महिलाले हाँकेको सहकारी

0
930

झापा,
विहानदेखि राति अवेरसम्म चुलो चौकामा मात्रै सीमित हुने महिलाहरु हिजो आज समाज परिवर्तनमा अगुवाको भूमिका पनि निर्वाह गर्दैछन् । चेतनाको कमीका कारण महिलाहरुपछि पर्ने मात्रै नभएर घरायसी कामधन्दामा उनीहरु सीमित हुँदै आएका थिए । ०६२÷०६३ को जनआन्दोलपछि मुलुकमा आएको परिवर्तनसँगै महिलाहरु पनि परिवर्तन हुन थालेका छन् । जसका कारण सामाजिक काममा अग्रसरता समेत उनीहरुले देखाउन थालेका छन् ।


यस्तै एउटा उदाहरण बनेको छ– झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–१० माइधारमा रहेको माइवेनी महिला कृषि सहकारी संस्था । पुरुषको मात्रै मुख ताक्ने परम्परा तोडेर महिलाहरुले सहकारी नै सञ्चालन गरे । जुन सहकारी पुरुषले नेतृत्व गरेको अन्य प्रकृतिका सहकारी भन्दा भिन्न छ ।

माइवेनी महिला कृषि सहकारी संस्था सञ्चालन गरेर उनीहरुले आफ्नै आर्थिक, सामाजिक र भौतिक प्रगतिको विकास गर्न थालेका छन् । उक्त सहकारीबाट महिला मात्रैले सञ्चालन गरेको बचतले शिवसताक्षी नगरपालिका वडा नम्बर १०का महिलाहरुको आर्थिक उन्नतिमा एक्कासी फड्को मारेको छ । स्थानीय भन्छन्– ‘हिजो साइकलमा सवार हुने महिला स्कुटी, मोटरसाइकल र स्कुटी मोटर साइकलमा सवार हुने महिला चिल्ला गाडीमा सवार हुन थालेका छन् ।’

एउटा छिमेकीको कुरा अर्का छिमेकीकोमा लगेर सुनाउँदै कुरा काट्ने, एकातिरको कुरा लगेर अर्कातिर बढाइ–चढाइ गर्दे सुनाउने, अभिभावकलाई छलेर फजुल खर्च गर्ने, अर्काको नक्कल गरेर आफ्नो नभएको आर्थिक हैसियत अरुलाई देखाउने महिला यतिबेला गाउँमा छैनन् । सहकारीमा लागेपछि सबै महिला उद्यम बनेका कारण तडकभडक गर्नेको संख्या गाँउमा शून्य भएको हो ।

यहाँका महिलाहरुकोथोरै वचत गर्ने बानीले अहिले लाखौको मालिक बन्न सफल भएका छन् । २०६७ सालमा २६ जना महिलाले स्थापना गरेको यो सहकारीमा यतिबेला ७५० महिला शेयर सदस्य पुगेका छन् । जसले गर्दा आार्थिक र सामाजिक सेवाको अगुवा समेत बन्ने अवसर उनीहरुले पाएका छन् ।

वचतलाई सुरक्षित गर्दै आफै व्यवस्थापन र सञ्चालनमा जुटेका कारण महिलाहरुबीच एकापसमा समझदारी भएकाले सहकारीलाई यहाँ सम्म ल्याइपु¥याएकोे स्वयम् महिलाहरु बताउँछन् । सहकारीमा वचत मात्रै नभएर सिपमुलक तालिम, लैकिङ् हिंसा निवारण सम्वन्धी जनचेतना, किशोरकिशोरी परामर्श सेवा, पशुपालन, कुखुरा पालन, तरकारी उत्पादन लगायतका कार्यक्रम सहकारीका महिला सदस्यले सञ्चालन गरेका छन् । हरेक बर्ष समयमै साधरणसभा गर्ने, महिला हरुबीच अन्तरक्रिया गर्ने, महिलालाई आत्मनिर्भर बनाउन सिप मुलक कार्यक्रम ल्याउने सहकारीबाट आम्दानी भएको नाफालाई बराबरी लाभ लिने माइवेनी महिला कृषि सहकारी संस्थाको प्रमुख विशेषता हो । यसका अलवा सो सहकारीले समाज रुपान्तरणका लागि वडाका विभिन्न ठाँउमा सामाजिक सेवा पनि गरेको छ ।

महिलाले सहकारी खोलेर गाउँका पुरुषको नाकै काटे भन्ने पेचिलो आरोप उनीहरुका मनमा अझै ताजै छ । कतिपयले २ वर्ष पनि सहकारी टिक्दैन भनेर गाउँमा हल्ला फिजाएको पनि उनीहरुले विर्सेका छैनन् । सहकारी स्थापनादेखि अहिलेसम्म अध्यक्ष पद हाकिरहेकी रोहिता भट्टराईले भनिन्– ‘गाउँका टाठा बाठा पुरुषले सहकारी स्थापनादेखि जग्गा प्राप्तिसम्म गरेको विरोधले सहकारी मौलाएको हो ।’ पुरुष प्रधान समाजलाई उक्त जग्गामा विल्डिङ बनाएर देखाउनु र त्यसलाई सहकारीको कार्यालयको रुपमा उपभोग गर्नु महिलाको मुख्य चुनौति थियो । तर, निरन्तरको परिश्रम र आर्थिक पारदर्शीताले महिलाले तोकेको समय अगावै भवन निर्माण गरेर देखाईदिए । उक्त जग्गा प्राप्ति र भवन निर्माणका लागि तत्कालीन सतासीधाम गाविसका सचिव छत्रवाबु ओझा र शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत हरि गुरागाँईको यागदानलाई सहकारीका महिलाले स्मरण गरेका छन् ।

