
नेपाली साहित्यको उपन्यास भण्डारमा अर्को कोशेली थपिएको छ । त्यो कोशेली हो साहित्यकार ‘राजेन्द्र सङ्ग्रौला’को नयाँ उपन्यास ‘सङ्क्रमण’ । विश्व मानव समुदायका लागि अहिलेसम्मकै सबैभन्दा डरलाग्दो विपत्ती भएर देखिएको ‘कोरोना भाइरस’ले निम्त्याएको त्रास अर्थात ‘मनोविज्ञान’ नै सुन्दर उपन्यास बनेर पाठक समक्ष आएको छ ।
कोरोनाकाल लम्बिँदो छ । अर्को लहर शुरु भइरहेको छ । यसबीच धेरै धेरैले धेरै कुरा लेखे होलान् । तर, संङ्क्रमण उपन्यास जस्तो सायदै लेखिए होलान् । झ्याम्मै कोरोना भाइरसको कहर शुरु हुनु र आपूmलाई पनि कोरोना भाइरसका बिरामीमा हुने लक्षण देखिएपछि कस्तो मनोदशा हुन्छ होला ? परिवार र आफन्तमा पर्ने त्रास कस्तो हुन्छ होला ? त्यसबाट बच्न गरिएका उपायहरु नै सङ्ग्रौलाका उपन्यासमा रोचक ढंगले समेटिएका छन् । जसले आम नेपाली मात्र होइन विश्व मानवहरुकै दैनिकी र मनोविज्ञान उजागर गर्न सक्षम देखिएको छ यो उपन्यास । उपन्यासको प्रमुख पात्र उपन्यास लेखक ‘राजेन्द्र सङ्ग्रौला’ स्वयम् हुन् । साथमा जीवन संगिनी, छोराछोरी, परिवार, नातागोता, छरछिमेक, साथी–संगती, शुभचिन्तक जोडिएका छन् । अर्का महत्वपूर्ण पात्र लेखक सङ्ग्रौलाकी ममतामयी आमा हुन् ।
उपन्यासको विषय शुरु हुन्छ वि.सं. २०७६ चैत्र ११ अर्थात् नेपालमा कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनको पहिलो दिनको दैनिकीबाट । भाइरस संक्रमणको लक्षण देखिएको विश्वासमा यहीदिनदेखि घरमै सेल्फ क्वारेन्टाइनमा बसेर लकडाउनको पूर्ण पालना गरेका छन्– प्रमुख पात्रले । र, उपन्यास सकिन्छ, मातातीर्थ औंशी अर्थात २०७७ बैशाख ११ गते एक महिना अवधिमा । यसैदिनबाट उपन्यासका प्रमुख पात्र सङ्ग्रौलाले क्वारेन्टाइन र लकडाउन तोडिदिएका छन् । मातातीर्थका दिन माताको दर्शन र आशीर्वादले कोरोना भाइरस संक्रमणको लक्षण दूर हुने विश्वासमा उनले स्वयम्लाई बन्धनबाट बाहिर निकाल्दै उपन्यासको बीट मारिदिएका छन् । हो तिनै महिनादिनभित्रका दैनिक कथा नै यस उपन्यास हो । त्रास, उपाय र आशाहरु उपन्यासमा सलल बगेका छन् ।
सदा बिहानको तीन बजे उठ्ने राम्रो बानी परेका प्रमुख पात्र राजेन्द्र सङ्ग्रौला चैत्र ११ गते पनि पनि सोही समयमा उठ्दछन् । उज्यालो हुँदासम्ममा बाहिर सुनसान भइसकेछन् । मानिसहरु घर बाहिर निस्किए पनि सामाजिक दूरी कायम गर्न थालि सकेछन् । साइरन बजाउँदै प्रहरीहरु गस्ती शुरु गर्न थालिसकेछन् । बजारका पसलहरु अब खुल्न छाडेछन् । घर बाहिर निस्केका प्रमुख पात्र सङ्ग्रौलालाई शुभचिन्तकहरुले विश्वको परिदृष्य दर्शाउँदै कोरानाबाट जोखिन सल्लाह दिन्छन् ।
