सीमानाकाको व्यवस्थापन

0
1229

जल यातायातको पहुँच नहुनु नेपालीका लागि दुर्भाग्य जस्तै भएको छ । नेपालको चारै दिशा जमिनद्वारा घेरिएका कारण जलमार्गको सम्भावना कल्पनातीत सपना मात्रै हो । यद्यपि सरकार प्रमुखले नेपाली झण्डा बोकेको पानीजहाजको मीठो सपना जनतालाई बाँडेको धेरै भयो, तर जल होइन स्थल यातायातका मार्ग पनि विगत वर्ष दिनदेखि बन्द हुँदा त्यसलाई खोल्ने, सुचारु, सहज र व्यवस्थित गर्नेतर्फ सरकारको ध्यान गएकै छैन । गएको वर्षको चैतको दोस्रो हप्तादेखि कारोना भाइरसको प्रवेश रोक्न भन्दै गरेको सीमा बन्द भएको वर्ष दिन पुग्यो । यसबीचमा उपभोग्य वस्तु मात्र होइन मानिसको आवागमन असहजताकाबीच भइरहेको छ । सरकारले धेरैजसो सीमानाका खुल्ला गरिसकेको छ, तर पूर्व–पश्चिम महेन्द्र राजमार्गले जोड्ने पूर्वीनाका काँकरभिट्टा भने अझै खुल्ला गरिएको छैन ।

नेपाली आर्थिक, सामाजिक, सांस्कृतिक जीवन भारतसँग अन्योन्याश्रित जस्तै भइसकेको छ । यो सम्बन्ध आजको पुस्ता वा सरकारले जोडेको भने होइन । परापूर्वकाल अर्थात् लिच्छवीकाल र त्यसअघि किरातकालमा समेत नेपाल र भारतीबीच सबै प्रकारको सम्बन्ध कायम थियो भने सन् १९५० मा दुई देशबीच भएको मैत्रीसन्धिले सम्बन्धलाई औपचारिक र वैधानिक बनाएको थियो । त्यसयता यी दुई देशबीच व्यापारिक सम्बन्धले थप प्रगाढता ल्याएकै हो र नवीन सम्भावनाको खोजी पनि गराएकै थियो । तर, गत वर्ष शुरु भएको कोरोना महामारीका कारण आवागमन बन्द गर्ने उद्देश्यले चीन र भारतसँग सीमा जोडिएका मूल मार्गहरु बन्द गरिए । तिनमा केही मुख्य नाका आजसम्म बन्द छन् । जसका कारण खासगरी नेपालतर्फका सीमावर्ती बस्ती, बजार र शहरहरुको जनजीवन प्रभावित भए जो आज पनि यथावत छ ।

सरकारले अत्यन्त निकट र हितैषी भनेको चीनले आफ्नो सीमानाका अहिले पनि पूर्णरुपले सुचारु गरेको छैन । नेपाल बाहेकका विश्वबजारमा प्रभाव विस्तार र व्यापारिक गतिविधि बिना अवरोध सुचारु गरिरहेको चीनले नेपालको मुख्य नाकामात्र होइन पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला सीमानाका सोह्र महिनादेखि बन्द राखेको छ । त्यस्तै टिप्ताला नाका पनि कोरोनाकै जोखिम देखाउँदै बन्द गरियो । अत्यन्त विकट ग्रामीण क्षेत्रका नेपालीको दैनिक उपभोग्य वस्तु प्राप्त गर्ने र पहुँच भएको चिनियाँ बजार बन्द हुँदा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोप्केगोलाबासी नेपालीको जीवन कष्टकर बन्दै गएको छ । तर, सरकार जनताको कष्टप्रति गम्भीर भएको देखिँदैन । नाका बन्द हुँदा याङ्मा, घुन्सा, फले समेतका बासिन्दाले आफ्नो उत्पादन बेच्न र उपभोग्य वस्तु खरिद गर्न समस्या व्यहोर्नु परेको छ । तराईकै झापाको काँकरभिट्टा नाका पनि सहज नहुँदा निम्न तथा मध्यवर्गीय सीमा क्षेत्रबासी नेपालीको जीवन कष्टकर भइरहेको छ । जनप्रतिनिधि भनिने सरकारको जनताको जीवनसँग जोडिएका यस्ता समस्याको समाधानमा मुख्य अग्रसरता देखिनुपर्छ । अन्यथा जनप्रतिनिधि हुनुको अर्थ रहँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here