व्यंग्यनारान पाँडे,
चिलिम फर्किसकेको राजाकाल–राणाकालतिरका श्री ५—श्री ३ हरू र तिनका हनुमान–चालिसे सक्कली–नक्कली रजौटाहरूलाई दश कदम उछिनेर देशको श्रोत र दान–दातब्य मरक्मरक् उग्राइरहेका एमालेहरूको सरकारी चाहिँ मौजाको जिम्मावाल हूँ भनेर उफ्रीपाफ्री गरिहिँड्नेमध्ये अहिले हरिराम पनि गन्तीमा आउन थालेका छन् । ‘हिँज्आज म अग्रज कम्रेट गर्दैछु’ भन्ने ढ्याङ्रो ठोकेर र स्थानीय सादा–सीधादेखि सस्याना व्यापारी–पैकारीका निम्ति बुख्याँचा बनेर उदाएका हरिराम ‘सरकार’ वा ‘सरकारी’ शब्द सुन्नासाथ पिघ्रा कमाउनुपर्ने यो वर्तमानमा अन्तरआतङ्को पात्र बनिसकेका छन् भूइँ जनताका माझ ! ‘कहिले सासूको पालो–कहिले बुहारीको पालो नि हओ, कस्तो कुरो नबुज्या ?’ भन्दै ढ्याँस पिट्न थालेका छन् हिजो–आज !…
पहिला क्या त, ढुङ्गा खाए पनि पचाउन सकिने उमेरमा अथवा कुखुराको सुली बाङ्गोटिङ्गो देख्ता पनि हाँस उठ्ने उमेरमा म एक माम्लामा निकै चक्चके थिएँ र मेरा बाले मेरा गाला रन्काइरहनु पथ्र्यो । त्यसबेला अहिलेका यिनै कमरेड हरिराम केवल ‘हरिराम पुरेत’ मात्र थिए । यिनै हरिरामकी हाल गर्भिणी गुजराँती भैंसी जस्ती एक्ली छोरी मनकुमारी पनि त्यतिखेर मटन मरेकी पठेक्री वा कोरली थिई, अत्यन्त चञ्चली र हेरेर धित नमर्ने—अर्थोक नसोचूँ भन्दा पनि मन नथामिने ! त्यसबेला कसो–कसो सिक्वेन्स मिलेर त्यससँग मेरो वा मसित त्यसको अथवा हामी दुईको सम्बन्ध नङ र मासु अथवा मासु र नङकै जस्तो थियो । यो कुरो त्यसलाई र मलाई अनि अलिअलि हरिरामकी अद्र्धबाठी बज्यैलाई मात्र थाहा थियो भनम् न । हाम्रो त्यस्तो सम्बन्ध, मैले जानेसम्म, साहित्यकारहरू शंकर लामिछाने र पारिजात (विष्णु वाइबा)–का बीचमा मात्र थियो भन्ने सम्झिँदा मलाई गर्व लाग्छ ।
लामिछाने र पारिजातको त्यस्तो कस्तो सम्बन्ध थियो भन्ने जान्न तपाईंलाई पनि कुत्कुति लाग्यो भने— ती क्या त जापानी उपन्यासकार अस्मो दजाइको अङ्रेजीमा अनुदित उपन्यास ‘दि सेटिङ सन’–लाई नेपालीमा अनुवाद गरेर ‘शिरीषको फूल’ बनाएकी छन् पारिजातले । त्यसको भूमिकामा शंकर लामिछानेले लेखेका छैनन् त ? हन ‘दाम खामेको खाम’ रिपोर्टिङ गर्न झोला भिरेर हिँडिरहने ‘पत्रकार’ मात्र गर्ने ?….हत्तेरिका, कुरो कता पो भँगालिएछ यार !
अँ, आज बिहान घरमा पालेको ‘सुन्दरी’ नामको कुकुर (कुत्ती)–को घाँटीमा बेल्ट बाँधिदिँदैथेँ म, ‘कम्रेट’ हरिराम पुरोहित उनकी उही बैला छोरी मनकुमारीलाई समेत लिएर धडाधड आँगनमा प्रस्तुत हुँदो भए । अहिले मेरा आँखीभौंका रौं समेत फुलिसक्या छन् र भापनि मेरो मन किन–किन उत्ताउलिएर बुरुक्क पो भो, ए गाँठे !”
पेन्ट र भेस्टमा अटसमटस अँटाएकी मनकुमारीबाट आँखा मोडेर हरिरामतिर हेर्दै मैले कुरो शुरु गरें— “के छ त तपाईंको पार्टीको राजनीति अहिले ? देशको दलन कहाँ पुग्दैछ ?”