दुई महिनादेखि लाग्दै आएको खोकी निको भएर पनि पुनः शुरु हुनुलाई कतै कोरोनाको लक्षण हो की ? भनी घरकै एक कोठामा प्रमुख पात्र सङ्ग्रौला सेल्फ कवारेन्टाइनमा बस्न शुरु गरेका छन् । घरका सबैका मनमा एक प्रकारको त्रास पैदा भएको छ । जीवनसंगिनी र छोरीहरुले बढो होशियारीपूर्वक सजगता अपनाउँदै औषधि खान सम्झाउनेदेखि, तातो पानी, खानाको व्यवस्था शुरु गर्दछन् । अमेरिका लगायत विदेशमा र स्वदेशमा रहेका नातेदारहरुले भिडियो कल गरेर हालचाल सोध्दै सल्लाह दिन्छन् । पछिल्ला दिनहरुमा नातेदारहरुसँगको कुराकानीको क्रम बाक्लिँदै जान्छन् । आ–आपूm रहेका ठाउँका परिदृष्य बताउँदै सल्लाह सुझाव दिने क्रम सघन हुँदै जान्छन् ।
प्रमुख पात्र सङ्ग्रौला छट्पटिँदै घर बाहिर आँखा डुलाउँछन् । सडकमा गाडीहरु गायब छन् र मास्क लगाएर मानिसहरु साइकलमा एक्कादुक्का हुँइकिरहेका छन् । कतै टाढा प्रहरीको गाडीको साइरन सुनिन्छन् । सञ्चामाध्यमहरुले कोरोना कहरबारे फुकिरहेका सुनिन्छन् ।
लक्षणसँग मेल खाएकामा प्रमुख पात्र चिन्तित् हुन्छन् । टेलिभिजन हेरिरहेका नाति–नातिनी हेर्दै प्रमुख पात्र आफू फ्याट्टै मरेँ भने यिनीहरु के गर्लान् ? भन्ने सोचमा पुग्दछन् । वि.सं. २०३१ मा निमोनिया महामारीले अरु धेरैको मृत्यु भए जस्तै आफ्नै पाँच वर्षे भाइ र दुइ वर्षे बहिनीको मृत्युको क्षण सम्झन पुग्दछन् । डाक्टर आएर सामाजिक दूरी कायम गर्दै झ्यालबाट थर्मोमिटर छिराएर जाँच्छन् र दवाई लेखिदिएर जान्छन् । घरकाहरुले जाउलो, पानी पनि टाढै राखिदिएर जान्छन् । आपूm गएका ठाउँकालाई केही पो भयो कि भनेर प्रमुख पात्रलाई डिप्रेसन जस्तो महशुस हुन्छ । कान्छी बहिनी भिडियो कलमा भन्छिन्– ‘विदेशीहरुले नेपालमा कोरोना भित्र्याए । घर बाहिर ननिस्कनु, प्रहरी थानामा ठिङ्गुरिनु पर्ला ।’
प्रमुख पात्र टोलको हालचाल पनि बुझ्दछन् । टोलमा रहेका दैनिक मजदुरी गरिखानेहरुबारे मजदुरहरुबारे चिन्ता गर्छन् । चंखुबुढो, कुर्मीमाइला, दलवीर सतार, कुन्ते भुजेलबारे चिन्ता गर्छन् । लकडाउनले निम्त्याएको गर्जो टार्न चतुरीले सात हजारमा बोको बेचेको खबर लगायत विविध पक्ष बडो रोचक ढंगले लेखेका छन् उपन्यासमा ।
