उच्च सतर्कता जरुरी

0
1028

छिमेकी देश भारतमा वैश्विक महामारी कोभिड–१९ ले फेरि आतंकको रुप लिन थालेको छ । गएको चौबीस घण्टामा ८१ हजारभन्दा बढी मानिसमा संक्रमण प्रमाणित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत सेप्टेम्बर महिनाको मध्यमा उच्च विन्दुमा पुगेको संक्रमण त्यसपछि लगातार घट्न थालेको थियो । तर, अहिले संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । भारतको महाराष्ट्र संक्रमणको उच्च बिस्तारमा छ जहाँ गएको चौबीस घण्टामा ४३ हजार मानिसमा संक्रमण पुष्टि हुँदा दुई सय ४९ जनाको संक्रमण कै कारण मृत्यु भएको छ । यस बाहेक संक्रमणको उच्च दर रहेको कर्नाटक, छत्तीसगढ लगायतका राज्यहरुमा कोभिड–१९ को दोस्रो लहर त्रासदी बनेर आएको छ ।

भारतमा व्यापक भइरहेको कोभिड–१९ को प्रभाव खुल्ला सीमाना भएका कारण नेपालमा पनि देखिन थालेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फिर्ने क्रम बढेपछि कोभिड–१९ विस्तारको जोखिम बढ्न थालेको हो भने सीमानाकामा कडाइ गर्न थालिएको छ । कोभिड–१९ को पहिलो चरणमा जस्तै अहिले मानिसमा सजगता हराउँदै गएको छ । मास्क लगाउने, दूरी कायम गर्ने, हात सफा गर्ने लगायतका जनस्वास्थ्यका मापदण्डको पालना गर्न छाडिएको छ । अझ सरकारमा रहेको दल र सरकारकै तर्फबाट सभा, प्रदर्शन गर्न थालिएपछि त आम मानिसको बुझाइमा कोभिड–१९ उन्मुलन नै भएको मानसिकताले जरा गाडेको छ । परिणाम यसबेला दिनहुँ कोभिड–१९ संक्रमितहरुको ग्राफ उकालो चढ्न थालेको छ । पछिल्लो चरणमा प्रहरी प्रशासनका तर्फबाट गरिएको कडाइ खुकुलिएसँगै मानिसले मास्क नै लगाउन छाडिसकेका छन् भने भीडभाड हुने ठाउँहरु पूर्ववत् र निर्वाध सञ्चालन भइरहेका छन् ।

कोभिड–१९ को प्रभाव बढ्दै जाँदा भारतसँग सीमा जोडिएका आवागमनको मुख्य विन्दुहरुमा कडाइ गर्न थालिएको हो । पूर्वी नाका मेचीनगरस्थित काँकरभिट्टामा आवत–जावतमा कडाइ गरिनुका साथै आवत–जावत गर्नेहरुको अभिलेख राख्न थालिएको छ । मेचीनगर नगरपालिका कोभिड–१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन समितिको अगुवाइमा हेल्थडेक्स पुनर्जिवित गर्नुका साथै क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तम्तयार गरी आवश्यक सबै तयारी दुरुस्त पार्न थालिएको छ । काँकरभिट्टास्थित सशस्त्र प्रहरीको सहायता कक्षमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने नेपाली सेनाले मेची पुलमै होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । भारत प्रवेश गर्ने मुख्य द्वारका रुपमा रहेको काँकरभिट्टा आवागमन कै दृष्टिले उच्च जोखिममा रहेको सन्दर्भमा नियन्त्रणका लागि सर्तकता, सजगता र अग्रसरता देखाउन आवश्यक छ । शुक्रबार मात्रै एक सय ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ विरुद्धको खोप पनि लगाउन थालिएको सन्दर्भमा बढ्दो संक्रमण रोक्न सबै पक्षले उच्च सतर्कता अपनाउन जरुरी छ । स्वास्थ्य प्रतिको लापरवाही स्वयम्का लागि घातक नहोस् सबै सचेत होऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here