उनले बसेको कुर्सीबाट उठूँला झैं गर्दै चर्केर भने— “के सोध्या तो ? अैलेको मोस् पाओरफुल पार्टीको थानीए ठालू भइखाइरको व्याक्ति भन्या उइले राँडाकालको ‘जन्मिदै जर्नेल’ जइस्यै हुन्छ भन्ने था छैन ? ल हेर त ! उत्रो ठूलो चुलाचुली फोरेसको बुलु सेनिमा कम्पनीकी मेन हिरोनीका समच्छे मलाई हेप्ने ?”
मैले पनि उत्रै आवाज निकालेर भनें— “भइगो नि त, राजनीतिको कुरो नगरौं । अनि आतेपाते क्षेत्रका दुना–टपरामा कत्तिको प्रगति छ त हरिराम पुरोहितजी ? मादक पदार्थले नशा लाग्न छोड्यो कि लाग्दैछ ?”
यसैबेला मनकुमारीले ड्याउ काडी र उसको बाऊ हरिरामतिर चर्की— “अऊ ड्याडी, तपइँ किन रिसाको हँ ? पाँडे सरले ठीकै त सोद्नु भयो ?”
हरिराम अझ बम्के— “तँ चूप लाग् ।…तँ रानीतिको पोल्टिकल खेल्न जान्दछेस र बोल्छेस् ? बेस्सरी खानु, मोटाउनु र हिर्रोहर्सित लठारिएर सेनिमा खिचाउनु सिवाए तँलाई के था छ र इ पाँडेको पच्छेमा काङरेसी ओकालत गर्छेस् ? मेरो मज्र्यादा तँलाई था छैन र कुरा काट्छेस् ?”
ऊ जुरुक्क उठी र हरिरामको नाकमा औंला पुर्याउँदै भनी— “कस्तो मज्र्यादा ? दिनभरि बाहुन, रात परेपति सँधै डाउन् । मान न मज्र्यादा !”
हरिरामले छोरीका औंला पन्छाउँदै अलिक दच्केर भने— “हामी पुराना खाले खलपत्रे बाउन् हम् र ? हामी त कञ्चन कमिनिस बाउन् । कोर्रियान मुन माताका पइत्र हातले छर्केकोे होल्ली वाइनले पाप पखाल्ने बाउन् । हामी जाँड खान्छम्, भाङ खान्छम्, सुँगुर–बुँगुर खान्छम्, राँगो–भुइँसी खान्छम, मौका परे देशै खान्छम्….ती क्या त, आफ्नु बड्डे मनाउन तेरथुम पुग्दा हामेरका सन्मान्नीए अदच्छे एबङ पर्दानमन्त्री केप्पी ओली मउसुप सर्खारका बाउलीबड मिठाइ बनाउने टेसिलो जिनिसले बनाको पच्चीस किलाको नेपाल देशका चोक्टा–चोक्टा काटेर आफूले पनि जिउनारिबक्सिनु भो भने कमिनिस बङसीय मउसुप हजुरका भक्त–भक्तिनीहर्ले सो पच्चीस किलाको नेपाल देशका चोक्टा–लाम्टा मीठो मानेर जिब्रो पढ्काउँदै हसुरेका थे ।
देशका सब्से ठूला कार्रेकारीले तेसो गर्नु–गराउनु भन्या यो देश इन्ड्या भारत र चाइँनाले समेत सिमानाबाट चुँड्दै–चोक्ट्याउँदै लगेर अन्तिमको लास्–टमा पच्चीस किलाको स्यानो खेलौना जत्रो मात्तै रन्छ र तेल्लाई चइँ हामेरु–हामेरुले पर्साद जइसो बिलो बाँडेर जए मात्रिभूमि भनेर ती तेस्तै हर्कबढ्याइँ–रामरस गर्दै भाग पाए जति गाँस गमक्र्यानु पर्दछ हइ भन्ने अर्गिम जानकारी गराउने किर्पा हो । तँ बल्ल पइँचालीस बर्ख टेकेकी फुच्ची–बचरीलाई मैले जइसो रानीतिकको गुज्जे एटिभिटिच के मालम छ र इ पाँडेका मुखिन्जी मलाई मुनपरि भन्छेस् ? हामेरु आफ्नु कमिनिस बम्सका अगउटाहेरू ती तेसरी आफ्नु मात्रिभूइँको भूइँ पच्चीस किलाको भउन्जेल सत्ता–अठ्ठादेखुन् नहलसम्मन बस्छम् र तो टुक्रोलाई हामरुबाएक अरु–अन्ने पाटीतिरका ल्याङ्ठा–पिनासेहर्ले भेट्तै नभेटुन् भन्र चोक्टा–चोक्टा पारेर खाई पचाइदिने भोलिको भाभी भबिसेक ती तेसरी तेरथुममा जइसै गर्ने नइतिक्ता राख्छौं । हामेरु जत्तिको च्वाक र लास्–टै देशभक्त रास्टबाधी इ पाँडे लगाएत अर्हेरु कस्सैलाई हुन दिए