आम मानिसहरुको पनि दैनिकी यस्तै गरी बितेका छन् । अनिश्चितता, एकातिर कोरोना र दुईछाकको त्रास, अर्कोतिर प्रशासन र स्थानीय सरकारको डण्डाको त्रास । केबाट मात्रै जोगिनु र के–के मात्रैको जोहो गर्नु ? आपतमा मानिसहरुले बिचित्र–बिचित्र किसिमले आ–आफ्ना लागि केही बन्दोबस्त र सुरक्षा गर्दा रहेछन् । छेपाराले रङ्ग फेर्छ भन्छन्, तर आपतमा मान्छेहरुले नै रङ्ग बदल्दा रहेछन् । पदासीन र पहुँचवालाले राष्ट्रको स्रोत र साधनको भरपुर दुरुपयोग गर्दारहेछन् । गरीबहरु भोकै र अलपत्रै पर्दा रहेछन् ।
यस उपन्यासको अर्का प्रमुख महत्वपूर्ण पात्र अर्थात् प्रमुख पात्र सङ्ग्रौलाकी ममतामयी आमाले विगतका महामारीबारे फोनमा प्रमुख पात्रलाई विभिन्न मितिमा सुनाएका श्रृंखलाबद्ध कथा, महामारीले दिएको दुःख र क्षतिका प्रसंगहरु निकै मनछुने र मार्मिक लाग्दछन् । यसरी कोरोना दैनिकी चल्दै जान्छ । प्रमुख पात्र बिरामी भएका कतिलाई थाहा छ, कति थाहा छैन । बिरामी भएको थाहा पाउँदा कतै कोरोना नै त भएको होइन ? भन्ने आफन्त र इष्टमित्रहरुको चिन्ता, सल्लाह, व्यबहार र मनोविज्ञान बडो रोचक लाग्दा छन् ।
यो उपन्यास जीवन संघर्षको एउटा रोचक कथा पनि हो । विशेषगरी पूर्वी नेपालको जीवन संघर्ष झल्कन्छ यस कृतिमा । लेखक स्वयम्का परिवारको पहाडदेखि तराईसम्मको संघर्ष कथा लेखिएका छन् । सो कथासँग धेरै–धेरैको बुहार्तन मेल खान सक्छन् र आफ्नै कथा सम्झेर विगतमा डुब्न र आनन्द लिन सक्छन् । यस उपन्यासमा थुप्रै समसामयिक विषयहरु पनि समेटिएका छन् । स्रष्टा सङ्ग्रौलाको अध्ययन, अनुभव र विचारहरु यस उपन्यासमा पोखिएका छन् ।
यो उपन्यासले सुदूर भविष्यसम्म ठूलो महत्व राख्ने देखिन्छ । डायरी लेखन जस्तो लागे पनि यो उपन्यास कोरोनाकालको आम नेपालीको दैनिकी, व्यवहार र मनोविज्ञानको दस्तावेज भन्न सकिन्छ । जसलाई साहित्यकार राजेन्द्र सङ्ग्रौलाले लेख्ने जाँगर चलाए । वास्तवमा यो एउटा त्रासदीको अनुभूति हो । जो यस उपन्यासमा सुन्दर अक्षरहरुको रुपमा रेकर्ड भएका छन् । यो उपन्यास एक इतिहास पनि मान्न सकिन्छ । भविष्यका पुस्ताले आजका पुस्ताले भोगेका विपत्तीबारे जान्ने छन् र मार्गदर्शन पाउने छन् ।
प्रगतिशीलता र सामाजिक यथार्थवादमा आधारित रहेर उपन्यास लेख्ने संङ्ग्रौलाका यसअघि छ वटा उपन्यास प्रकाशित भएका छन् । थुप्रै सम्मानहरुबाट सम्मानित स्रष्टा सङ्ग्रौला सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् । प्रगतिशील लेखक संघ झापाका अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक तथा साहित्यिक संघ–संस्थामा आबद्ध भइ समाजसेवामा समर्पित छन् । उनको रोचक उपन्यास ‘संक्रमण’ पढ्ने जिम्मा पाठकवर्गमा ।


























