डा. उप्रेतीको निधन, देउवाद्वारा दुःख व्यक्त

0
487

बिर्तामोड , फागुन १६ । डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका डा.उप्रेतीले चिकित्सकका रुपमा वि .स.ं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका थिए ।
डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट छ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका डा.उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोगेका थिए ।
पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए ।
उनले आत्मसंस्मरणको कृतिको रुपमा ‘जीवन एक सपना’ प्रकाशित छ ।उनको दाहसंस्कार आइतबार नै पशुपति आर्यघाटमा गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा. शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आइतबार शोक विज्ञप्ति जारी गर्दै डा.उप्रेतीको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन् । सभापति देउवाले डा. उप्रेतीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here