अदालतको आदेशपछि व्युँतियो ट्राफिक नियम

0
569

झापा ।

२०७४ साल असोज १ गतेदेखि प्रदेश १लाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो । प्रदेश १का १४ जिल्लालाई हर्न निषेधित बनाउँदै ध्वनि प्रदुषण नियन्त्रण गर्ने प्रदेश सरकारले उद्घोष गर्दै अभियानको थालनी गरेको थियो । जसका लागि ट्राफिक प्रहरीले प्रदेश १का १४ जिल्लामा ट्राफिक नियम नै बनाएर कडाइका साथ लागू गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।

तीन वर्ष अघि नै ट्राफिक प्रहरीले लागू गरेको यो नियम कार्यान्वयन गर्न नसक्दा यस अघि प्रदेश १ हर्न निषेधित क्षेत्र घोषणा भएर पनि व्यवहारमा लागू भएको थिएन । प्रदेश १लाई हर्न निषेधित क्षेत्र घोषणा गरिएपनि त्यस विरुद्ध अदालतमा उजुरी परेपछि केही समय प्रदेश सरकारले गरेको निर्णय स्थगित भएको थियो ।

उच्च अदालत विराटनगरमा परेको उजुरी अदालतले २०७५ जेठ १४ गते खारेज गरे पनि ट्राफिक प्रहरीले कार्यान्वयन गर्न सकेको थिएन । अदालतको आदेशपछि पनि यो नियम कागजमै सीमित भएको भन्दै आलोचना खेपेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय सडकमा हर्न बजाउन नदिन कडाइका साथ कार्यक्रम कार्यान्वयनमा गएको हो ।

ट्राफिक प्रहरीले लागू गरेको यो नियम कागजमै सीमित भएपछि यात्रुले सास्ती खेप्नुपरेको भन्दै कार्यान्वयनमा कडाइ गर्न थालिएको छ । जथाभावी रुपमा हर्न बजाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकको भनाइ छ । कोरोना महामारीका बेला यो कार्यक्रमले निरन्तरता नपाएको दाबी गरेको ट्राफिक प्रहरीले थप सशक्त रूपमा कार्यान्वयन थालेको जनाएको छ । ट्राफिक प्रहरीको हर्न निषेध कार्यक्रमले सफलता पाएमा सडकको अस्तव्यस्तता र ध्वनि प्रदुषण समेत हट्ने निश्चित छ ।

तर, ट्राफिक प्रहरी अधिकृतको सरुवासँगै यो नियम समेत ओझेलमा पर्ने हो कि भन्ने प्रश्न उब्जिएको छ । अहिले १ नम्वर ट्राफिक प्रहरीले यो नियम कडाइका साथ लागू गर्न भनेपछि पूर्वका १४ वटै जिल्लामा हर्न बजाउने सवारी साधनलाई चेकजाँचमा कडाइ गरिएको छ ।

झापामा पनि विभिन्न स्थानमा चेकपोष्ट खडा गरी नियममा कडाइ गर्न थालिएको छ । झापाका विभिन्न स्थानमा गरिएका चेकजाँचका क्रममा दिनहुँ ५० भन्दाबढी सवारी कारवाहीमा पर्दै आएका छन् । नियमलाई कडाइका साथ पालना गराउन ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगू आफै सडकमा निस्किएका छन् ।

उनले अभियान स्वरुप कडाइका साथ दिनानुदिन छुट्टाछुट्टै स्थानमा चेक पोष्ट खडा गर्दै अनावश्यक रुपमा हर्न बजाउने सवारीलाई कारवाही गर्दै आएका छन् । कारवाही स्वरुप त्यस्ता सवारीको हर्न निकाल्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here