राष्ट्रले विकास र समृद्धिमा प्रयोगमा ल्याउनुपर्नेमा देशमा अशान्ति र अराजक गतिविधिलाई जन्म दिएर युवा शक्तिलाई गलत ढङ्गले प्रयोग गरिरहेको छ । देशमा भएका गलत काममा आवाज उठाउनु कदापि गलत होइन, तर देश बन्द, हड्ताल जस्ता विवेकहीन काममा युवा शक्तिले आफूलाई खर्चिनु सही मान्नु र एउटै ड्याङका मुला भन्ने उखान सरह सबै पछि लागेर स्वर मच्चाउनु भनेको देशमा अशान्ति पैदा गर्नु मात्र हो । वर्तमान अवस्थामा युवाशक्तिको विकास होइन दुरुपयोग भइरहेको अब स्वयम् युवाले बुझ्न जरुरी छ । युवा शक्तिको सही प्रयोग नहुनु भनेको देश अझ ओरालो लाग्नु हो । त्यसैले जहाँ प्रमुख शक्ति या भनौं समृद्धिको मेरुदण्ड नै युवा हो जो आजको समयमा अन्यौलता रहेको छ त्यहा विकासको आशा गर्नु भनेको डोकोमा दूध दुनु बराबर हो ।

अब हरेक युवाले अहोरात्र खट्नै पर्छ । सत्ता र कुर्सीको पछि लाग्ने नेताको पछि–पछि दगुर्ने होइन । युवा शक्ति आफै जागरूक हुने बेला आएको छ । श्रम बेच्न विदेशिनु ठूलो उपलब्धि र प्रगति हो भन्ने भ्रमबाट निस्केर देशप्रतिको कर्तव्य र दायित्वलाई पनि सम्झिने बेला आएको छ । त्यसैले अब हरेक युवाले राष्ट्र प्रेमलाई बन्द, हड्ताल, जुलुस गरेर होइन, आफूले नेतृत्व गरेर या सही काम गर्ने, सही व्यक्ति चुनेर देश प्रेम दर्शाउनु पर्दछ । अब युवाले युवा शक्तिलाई दुरुपयोग हुनबाट जोगाउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here