अव्यवस्थित कृषिथोक बजारको रुप नयाँ समितिले सुधार गर्ला ?

0
951

वीरबहादुर दर्नाल
बिर्तामोड ।

पूर्वी नेपालको राजनीतिक तथा व्यवसायिक केन्द्र बिर्तामोड नगरको कृषिथोक बजारले हालै नयाँ नेतृत्व पाएको छ ।

बिर्तामोड वडा नम्बर ५ स्थित कृषि उपज केन्द्र विगत १० वर्षदेखि नेतृत्वविहीन थियो । कृषिथोक बजार अव्यवस्थित बन्नुमा नेतृत्व विहीनता पनि एउटा कारण मानिएको थियो । बिर्तामोड, अर्जुनधारा, कनकाई, भद्रपुर र मेचीनगर नगरपालिका तथा हल्दिबारी, बाह्रदशी र बुद्धशान्ति गाउँँपालिकाका किसानहरुको प्रतिनिधित्व गर्दै तीन वर्षे अवधिका लागि कमलप्रसाद पौडेल बजार सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । आफूले जिम्मेवारी पाएसँँगै पूर्वकै व्यापारिक केन्द्र बनेको कृषिथोक बजारलाई व्यवस्थित बनाएर नेपाल कै नमूना कृषि उपज केन्द्र बनाउने अध्यक्ष पौडेलले दाबी गरेका छन् । विशुद्ध किसान र उपभोक्ताको बजार बनाउनेमा आफ्नो मुख्य पहल रहने उनको भनाइ छ ।

कृषि उपज बजार स्थलमा माछा, मासु, हरियो सागसब्जी लगायतका तरकारीजन्य उत्पादनको बिक्री वितरण हुने गर्दछ । करिब एक हजार हाराहारी व्यवसायीहरुको कार्यक्षेत्र रहेको यो पूर्वकै ठूलो कृषि बजार हो । स्थानीय तथा बाह्य क्षेत्रका नागरिकले यहाँ भरपर्दो रोजगारी पाएका छन् । बिर्तामोडमा शहरीकरण हुँदै गर्दाको समयमा अर्थात् आजभन्दा ५० वर्षअघि दानबाट प्राप्त चार विगाह जमिनमा कृषिथोक बजार रहेको छ । कृषि विज्ञ समेत रहेका राजनीतिक तथा समाजसेवी स्वर्गीय रामबाबु प्रसाईले कृषिजन्य उत्पादनको सहज बिक्री–वितरण होस् भन्ने उद्देश्यले सो जमिन दिएका थिए ।

शुरु–शुरुमा बिर्तामोड र त्यस वरपर गाउँका किसानले उत्पादन गरेका कृषिजन्य बस्तु बिक्री गर्ने र आसपासका उपभोक्ताहरुको मात्र सो बजारमा बढी चहलपहल हुने गर्दथ्यो । सामान्य पूर्वाधारमा सञ्चालित कृषिथोक बजारको चाप बढेर अहिले झापा जिल्लामात्र होइन, पूर्वी पहाडी जिल्लाहरुको पनि थपिएको छ । सँगसँगै भारत तथा बंगालादेशका उत्पादनहरुको लागि पनि यो महत्वपूर्ण बिक्री केन्द्र बनेको छ ।

पहिले सामान्य भौतिक संरचना र योजनामा बनेको बजारले नयाँ माग र चापलाई धान्न नसकेको वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको पनि बुझाई छ । पर्याप्त जग्गा भएर पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा बजार अस्तव्यस्त बनेको हो । लामो समयसम्म जनप्रतिनिधि नहुनु र बजार समिति पनि अस्तित्वमा नहुँदा कृषि बजार अव्यवस्थित बनेको वडाध्यक्ष लिङ्देन प्रष्ट पार्छन् ।

कृषिथोक बजार क्षेत्रमा कुहिएका, बिग्रिएका सागसब्जीले जताततै फोहोर बनेको छ । बजार क्षेत्रमा व्यवस्थित शौचालयको अभाव छ भने ढल निकास तथा फोहोर व्यवस्थापन नहुँदा बजार दिनदिनै दुर्गन्धित बनेको छ । कृषि बजारमा अति नै दुर्गन्ध बढ्दै गएपछि व्यवस्थापनका लागि धेरै पटक स्थानीयले गुनासो समेत नगरेका होइनन् । तर, यसको उचित सम्बोधन अहिलेसम्म भएको छैन, रञ्जना ट्रेडर्सका प्रोप्राइटर युवराज काफ्लेको भनाई छ । बढ्दो दुर्गन्धका कारण बजार वरपरका क्षेत्रमा हैंजा पैmलिने र स्वास्थ्य प्रतिकूल बन्ने डरले धरै उपभोक्ताहरु सो क्षेत्रमा हिँड्न समेत डराउँछन् भने किनमेल गर्नेहरु पनि नाक थुनेर हिँडडुल गर्न बाध्य छन् ।

यस्तो प्रतिकूलताका माझ नेतृत्व सम्हालेका पौडेलले यसको समुचित व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेका छन् । उनको अल्पकालीन योजना अनुसार फोहोर मैला व्यवस्थापन, ढल निकास, विषादी परीक्षण, किसान र व्यापारीहरुको लगत संकलन, निरन्तर अनुगमन, कार्यालय व्यवस्थापन तथा बजेटिङ जस्ता कार्यहरु पर्दछन् । यी विषयहरुलाई आउँदो असार मसान्तसम्म सम्पादन गरी सक्ने पौडेल नेतृत्वको समितिको योजना छ ।

त्यसैगरी बजार स्थलमा सीसी क्यामेरा जडान, घर–टहरा पुनःनिर्माण, कम्पाउण्ड बाल निर्माण आदिलाई पौडेलले मध्यकालीन योजनामा पारेको बताएका छन् । त्यस्तै चिस्यान केन्द्रको निर्माण, सवारी पार्किङ स्थल, लोडिङ–अनलोडिङ जस्ता कामहरु तेस्रो चरण अर्थात् दीर्घकालीन योजनामा राखेर कृषि बजारलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको अध्यक्ष पौडेलले बताए ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी हरियो तरकारीको बिक्री केन्द्र कृषिथोक बजारमा पछिल्लो समय बढ्दो विषादीलाई कम गरी आफूले चार प्रतिशतमा झारेको दाबी गर्छन् । बजारलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरको बनाएर सञ्चालन गर्न सकेमा यसबाट अझ धेरै आम्दानी भित्र्याउन सकिने नगर प्रमुख शिवाकोटीको धारणा छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले आश्चर्य व्यक्त गर्दै भने– ‘कृषिथोक बजार यतिसम्म अव्यवस्थित रहेछ कि यति बहुमूल्य जग्गादान दिने व्यक्तिको एउटा फोटोसम्म कार्यालयमा राखेको पाइएन ।’ आप्mनो कार्यकाल सकिएर जाँँदै गर्दा जग्गादाताको शालिक निर्माण गरेर उहाँको योगदानको उच्च सम्मान गर्नमा बिर्तामोडबासी चुकेनन् भन्ने एउटा उदाहरण समेत पेश गर्ने योजना रहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here