बढ्दो औद्योगिकरण र शहरीकरण नै वातावरण प्रदूषण

0
1475

मानिसका आवश्यकतालाई परिपूर्ति गर्न कुनै पनि क्षेत्रमा आवश्यकता अनुसारका सामानहरुको बृहत उत्पादन वा सेवालाई उद्योग भनिन्छ । सामान्यतयाः उद्योगधन्दाको विकास र बिस्तारले जनजीवनको रहनसहनको स्तरमा सुधार ल्याउँछ र जीवनयापन गर्नका निमित्त सस्तोमा र सजिलोसँग वस्तु उपभोगको सुविधा पाइन्छ । कुनै पनि देश वा क्षेत्रको तीव्र विकासका लागि औद्योगीकरणको अहम् भूमिका रहेको हुन्छ । उद्योगधन्दाको विस्तारले नै देशको दिगो विकास सम्भव छ र मुलुकको अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा तीब्ररुपमा परिवर्तन आउँदछ । अमेरिका, अस्ट्रेलिया, जापान, चीन, बेलायत जस्ता देशहरुको तीब्र विकासको कारण पनि औद्योगिक विकास नै हो ।

नेपाल एउटा अल्पविकसित देश हो । जहाँ दुईतिहाई जनता कृषिमा निर्भर छन् । स्रोत साधनको कमी र शिक्षा, तालिम, बजार र अस्थिर राजनीतिका कारण यहाँ कृषि व्यवसाय गर्नेहरुको प्रतिव्यक्ति आय न्यून छ । यो भारी संख्याको कृषि क्षेत्रको अनावश्यक चापलाई उद्यमी र रोजगारीमा रुपान्तरण गरी उनीहरुको प्रतिव्यक्ति आया र देशको अर्थतन्त्रलाई उकास्न औद्योगीकरण हुन नितान्त आवश्यक छ । तर, यहाँका नागरिक, उद्यमीहरुसँग पुँजीको कमी छ ठूलो परिमाणमा लगानी गर्न सक्ने अवस्था छैन ।

व्यावसायिक ज्ञान, सीप, तालिम, क्षमता, प्रविधि र अनुभवको पनि कमी छ । तसर्थ, पछिल्लो समयमामा यहाँ विदेशी लगानीकर्ताहरुको भीड हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाउँछ । नेपालमा चीन, भारत, बेलायत सबैभन्दा बढी लगानी गर्ने देशहरु हुन् । दिन प्रतिदिन औद्योगीकरणलाई सोच्न थालेको देशमा भने यसको असर कहाँ–कहाँ पुग्दैछ र कसरी पुग्दैछ भन्ने कुरामा नेपाल सरकारको बेलैमा ध्यानाकर्षण हुन जरुरी छ ।

पछिल्लो समय नेपालको विभिन्न ठाउँमा वातावरण प्रदुषण बढेको जनमानसमा हविगत छ्दैछ । जसको विभिन्न कारणहरु मध्य जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र घर बाहिर र भित्रका फोहोरमैलाको उचित व्यवस्थापनमा नजरअन्दाज गर्नु प्रमुख कारण हुन् । जनसंख्या वृद्धि र शहरीकरणले फोहोरमैला बढाउनुको साथै वन जङ्गलको विनाश हुनु पनि एक प्रमुख कारण हो, जसको प्रभाव सबैभन्दा धेरै वातावरणमा पर्दछ ।

पृथ्वीमा रहेको जीव, वनस्पति, हावा, पानी माटो अथवा सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरुको उपस्थित नै वातावरण हो । जो प्राकृतिक सम्पदा पनि हुन् । वातावरण मानव जीवनका लागि अपरिहार्य छ । र, यसलाई सन्तुलन र स्वच्छतामा राख्न हाम्रै कर्तव्य र जिम्मेवारी पनि हो । तर, आजभोलि शहर, गाउँ, गल्ली, टोल सबै आफूमा व्यस्त छन् । सरकार र नागरिकहरू वातावरणप्रति गैरजिम्मेवारी हुँदै गएकोले आज प्रदूषण हुने राष्ट्र, शहरको नामलिस्टमा नेपाल पनि आउँछ ।

वातावरणीय अस्तित्वलाई दखल नपर्ने गरि र प्राकृतिक स्रोत साधनलाई संरक्षित गर्दै विकासको गतिलाई एकीकृत र समानस्वरुपमा अगाडि लैजानु नै वातावरण व्यवस्थापन हो । मानव र वातावरणबीचको सम्बन्धलाई सुमधुर बनाई राख्न वातावरण व्यवस्थापन अति आवश्यक छ । मानिसलाई अत्यावश्यक आधरभूत आवश्यकताहरु वातावरणले नै उपलब्ध गराउँछ भने अर्कोतिर मानिस नै वातावरणलाई जोखिममा पारेर प्राकृतिमाथि अतिक्रमण गरेर विभिन्न समस्यहरुको सृजना आफै गर्दैछ ।

मानिसले भौतिक उन्नति गर्ने क्रममा प्रकृति र वातावरण स्वच्छताप्रति आँच पु¥याउने काम गरेको छ । प्राकृतिक वस्तु र अस्तित्वमा दखल पुगेपछि यसले मानव जीवनलाई पनि कष्टकर बनाइदिन्छ । यसले हरेक प्रकारका विकासमा अवरोध गर्नेछ । आजको स्थितिलाई विश्लेषण गर्ने हो भने वातावरण प्रदुषण विभिन्न कारणले हुँदै आइरहेको छ । जल प्रदूषण, ध्वनि प्रदूषण, वायु प्रदूषण भूमि प्रदूषण, रासायनिक प्रदूषण, अनियन्त्रित जनसंख्या वृद्धि, यातायातका साधनमा तीव्र वृद्धि, प्राकृतिक साधनको शोषण, वनजंगलको फडानी, जन चेतनाको अभाव, वातावरण संरक्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयको कमी प्रमुख प्रदूषणका कारण हुन् ।

गाउँ, ठाउँ शहरीकरण हुनु, बाटो–घाटो बन्नु, हिजो मान्छे नपुग्ने ठाउँमा आज कलकारखान खोलिनु, रोजगारीको सृजना गर्नु भनेको देश विकासतर्फ लम्कनु हो । तर, यसबीचमा औद्योगिक तथा वैज्ञानिक प्रगति, रासायनिक पदार्थको उत्पादन र अव्यवस्थित प्रयोग अनि प्राकृतिक स्रोत साधनको दुरुपयोगले वातावरणप्रति के–कस्तो असर पर्दैछ भन्ने कुरा सरकार, संम्बन्धित निकाय र नागरिकले बेलैमा यतातिर ध्यानाकर्षण गर्नैपर्छ । नत्र मुलुक र जनतामा अन्य धेरै प्रकारका कष्टहरु आइलाग्ने कुरा ध्रुवसत्य छ । किनकि वातावरणलाई नकारात्मक असर पारेर या यसको सन्तुलन भंग गरेर कुनै पनि सोचले जीत हासिल गर्न सक्दैन । तसर्थ, सरकारले बेलैमा वातावरण स्वच्छता र वातावरण व्यवस्थापनप्रति काम गर्न अति जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here