बालबालिकालाई संस्कार र संस्कृति सिकाऔं

0
1092

पढ्न र सिक्न हाम्रा बालबालिकालाई विद्यालय पठाउँछौं । पढ्ने र सिक्ने औपचारिक थलो पनि त्यही नै हो । हाम्रा छोराछोरी पढाइमा तेज हुन्, अब्बल हुन्, अझ अहिलेको हाम्रो माग भनेको छ अंग्रेजीमा फरर हुन् । हामी अभिभावकले बुझेको शिक्षा यही हो । हाम्रा नानीहरु स्कूल, कलेजमा पढेको पाठ्यक्रममा, विषयवस्तुमा क्षमतावान् भइ दिए भने हाम्रो मन भरिन्छ । तर, विद्यालयको औपचारिक पढाइ र घरको संस्कार र संस्कृतिको अनौपचारिक सिकाइबीचको अन्तर बुझ्न कञ्जुस्याइँ गर्यौं हामीले । जसले गर्दा औपचारिक शिक्षामा अब्बल बनाइएको हाम्रो नानी व्यवहारिक र सांस्कृतिक पक्षमा कति पछि परेको छ , र पुस्तौंपुस्तासम्म यसको कस्तो प्रभाव पर्दै जान्छ भन्नेबारे कहिल्यै सोचेनौं ।

सिकाइका विभिन्न ठाउँ छन् । यसमध्ये विद्यालय एक हो । अरु ठाउँको भन्दा विद्यालयमा गरिने सिकाइ बढी प्रभावकारी र औपचारिक हुन्छ । यथार्थ यही हो । किनभने विद्यालयमा विद्यार्थीले धेरै समय बिताउँछ सिकाइको लागि । त्यहाँ सिक्ने र सिकाउनेसँग नजिकको सम्बन्ध स्थापित हुन्छ र त्यो औपचारिक पनि हुन्छ । घण्टा, घण्टी, रुटिन, परीक्षा, नतिजा, पास र फेलका प्रावधानले विद्यालयको सिकाइ औपचारिक हुन्छ । त्यहाँको सिकाइ बढी प्रभावकारी हुन्छ । यो सिकाइ सिकारुको जीवनको एउटा पाटो हो । तर, सिंगो जीवनको पाठ सिकाउने स्थल चाहीँ विद्यालय मात्र होइन र त्यहाँको सिकाइले जीवन पूर्ण हुन्छ भन्ने चाहीँ होइन । विद्यालयमा सिकारुको जोड केबल पाठ्यक्रम मात्र हुन्छ ।

जीवनका व्यावहारिक पक्ष, परिवार, समाज, परम्परा, संस्कार र संस्कृति जस्ता विषय विद्यालयमा विद्यार्थीले केबल गणीयत अर्थ अर्थात् नतिजामा पास र फेलको सवालमा नै बढी केन्द्रित भएको हुन्छ । सिक्छ÷सिकाइन्छ, तर व्यवहारिकताको लागि भन्दा पनि त्यो सिकाइ नतिजा प्रकाशन भएको बेला उसले पाउने ग्रेडसीटको ग्रेडपोइन्ट अर्थात् अंकभारसँग सम्बन्ध राख्छ । र, अभिभावकले पनि यो बुझ्दछ कि मेरो बच्चाले कतिसम्म उच्चतम् अंक वा पोइन्ट पाएर उत्कृष्ट भयो नकी कति व्यवहारिक र सांस्कृतिक शिक्षा ग्रहण गर्यो भन्नेमा किमार्थ चासो देखिँदैन । त्यसैले विद्यालयको सिकाइ मात्र व्यवहारिक जीवनका लागि पूर्ण हुन सक्दैन, यसको लागि बच्चाको परिपुरकका लागि परिवारको ध्यान जान आवश्यक छ ।