त मर्रिजाउँ ल ! तँ इ पाँडेको सलक्क पर्या बिउटो गुण्डो अन्भार, यो सिमन्टीको पक्का घर, गामठाममा खेत, इँट फेकटरी, बइँङ्कामा नखत इत्तेदिबड पर्भाभित भ’र मेरो पेस्टिच नलत्या । भनेसि हामेरु हामेरको अतेन्त नइतिक, अतेन्त रास्टबाध, अतेन्त देशभत्त र अर्हर्ले स्यानो–चुक्सा भस्टचारी गरे पनि नसहने, चलित्रवानमा लम्बरी अघ्रणी खलकमा पर्छम् र अैले मेरो सुबनाम फस्मा छ एस पर्देशको एस एरियामा । भनेसि हामेरु भोलि–भोलि के–के खाँदै जाने रछम् भन्ने दिस्टिकोणले हेर न छोरी ! मैले जाँड–भाङ खाको झीनु–मसिनु कुरो किन गर्छेस् ? साँज–बेल्काको ट्याममा जाँड–भाङ–धतुरो जे खाए नि दिसभरि राम्नामे बर्को ओडेर, निदारदेखुन् नाकको डाँडी र किल्किलेसम्म लचेप्रै चण्डन ला’र चाइनेकेरे पिउर बाउन् भइकन पुरेत्याइँ गरिराख्या छइँछु, ओ मास–ल्यालिन बर्म–बिस्नु–मादेव कर्मैले पुकार्दै पूजा–किरिया फिनिस्याउने बेपार–बिस्नेस् गरेकै छु । नइतिक्ता, धर्म, प्रम्प्रा भन्ने जिनिस आफ्ले जाने जति मइनट्यान गरिराख्या छु ।
जति भनिन्छ तेति जम्मै गर्ने अथ्वा मुखले भन्या सप्पै कामले गर्न थालो भने त जन्ता सम्रविर्द र सुख्खी भइजान्छन् अनि हामेर्को जनवाधी, सर्भहाराबाधी, दुख्खी गरीपपन्थी कमिनिसे रानीति कस्को टाउको टेकेर गर्ने त ? सहे काम गर्ने भन्र भन्ने अनि बढीमा पान्टा गर्ने…अलि–अलि हात लागी हुने सिकेन्स–स्याटिनको चानस मिलेछ भने बढीमा छे–सात्टासम्म गरो…जन्ता मोरा छेरौटीले मर्न नसकेका हन्मतहेरूलाई त ‘झर्ला र खाउँला’ मै अल्झाई–बल्झाई नगरे त हामेरको रानीतिकको पोल्टिस काँ बाँच्छ त छोरी ! तेति ट्याउटिस नजाने के खान यो पढ्के रानीतिकमा बगालिनु त ? तँ भख्खर पइँचालीस बर्ख नागेकी कन्ने केटीलाई के था र होइन ? तँ तेरै सेनिमाको हिरोनीमा लागिराख, म एताबड रानीतिक सोसफोस लाइरन्छु ।…कैलेकाइँ तइँले हिरोनी खेलेको बुलु सेनिमा रामदुलारी र इन्जिन्यार सेवाराम जादौले हेरेको कुरा गर्दै ‘भउत आच्छा’ भन्थे, मैले चइँ आजसम्म हेर्न पा’छैन । मलाई पनि हेरा न । म पनि छोरीको पर्गति–पोर्गेस हेरम् । आफ्ना रगतका डल्लाको उन्नति हेर्ने हर्हर् तिर्खा लागिराख्या छ क्या ।”….
हरिरामको लामो भनाइ मैले समेत चूपचाप सुनें । मनकुमारी पनि निःशब्द सुनिरहेकी थिई । अहिले एक्कासी उसका पोक्चा गाला रप्याउँदै र बल्ढ्याङ्रे आँखा हान्ने गोरुका झैं बनाउँदै, शरीर छचल्काउँदै, एकाएक हरिराम र मबाट चोइटिँदै धैलुङ–धैलुङ हिँडी । एकछिन् अल्मलिए हरिराम र भने— “ए…. ए मनु, हन मैले तँलाई भन्ने निउँमा इ पाँडेलाई अर्जापेर तर्साउन मात्रै खोज्या पो त…. तइँले कुरो बुजिनछेस् । ए मनु, हामेरको सर्खारी रानीतिकको पोल्टिकल खेल्ने इसटाएल मैले एस्तै सिक्या छु त म के गरुँ ?….ए पर्खी न पर्खी, म पनि जान्छु नि ।…पख्–पख् एछिन, एताबड थुरुक् म तइँलाई तइँले नै पैला नाम लिएकी कुइरे भाजनकाँ लग्छु, धरोधर्म लु ।”….
मनकुमारी धमाधम गइरहेकी थिई । हरिराम पनि पछ्याउँदै कुदे ।
म हेर्याहेर्यै भएँ । मेरो गिदीको भोल्टेज डाउन् भए जस्तो थियो !…..


























