विद्यालयको जग्गा व्यक्तिको भोगचलन

0
1143

युवराज रेग्मी,
झापा।

झापाको एक सामुदायिक विद्यालयको जमिन अवैध रुपमा स्थानीयले भोगचलन गर्दै आएको पाइएको छ ।

गौरादह नगरपालिका–९स्थित अमर माध्यमिक बिद्यालयको नाममा रहेको करिब ८ बिगाहा जमिन त्यहाँका स्थानीयले बर्षौदेखि अनाधिकृत रुपमा भोग चलन गर्दै आएको पाइएको हो ।

विद्यालयले आफ्नो नाममा दर्ता कायम भएको जमिनको खोजी नगर्दा फिल्ड बुकमा श्रेस्ता कायम रहेको सार्बजनिक जग्गा विभिन्न समयमा गिरोहले अबैध तरिकाले आफ्नो नाममा दर्ता गरेको समेत खुलेको छ ।

२०२५ सालमा स्थापना भइ अमर प्राबिको नामबाट सञ्चालित बिद्यालयको नाममा बि.सं. २०२१ सालको फिल्ड बुकमा श्रेस्ता कायम रहे पनि भू–माफियाको गिरोहले सार्बजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन् ।

बि.सं. २०२६ सालमा महाभारा निवासी सत्य राजबंशी र चमक राजवंशीको नाममा रहेको २९ बिगाहा १० धुर जग्गा बिद्यालयले धितो लिलाम सखार गर्दा बिद्यालयको नाममा रहेको १२ कठ्ठा जग्गा पनि सुनियोजित ढंगले सोही जग्गाको साथमा लिलामी प्रकृयामा राखी लिलाम गराई बिद्यालयकै तत्कालीन प्रधानाध्यापक यमनाथ ढुंगानाले आफ्नो नाममा न्यून मूल्यमा खरिद गरेको पाइएको हो ।

त्यस पश्चात् महाभारा निवासी सम्बन्धित जग्गा धनी राजबंशीले आफ्नो जग्गा लिलाम फिर्ता गराउन मुद्दा गरेकोले अन्ततः बि.स. २०२९ सालमा मुद्दाको किनारा फैसलाद्वारा साबिक जग्गा धनीको जग्गा लिलाम फिर्ता भएको थियो । तर, सोही समयमा बिद्यालयको नाममा रहेको लिलाम गरिएको जग्गा भने फिर्ता नगरी बि.सं. २०३२ सालमा तत्कालीन प्रअ यमनाथ ढुंगानाले १२ कठ्ठा जग्गा चक्रप्रसाद पोखरेललाई बिक्री गरेको समेत प्राप्त जानकारीमा खुलेको छ ।

त्यसै गरी बिद्यालयको नाममा फिल्ड बुक रहेको अर्को ३ बिगाह १० धुर जग्गा पनि विभिन्न व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारेर स्थानीय रामबहादुर पौडेलले आफ्ना ज्वाइँ सैनध्वज भट्टराईको नाममा दर्ता गराइ जग्गाको लालपूर्जा ल्याएको बुझिएको छ । साथै उनले हाल बिद्यालयको उत्तर तर्फ रहेको जग्गामा व्यवसायिक प्रकृतिको टहरा निर्माण गरी बर्षौदेखि भाडा समेत असुली गर्दै आएका छन् ।

त्यसैगरी बिद्यालयकै नाममा रहेको १ बिगाह १० कठ्ठा जमिन पनि अबैध तरिकाले कागजात तयार पारी मोहियानी कायम गराइ व्यक्तिको नाममा दर्ता गरी ल्याएको बुझिएको छ । त्यसैगरी बिद्यालयकै नाममा फिल्ड बुक रहेको २ बिगाह १० कठ्ठा जग्गा एकलौटी रुपमा मुद्दा फैसला गराइ इन्द्रबहादुर अधिकारीले आफ्नो नाममा दर्ता गराएका थिए ।

बि.सं. २०५७देखि २०६० सालसम्म विव्यसमा रहेका हाल गौरादह–९का वडाध्यक्ष सीताराम भट्टराईले बिद्यालयको नाममा रहेको बि.सं. २०२१ सालको फिल्डबुकमा जग्गाहरु खोजबिनका लागि प्रयास गरेका थिए । त्यसैगरी बि.स. २०५४ सालमा गरिएको सर्बपक्ष निर्णयद्वारा हाल बिद्यालयको कम्पाउड रहेको ५ बिगाह १० कठ्ठा जग्गा तत्कालीन समयमा सीताराम भट्टराईकै अथक प्रयासमा बिद्यालयलाई प्राप्त भएको बि.सं. २०३९ सालदेखि २०७१ सालसम्म सोही बिद्यालयका प्रअ रहेका सुरेशबहादुर पौडेलले जानकारी दिए ।

हाल बिद्यालयको नाममा रहेको ११ बिगाह १३ कठ्ठा ६ धुर जग्गामध्ये अधिकांश जग्गामा त्यहाँका स्थानीयहरुले अस्थायी तथा स्थायी संरचना तयार गरी बसोबास गर्दै आएका छन् । बिद्यालयको स्वामित्वमा रहेको जग्गामा हाल एउटा सामाजिक संस्था ॐशान्तिको आर.सी. सी. भबन निर्माणाधीन अवस्थामा छ ।

त्यसैगरी बिद्यालयको स्वामित्वमा रहेका जग्गामा स्थानीय ब्यक्तिहरुले करिब एक दर्जन जति साना–ठूला घर बनाइ बषौदेखि बसोबास गर्दै आए पनि सार्बजनिक जग्गाको निर्णयात्मक खोजीकार्यमा कोही नजुटेको पाइएको छ । साबिक बैगुन्धुरा गाबिस तथा हाल गौरादह नगरपालिका–९को वडा कार्यालय रहेको भबन पनि बिद्यालयकै जग्गामा रहेको छ ।

बिगतमा जग्गा प्राप्तिका लागि सरोकार पक्षहरूले सानातिना प्रयास गरे पनि निरन्तरताको अभाबमा बिद्यालयको सार्बजनिक जग्गामा अझैसम्म स्थानीय व्यक्तिहरुले हालीमुहाली गरिरहेको हालका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल भट्टराईले बताए ।

बिद्यालयको दुरावस्थाको बारेमा विद्यालय प्रशासनसँग जिज्ञासा राख्दा व्यवस्थापन समिति अध्यक्ष भट्टराईले जग्गाको राजश्व बि.सं. २०६९ सालदेखि हाल आ.ब. २०७६/७७ सम्मको बक्यौता रु. ३४ हजार पुगेकोले उक्त बक्यौता राजश्व रकम तिर्न बिद्यालयको कुनै आर्थिक श्रोत नभएको गुनासो गरे ।

नेपाल सरकारले सरकारी बिद्यालयहरुको भौतिक बिकास र रेखदेखको उद्देश्य राखी समुदाय लाई हस्तान्तरण गरेको भएतापनि त्यसको सरोकार पक्ष र व्यवस्थापनको आधिकारिक जिम्मा पाएको ब्यबस्थापन समिति र राजनीतिक आशिर्बाद र दलगत भागबण्डा मार्फत आउने समितिको नेतृत्वले उचित ध्यान पु¥याउन नसक्नु सामुदायिक बिद्यालयका लागि पीडादायी बिषय बनेको देखिन्छ ।

राज्यले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि बर्षेनि मोटो रकम खर्च गर्दै आए पनि बजेटको उचित सदुपयोग नहुँदा बिद्यालयका समस्या ज्यूँकात्युँ रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here