आजका बालबालिका भविष्यका मूल आधार हुन् । उनीहरुलाई वर्तमान र भविष्य जतिकै विगत पनि आवश्यक छ । इतिहास सिकाइनुपर्छ, जुन अहिले आधार हो । उनीहरूका पक्षमा सकारात्मक, सिर्जनात्मक र व्यवहारिक दिशानिर्देशका साथ सहज वातावरण काम गर्न र गराउन पनि संस्कार र संस्कृति र नैतिकताको पाठ सिकाउन आवश्यक छ । संस्कृति र नैतिकताको पाठ सिकाउन नसक्दाका धेरै दुष्परिणाम अहिलेको समाजले भोग्न थालेको छ । हजारौं बाबु–आमा चिन्तित बन्नु परेको छ । समाजमा अनैतिकताको बीज अंकुरण हुन थालेका कैयौं उदाहरण देख्न, सुन्न र भोग्न थालिएको छ । उचित स्याहार–सुसार, मार्गनिर्देशन, सिकाइ र मानसिक तथा शारीरिक उन्नतिबाट वञ्चित बालबालिकाबाट भविष्यमा परिवारले र राष्ट्रले कुनै ठूलो अपेक्षा गर्न सम्भव छैन । बालबालिकालाई संस्कार दिन सकिएन भने व्यवहारिक शिक्षा परिवारले नै दिन सकेन भने देश, समाज र परिवारका लागि तिनै बालबालिका बोझ, बाधक र कलंक बन्न सक्छन् ।

देश, समाज र परिवारका मुख्य आधार हाम्रा छोराछोरी, बालबालिकाको चौतर्फी हित र विकासको लागि हामीले नै दूरदर्शी चिन्तन र सोचका साथ व्यवहारिक शिक्षा सिकाइमा जोड दिनुपर्छ । घरको सिकाइ अभियान हाम्रो लागि महत्वपूर्ण छ । बालकले नैतिकताको पाठ सिक्ने अवसर घरबाटै पाउनुपर्छ । विगत सिक्ने पहिलो पाठशाला घर हो । अभिभावक शिक्षक हुन् । जहाँ बालकले आफ्ने पुस्ताको इतिहास पढोस् र सिकोस् । नैतिकता, मानसम्मान, घरेलु जीवनका सम्पूर्ण अध्याय सिक्दै जाओस् जसले औपचारिक शिक्षालाई आधार बनाएर शिखर पुग्न सकोस् । यसको लागि घर–परिवार, विद्यालय, समाज र राज्य सबैतिरबाट यथोचित प्रयास थालिनुपर्छ । बाल पुस्ताप्रति बेलैमा सचेत र सजग हुन सकेनौँ भने भविष्यमा उनीहरूबाट अपेक्षित प्रगति असम्भव हुन सक्छ । नैतिकताको खडेरी पर्न सक्छ । संस्कार, संस्कृति र सभ्यता ओझेलमा पर्न सक्छन् जसको अभावमा देश प्रेम र देशभक्ति एकादेशका कथा हुन सक्छन् ।

हाम्रो समाजमा अहिले बालबालिकालाई सुनाउने, सघाउने, सिकाउने वा बुझाउने कुरामा कञ्जुस्याइँ हुन लागेको छ । प्रविधि र व्यस्तताको बहानामा हामी अभिभावक नै कतै बालबालिका प्रति अन्याय त गरिरहेका छैनौं ? किन यस्तो भएको हो, यसले हामीलाई कुन मोडमा पु¥याउँछ ? यी अनुत्तरित प्रश्नले हामीलाई कुन मोडमा पुर्याउला ? हामी सिकाउन, बुझाउनवा बाटो देखाउनतिर अग्रसर बन्न सकिरहेका छैनौं । यो चिन्ताजनक पक्ष हो । सिकाइ भनेकै पाठ्यपुस्तक हो, यति सिकेपछि पुग्छ भन्ने हाम्रा अदूरदर्शी सोचका कारण बालबालिका सांस्कृतिक र व्यवहारिक सिकाइबाट वञ्चित भइरहेका छन् । बालबालिकालाई देशको निर्माण, वीरहरूको योगदान, पितापुर्खा, बाजे–बराजु, पारिवारिक स्थिति, आफन्त र इष्टमित्रका बारेमा पर्याप्त जानकारी दिने काम गरिनुपर्छ । यसो नभएकै कारण पारिवारिक विखण्डन र व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको छ । हामीले सन्तान दरसन्तानलाई देश र पितापुर्खा चिनाउन सकेनौं भने भावी दिनमा हाम्रो राष्ट्रियता, पहिचान गौरव र इतिहासको गोरेटो मेटिन सक्छ ।

