माओवादी केन्द्रको साँचो पुनर्जागरण सम्भव छ ?

0
815

नेपाली कम्युनिष्टहरुको इतिहासको मुख्य पाटो विभाजनका पानाहरुले भरिएका छन् । कम्युनिष्टका सम्बन्धमा विभाजन र विग्रहको मात्र समाचार लेखिरहनु, सुनिरहनु र पढिरहनु पर्नेमा त्यसको ठीक उल्टो नेपालमा दुई धारका कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीन वर्षअघि सहकार्य, कार्यगत एकता हुँदै पार्टी एकता भएको कुरा आज इतिहासको विषय भएको छ । मिलेका विषयमा साझा कार्यक्रम बनाएर विमति र बेमेलका विषयलाई साँगुरो बनाउँदै अन्त्यमा पार्टी एकता गर्ने उद्देश्यका साथ कार्यगत एकता गरिएको थियो । माओवादी केन्द्र, एमाले, माले, नेमकिपासहित सबै कम्युनिष्ट पार्टीहरु समावेश गरेर कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्छ भन्ने बहसको क्रममा माओवादी केन्द्र र एमाले मिलेर नेकपाको जन्म भएको हो । कतिपय बुज्रुकहरु सबै कम्युनिष्ट पार्टीहरु मिल्नुपर्छ भनेर भन्नु आदर्शवादी कुरा हो र यो बुद्धिबिलाश मात्र हो पनि भनिरहेका छन् ।

नेपालका पार्टीहरुमा बोल्ने एउटा र गर्ने अर्कै प्रवृत्ति पनि छ । एकताको हल्ला फिँजाएर एकताको पक्षमा रहेका कार्यकर्ता र जनतालाई भ्रमित पार्न खोजेको जस्तो देखिएको छ यतिबेला । विचार र कार्यदिशाको एजेण्डामाथि छलफल गरी एकताबद्ध रुपमा समयको मागलाई समेत मध्यनजर गर्दै पार्टी एकता नगरिएको कारण आजको क्षति भएको मान्न सकिन्छ । स्वार्थको एकता भंग हुनु स्वाभाविक मान्न सकिन्छ । पार्र्टीभित्रका गलत संस्कार र संस्कृतिका विरुद्धमा आफ्नै टाउकोमा आगो झोस्न पुष्पकमल दाहाल तयार हुन सक्छन् भनेर पूर्णरुपमा विश्वास गर्न सकिँदैन । नेतृत्वले अवसरवाद र जनघाती बाटो त्यागेर स्वच्छ छवि र जनतामा भिजेर काम गर्न सक्नेमा आशा र विश्वास गर्न त्यति सहज छैन । विचार तथा सिद्धान्त मिले मात्र एकता सम्भव हुने स्पष्ट धारणा रहेकोमा छिटो–छिटो पूरा तयार नगरिकन पार्टी एकता गर्ने काम भयो र आज त्यो एकता भंग भएको छ र यसले नेपालको राजनीतिमा एउटा तरङ्ग ल्याएको छ ।

क्रान्तिको रक्षाको नाममा क्रान्तिका लोभलाग्दा नाराहरु लिएर अघि बढेको मान्दैमा क्रान्ति सफल हुँदैन । नेपाल कम्युनिष्ट पार्टीको चिन्तन र कार्यशैली पनि जनयुद्धको ह्याङ्ओभरबाट मुक्त नभएको र पद प्रतिष्ठाप्रतिको मोहले ग्रस्त बनाएर एकता भंग हुने अवस्था सृजना भयो । दर्जनौं तर्कहरु र सैद्धान्तिक अडानले मात्र मुलुक सही दिशामा अघि बढ्न सक्दैन । क्रान्तिको रक्षा गर्ने पवित्र उद्देश्यको नाममा अबका दिनमा उग्र गतिविधिहरु सञ्चालन गर्ने कुराले अन्ततः जनयुद्धको पुनरावृत्तितर्फ इंगित गर्दछ । जनयुद्ध र जनान्दोलनका शहीद र उनीहरुका परिवारको लागि केही गर्न नसकिरहेको अवस्थामा क्रान्तिका नाममा बन्दुक पड्काएर फेरि एउटा लामो शहीदको सूची बनाउनु क्रान्ति होइन । आफैंले सञ्चालन गरेका पेचिला संघर्ष र युद्धबाट प्राप्त उपलब्धीलाई नजरअन्दाज गरेर देश र जनताको विनाशको बाटोमा लाग्नु फेरि अर्को भूल हुन्छ ।

