बिर्तामोड ।
पूर्व विद्यार्थी मञ्च झापाले प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री तथा पूर्व विद्यार्थी हिक्मतकुमार कार्की र कञ्चनजंघा एफ एमका प्रवन्ध निर्देशक तथा पूर्व विद्यार्थी चन्द्र भण्डारीलाई सम्मान गरेको छ ।
पूर्व विद्यार्थी मञ्च झापाको आयोजनामा धनुसकोटी धाम सुरुङ्गामा भएको पुनर्मिलन तथा वनभोज कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
अनेरास्ववियू झापाको स्थापनादेखि विभिन्न कमिटीहरुमा जिम्मेवारी वहन गरी हाल निवर्तमान भएका अनेरास्ववियू झापाका नेता तथा कार्यकर्ताहरुबीच आपसी सम्वन्ध सुमधुर बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
पूर्व विद्यार्थी मञ्च झापाका संयोजक भरत शिवाकोटीको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानून मन्त्री तथा पूर्व विद्यार्थी हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका सहसंयोजक निर्मल दाहालले स्वागत र कार्यक्रमको औचित्य बारे प्रकाश अध्यक्ष भरत शिवाकोटीले गरेका थिए ।
कार्यक्रममा पूर्व विद्यार्थीहरु संघीय साँसद एलपी साँवा, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, प्रदेश सभा सदस्य वसन्त वानियाँ, साझा प्रकाशनका महाप्रवन्धक होमप्रसाद गौतम, कञ्चनजंघा एफ एमका प्रवन्ध निर्देशक तथा पूर्व विद्यार्थी चन्द्र भण्डारी, जिल्ला समन्वय समिती झापाका सभापति सोम पोर्तेल , विद्यार्थी नेतृ हेमकला कट्टेल, अनेरास्ववियुका पुर्व नेता भवेन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी मञ्च झापाका सचिव धर्मेन्द्र खड्काले गरेका थिए ।