हाम्रा बालपुस्ताले सिक्नुपर्ने कुरा धेरै छन् । सिकाउने हामी अभिभावक नै गम्भीर छैनौं । हामी अभिभावकहरू सबै कुराको आशा विद्यालयबाट मात्र गरिरहेका छौं । सन्तानलाई विद्यालय प्रवेश गराएपछि आफ्नो कर्तव्य पूरा हुन्छ भन्ने सोचाइबाट माथि उठ्नुपर्छ । बालबालिकालाई विद्यालय पठाएपछि सबै थोक सिक्छन्, जान्दछन्, बुझ्छन् र परिपक्व हुन्छन् भन्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ । सिक्नु र आवश्यक कुरा सिक्नुमा ठूलो अन्तर छ । यो अन्तर नबुझेसम्म हामी असल अभिभावक बन्न सक्दैनौं ।

सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो र यसको औपचारिक समापन कहिल्यै हुँदैन । समय र परिस्थिति अनुसार सिकाइ हुने भएकाले एकै उमेर वा बसाइँमा सिकाइ सकिँदैन । यसका लागि धैर्य र निरन्तरताको आवश्यकता पर्छ । निरन्तर सिकाइ परिवारबाट मात्र सम्भव छ । यो सिकाइ नै जीवनोपयोगी हुन सक्छ । सन्तानले जीवनका सही बाटो नसमाएसम्म कुनै पनि अभिभावकको कर्तव्य पूरा हुँदैन । तर, आजका अभिभावकको दैनिकी व्यस्तता र पैसासँग जोडिएको छ जसले जीवन चुर्लुम्म डुबेका छन् । पैसा भएर पनि दुःखी हुनेहरू हामी नै हौं । हाम्रो ध्यान यतातिर जानु आवश्यक छ । तर, हामीले यो पाटोलाई समात्न सकिरहेका छैनौं । त्यो पाटोलाई नसमाएसम्म हामी गन्तव्यहीन बनिरहने अवस्था यथार्थ हो ।

बालबालिका असल, व्यवहारिक, जीवनोपयोगी र सान्दर्भिक सिकाइको माध्यमले मात्र जीवनमा सफल हुन सक्छन् । सिकाइ विद्यालयको अलावा घर, परिवार, समाज, सम्प्रदाय र संघ–संस्थाहरूबाट पनि हुन्छ भन्ने कुरा बिर्सन हुँदैन । तर, मानिसहरू यो बाटोतिर प्रवेश गर्न सकिरहेकै छैनन् । परिवार र सन्तानको दायित्वबाट क्रमशः विमुख बन्दै गएको हाम्रो संस्कार परिवर्तन गर्न आवश्यक छ । आधुनिक प्रविधिको प्रयोग सही तरिकाले हुन नसक्दा हामीले हाम्रा बालबालिकालाई निकक्मा बनाइरहेका छौं । हाम्रै बेफुर्सदीले बालबालिकाको सिकाइमा गम्भीर असर परिरहेको छ ।

भविष्यमा देश चलाउने खम्बा सक्षम पार्न आजैदेखि अभिभावकले योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक छ । उनीहरूलाई सबल र सक्षम बनाउनु नै देशको जगमा इँटा थप्नु हो । कमजोर जग कुनै पनि क्षण ढल्न सक्छ अनि परिणाम दुःखद् पनि हुन सक्छ । बलियो जगको आडमा मात्र असल र राम्रा काम गर्न सकिन्छ । बालबालिका परिवार, समाज र देशका जग हुन् । उनीहरूलाई बलियो, सक्षम र धारिलो बनाउन संस्कार र संस्कृतिको पाठ पढाउन आजैबाट थालौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here