राजनीतिलाई सही मार्गमा डो¥याउन जनताको साथ चाहिन्छ : नेता सिंह

0
348

काठमाडौँ,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डो¥याउन जनताको साथ हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताउनुभयो ।

“स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो”, पूर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका नेता सिंहले भन्नुभयो ।

पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो छिटो जनमतमै जानुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताउनुभयो । चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताउनुभयो । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा डा पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताउनुभयो । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उहाँको माग थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताउनुभयो । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मिडिया प्रालिका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ५०० चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताउनुभयो । सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, डा इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रि दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल टेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद्का सदस्य अर्जुनकुमार श्रेष्ठलगायतले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

चिकित्सक र पत्रकार सम्मानित

स्वास्थ्य क्षेत्रमा योगदान दिएवापत प्रदेश नं १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा वीरेन्द्रकुमार विष्ट, प्रदेश नं २ बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा खगेन्द्रराज भट्टलाई सम्मान गरिएको थियो ।

यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी, फिजिसियन डा निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाहीलाई पनि कार्यक्रममा नेता सिंहले सम्मान गर्नुभएको थियो । कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छाकामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाका सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here