एक्काइसौं शताब्दीको आवश्यकता अनुरुप भावी कार्यक्रम बनाउन सकियो भने मात्र एकता भंग गरेको अर्थ हुन्छ । रक्तमुच्छेल दश वर्षे जनयुद्धको उपलब्धीको लेखाजोखा हुन गर्न नसकी वा गर्न नचाहेकै कारणले आजको अप्ठेरो परिस्थिति आएको हो माओवादीहरुका लागि । पन्ध्रौं हजार शहीदहरुको बलिदान, हजारौंको बेपत्ता स्थिति र गोलीका छर्रा बोकेका घाइते अपाङ्ग र लाखौं नेपालीहरुको त्याग तपस्याबाट प्राप्त आजको उपलब्धीलाई बुझ्न नसक्दा र सोही अनुरुप आफ्ना क्रियाकलाप सञ्चालन गर्न नसक्दा उनीहरु राष्ट्रिय राजनीतिमा कमजोर स्थितिमा पुगेका हुन् । संसारमा कम्युनिष्टप्रतिको विश्वास उड्दै गएको आजको परिवेश हो । यस्तो अवस्थामा जनताबाट अलग्गिएर पार्टी संगठन बनाउने हो र जनताका दैनिक दुःखकष्टलाई बेवास्ता गर्ने हो भने जनताले सो पार्टीलाई कसरी विश्वास गर्न सक्छन् र ! जनताका माझमा स्थापित हुन जनशैली चाहिन्छ । समाज बद्लिएको छ, तर माओवादी लगायतका कम्युनिष्ट पार्टीका आधारभूत कार्यक्रम, शैली र ढाँचा उही छन् । मध्यम तथा निम्न वर्गीय जनताहरु समस्याका कहर काटिरहेका छन् । उनीहरुका लागि पृथ्वीको भू–स्वर्ग मानिने यही मुलुक नरक भएको छ, पीडा र आँशुमा उनीहरु बाँचिरहेका छन् ।

सैद्धान्तिक शुद्धतामा पूरा विश्वास गर्ने, पार्टीभित्रको फरक मतलाई नसहने र पुरानै ढाँचा र ढर्राबाट क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पक्डेर अघि बढ्न मुश्किल छ नेपालका कम्युनिष्टका लागि । आफ्ना कमी–कमजोरीलाई आत्मसात गरी जनताको बीचमा गई काम नगर्ने हो भने वर्षौंवर्षसम्म क्रान्तिकारी कम्युनिष्टहरुले नेपालमा धक्का खान्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनताको महान संघर्षबाट प्राप्त परिवर्तनको महशुस हरेक गाउँबस्ती र झुपडीहरुसम्म पु¥याउन माओवादीहरुले नसकेकै हो । कमजोर अवस्थामा मिल्ने र अलिकति अवस्था सुध्रिने बित्तिकै विभाजनतिर लाग्ने नेपाली कम्युनिष्टहरुको रोग हो ।

भ्यागुत्ताको धार्नी पु¥याउन सकिँदैन भने झैं नेपालमा कम्युनिष्ट पार्टीबीचको एकता टिकाउ हुन सकेको छैन । क्रान्तिका रंगीन र मीठा सपना साँचेर आशैआशमा बाँचिरहेका नेपाली जनतालाई जीवनका वास्तविक सुनौला विपनाहरु भोग्न माओवादीहरुले कस्तो कार्यक्रम ल्याउने हुन भन्ने जनताले आशालु नजरले हेरिरहेका छन् । क्रान्तिका सपना बाँडेर क्रान्ति पूरा हुँदैन । बन्दुक पड्काउँदैमा र हतियार उठाउँदैमा दाम्रिएको पेट र चाउरिएको गालामा क्रान्तिका लाली चढ्दैन । जनताबाट टाढिदै जाँदा जनता बिकल्पविहीन बनेर माओवादीको विरुद्धमा उभिएको यथार्थलाई बुझेर नेपाली जनताका आशा र अपेक्षाहरुलाई सम्बोधन गर्न क्रान्तिका पक्षधर सबै शक्तिलाई समेटेर अगाडि जान सक्ने हो भने माओवादीहरुले नेपालमा अझै केही गर्न सक्छन् । वीरतापूर्ण सशस्त्र संघर्षको तुफानी ज्वारभाटाबाट गुज्रेका माओवादीहरुले मुलुकका सामु उभिएका विराट चुनौति र महान् सम्भावनाको बारेमा घोत्लिने हो भने आफ्नो अस्तित्व रक्षाका लागि एकताको प्रक्रियामा उनीहरु जानैपर्छ किनभने उनीहरु बाह्य र आन्तरिक दुबै तर्फबाट चुनौतिको चौघेरामा थुनिएका छन् ।

