सरकारको निर्देशन स्थानीय तहद्वारा अवज्ञा

0
1095

झापा ।

संघीय सरकारको निर्देशन झापाका केही स्थानीय तहले अवज्ञा गरेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वातावरणीय प्रदूषणका कारण बिद्यालय बन्द गर्ने निर्णय गरेता पनि झापाका अधिकांश पालिकाले संघीय सरकारको निर्देशनको अवज्ञा गरेका हुन् ।

वातावरण प्रदूषणका कारण बालबालिकामा पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सरकारले मंगलवारदेखि चैत २० गतेसम्म देशभरका शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । तर, बिर्तामोड, मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकासहितका स्थानीय तहले संघको निर्देशनको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका छन् ।

मेचीनगर नगरपालिकाले संघको निर्देशनको अवज्ञा गरेको भन्दै मेचीनगर–७का ज्ञानेन्द्र निरौलाले जिल्ला प्रशासन कार्यालय झापामा लिखित उजुरी नै दिएका छन् । उजुरीको बोधार्थ शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय झापालाई दिइएको छ । उजुरीसँगै सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न सम्बन्धित पालिकालाई पत्राचार गरेको बताइएको छ ।

संघीय सरकारको निर्देशनको अवज्ञा गर्दै बाह्रदशी गाउँपालिकाले पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले हालसम्म बाह्रदशी गाउँपालिका क्षेत्रभित्र प्रतिकूल वातावरणीय अवस्था नदेखिएकाले विद्यालय सुचारु गर्ने निर्णय गरेको छ ।

शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ– कोभिड–१९ कारण शैक्षिक क्षति व्यहोरिरहेको अवस्थामा भर्खरै मात्र विद्यालयको पठनपाठन सुचारु भइरहेको हुँदा यस गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था चैत १८ गतेदेखि पूर्ववत् सुचारु हुने जानकारी गराइन्छ ।

उता अर्जुनधारा नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिए पनि नगरका निजी विद्यालयले निर्णय मानेका छैनन् । ‘बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर शिक्षा मन्त्रालयले बिद्यालय बन्द गर्न भने पनि झापाका केही बिद्यालयहरु सञ्चालनमा आएको सुन्नमा आएकाले तत्काल निर्णय कार्यान्वयन गरी बिद्यालय बन्द गर्न पालिकाहरुलाई पत्राचार गरेका छौं– शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताए । उनले भने– सरकारको निर्णय मान्दिनँ भन्न पाइँदैन, सरकारले विज्ञहरुसँगको छलफलबाटै यो निर्णय गरेको हो, त्यसैले कार्यान्वयन गर्नै पर्छ ।’

स्थानीय तह ‘आफैं सरकार हुँ’ भन्नेमा छ, त्यही भएर स्थानीय तहले संघीय सरकारको निर्णय मानेका छैनन् तर भोलि हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न उनीहरुले के उपाय अपनाएका होलान् सोच्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here