निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली

0
915

डोटी,

दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तै हात घर फर्किए । उहाँको परिवारलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ ।

जिल्लामा वर्षौँदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा उक्त गाउँपालिकामा भएका दर्जनौँ गरिब तथा विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेपछि आफूहरूमा खुशीयाली छाएको सन्तोषले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा समस्या भएर कमाउनका लागि भारत गएको थिएँ, कोरोनाले कमाउन सकिन, घरैमा बसेको थिएँ, संस्थाका बाख्रा पाएपछि अब जीवन चलाउन सहज हुनेछ ।”

उहाँजस्तै सो वडामा बाख्रा पाएका स्थानीयवासी, दलित तथा विपन्न परिवार अहिले निकै खुशी छन् । बाख्रापालनले जीवनयापनमा सहज भएको भन्दै यहाँका गरिब तथा विपन्न वर्गमा खुशीयाली छाएको अर्का स्थानीयवासी जवानसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूसँग बाख्रा किन्न रकम थिएन, अहिले संस्थाले घरैमा आएर निःशुल्क बाख्रा दिएकामा गरिब तथा विपन्न वर्ग खुशी भएका छन् ।”

घरमा लगाइएको खेतीपातीले कम्तीमा पनि पाँच महिनासम्म खान नपुग्ने गरेका विपन्न परिवारलाई बाख्रापालनबाट सहयोग होस् र आम्दानी बढोस् भनेर निःशुल्क बाख्रा वितरण गरिएको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “रकम दिएर जीविका चलाउन नसकिने भएपछि बाख्रा दिँदा आम्दानी हुने तथा आयस्तर पनि बढ्ने अवस्था देखेपछि हामीले बाख्रा वितरण गरेका छौँ, गरीखाने वर्गलाई राम्रै हुनेछ ।”

संस्थाले दिएका तीन बाख्रासँगै यहाँका किसानले आफूले पनि ऋण लिई बाख्रा किन्न थालेको धिर्कामाडौँकी दलित महिला सीतादेवी ढोलीले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थाले तीन बाख्रा दिएको छ, हामीले पनि ऋणपान गरी बाख्रा किनेका छौँ, बाख्राले राम्रो आम्दानी हुने आश गरेका छौँ, ५०/६० बाख्रा पु¥याएर यसलाई व्यवसायका रूपमा अगाडि बढाउने सोचमा छु ।” व्यावसायिकरूपमा बाख्रापालन गरेर आफ्ना बालबालिकालाई स्कूल पढाउन तथा खानाका लागि सधैँ अरुसँग मागेर दैनिक गुजारा गर्ने अवस्था अन्त्य हुनेमा यहाँका दलित तथा विपन्न वर्ग आशावादी भएका छन् ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपालले बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा धिर्कामाडौँका कम्तीमा पनि २५ घरधुरीलाई निःशुल्करूपमा बाख्रा वितरण गरेको छ । हरेक घरधुरीलाई तीन वटाका दरले ७५ बाख्रा र दुई बोका वितरण गरिएको सिड नेपाल डोटीले जनाएको छ । वितरण गरिएका बाख्राका लागि २५ खोरसमेत निर्माण गरिएको छ ।

जीविकोपार्जन पुनःस्थापनाका लागि जलवायु संवेदनशील सुशासन परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको संस्थाका परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिनुभयो । वितरण गरिएका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय–समयमा संस्थाले नै निरीक्षण गर्ने योजना बनाएको छ । सिड नेपालले दातृ संस्थाको सहयोग तथा गाउँपालिकासँगको समन्वयमा कम्तीमा पनि २०० बाख्रा वितरण गरिसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here