परिवर्तन वा क्रान्तिको लागि उभिने काम अप्ठेरो छ र प्रतिक्रान्तिको भेलमा मिसिने काम सजिलो छ उनीहरुका लागि । अहंकारले अरुको होइन आफ्नै सर्वनाश गर्छ भन्ने सच्चाइलाई हृदयङ्गम गरेर जनतासँग घुलमिल हुन जरुरी छ माओवादीहरुले । कम्युनिष्टहरु जनतासँग एकाकार हुँदैनन् भने जनताका लागि क्रान्ति कसरी हुन्छ ? सबै प्रकारका पक्षपात त्यागेर आलोचना र आत्मालोचनाको लोकतान्त्रिक विधि अवलम्बन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक लगायतका नेपाली समाजमा रहेका विभेदलाई सदाका लागि अन्त्य गर्न माओवादीहरुले जडसूत्रवादलाई त्यागेर माक्र्सवादको सारतत्वलाई नेपाली माटोमा सृजनात्मक रुपमा ग्रहण गर्दै युगसापेक्ष लोकतान्त्रिक संविधान बनाउन भूमिका खेल्न आवश्यक छ । कार्यगत एकताबाट हौसिएर शान्ति र स्थायित्वतर्फ लम्किरहेको मुलुकमा अहिले प्रगतिशील सारतत्वसहितको जनमुखी व्यवस्था स्थापनाका लागि माओवादीले आफूलाई बदल्न जरुरी छ । जनता क्रान्ति चाहन्छन् र उनीहरु शान्ति चाहन्छन् । उनीहरु स्थायित्व र समृद्धि चाहन्छन् भनेर माओवादीले बुझेर आफ्ना नीति र कार्यक्रम बनाउन र सोही अनुरुप गतिविधि सञ्चालन गर्न आवश्यक छ । माओवादीहरुको पुनर्जागरण त्यति सहज छैन ।

जनताको बीचमा गएर सामन्तवादका अवशेषका विरुद्ध संघर्ष गर्न आवश्यक छ । सामन्तवादी अवशेषहरु माओवादी पार्टीमै छ भने पनि कठोर संघर्ष गर्न सक्नुपर्दछ । विचार, राजनीति, कार्यदिशा र कार्यभार जनपक्षीय हुनुपर्दछ । धनसम्पत्तिप्रतिको लालसा, पदप्रतिको आसक्ति र दलहरुका बीचमा गलत ढंगबाट अन्तरविरोधमा खेल्ने अत्यन्तै अविश्वसनीय गतिविधिका कारण माओवादी पार्टी आज जनताबाट अलगथलग हुन लागेको हो र बाटो सच्याएर अघि बढ्न आफैंविरुद्ध कठोर संघर्ष गर्न जरुरी छ ।

मुलुकको मूलधारबाट अलगथलग पारिएकाहरु, वञ्चितिमा परेकाहरु अल्पसंख्यक, सर्वहारा, गरीब, मजदुर, किसानको पक्षमा उभिञ्जेल माओवादी जनताको मनमनमा थियो, तर अहिले परिस्थिति बदलिएको छ । जननीति छोडेपछि सबै कुरा छोडिन्छन् भन्ने माओत्सेतुङको भनाइ थियो । माओवादीको पुनर्जागरणको मुख्य शर्त माओवादीले आफूलाई पुनर्मूल्यांकन गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here