माइवेनी सहकारीले वडाका १ हजार ८ सय घर धुरीमा सहकारीको पहँुच पु¥याउने बताइन् । ‘हामी वडामा १ घर १ महिला सदस्य बनाउने लक्ष्यका साथ अघि बढेका छौं’– अध्यक्ष भट्टराईले भनिन– ‘गत वर्षदेखिको सहकारीको यो योजना अहिले सम्म करिव ४२ प्रतिशत घरधुरीमा एक घर, एक सदस्य कार्यक्रम पुगेको छ ।’ सहकारी स्थापना हुँदा २ लाख ६० हजार शेयर पुँजी थियो । अहिलो त्यो रकम बढेर ९० लाख पुगेको अध्यक्ष भट्टराईले बताइन् ।
निक्षेप संकलन गर्नु र कर्जा प्रवाह गर्नुमात्र माइवेनी महिला कृषि सहकारीको उद्देश्य होइन । सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिनु, उनीहरुको आय–आर्जनमा टेवा पु¥याउनु लगायतका काममा माइवेनी सहयोगी बनेको छ ।

शिलाई कटाईको तालिमबाट प्रशिक्षित भएर स्थानीय विमला ठाकुरले माइधारमा दाजुभाइ टे«लर्स खोलेर राम्रो आय–आर्जन गरिरहेकी छन् । उनको कमाईले ४ जनाको परिवार धानेको छ । उनले भनिन्– ‘माईवेनीले शिप नदिएको भए यतिवेला परिवारको गुजरा बैदेशीक रोजगारको कमाइबाट हुन्थ्यो होला ।’ सहकारीले विभिन्न विधाका ५ जना दक्ष प्रशिक्षक समेत उत्पादन गरेको छ ।

सहकारीबाट सस्तो व्याज दरमा कर्जा लिएर अर्की विमला थपलियाले कुखुरा पालन गरेकी छन् । ‘२५ हजार कर्जा लिएको थिए । आधा रकमले कुखुरा पालन गरेकी छु भने बाँकी आधा रकमले शौचालय निर्माण गर्देछु’– उनले भनिन् ।
सहकारीले सदस्यका २६२ वटा महिला समूह बनाएको छ । समूह जमानतमा कर्जा लिएर अधिकाँस महिलाले पशुपालन र कृषिलाई मुख्य व्यवसायनै बनाएका छन् । सरदारेकी गीता थापा सुवेदीले ३ लाख कर्जा समूह जमानतमा लिएर ४१ वटा बाख्रा पालेकी छन् । बाख्रापालन गर्दा आम्दानी राम्रो हुने गरेको उनले बताईन् । ‘वर्षमा ३ लाख रुपैयाँ कमाई गर्न सकिन्छ’– उनले भनिन् । ‘आवश्यक परेको बेलामा कर्जाका लागि आवेदन दियो, केही दिनमा विना झण्झट चाहिएको रकम सजिलै निकाल्न सकिन्छ ।’

रमा संग्रौलाले पनि हिउँदे बालीका लागि ७५ हजार कर्जा माइवेनी सहकारीबाट लिएकी थिइन् । उनले कर्जा लिएको रकमले आफ्नो खेतमा मकै वाली लगाइन् । मलखाद, सिञ्चाई, र किटनासक औषधि खरिदमा खर्च गरेकी संग्रौलाले एकै फसलमा सहकारीको कर्जा चुक्ता गर्न सकिने बताएकी छन् । सहकारीमा लागेपछि आफ्नो आर्थिक हैसियत पनि सुध्रिएको उनले बताएकी छन् ।

सहकारी संस्था स्थापना भएपछि प्रारम्भिक साधरण सभामै महिलाले सारो–गारो परेका बेला अस्पताल सम्म लैजान एमुलेन्स खरिद गर्ने प्रस्ताव पास गरेका थिए । उक्त प्रस्ताव निर्णय भएको ८ महिना नपुग्दै सहकारीले नेपाल सरकारबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गर्यो । उक्त एम्बुलेन्सले सहकारीका सदस्य बिरामी परेका बेला सरल मूल्यमा अस्पताल लैजाने गरेको छ । अति विपन्नवर्गका गैरसदस्यले उक्त एम्बुलेन्स निःशुल्क प्रयोग गर्न पाएका छन् । सहकारीको तथ्यांक अनुसार हालसम्म ११७ जनाले उक्त एम्बुलेन्स निःशुल्क उपभोग गरेका छन् ।

सहकारीमा लागेका अधिकांश महिला उद्यमी भएका छन् । एक घर, एक महिला शेयर सदस्य बनाउने अभियानबाट महिलाको आर्थिक, राजनीतिक, सामाजिकलगायतका विधामा उनीहरुलाई सवल बनाउन सकिने अभियानमा अध्यक्ष भट्टराईको टिम अघि बढेको छ ।

सहकारीको अचम्म लाग्ने अर्को विषय भनेको पदमा लालची पद कोही सदस्यमा छैन । अन्य सहकारीमा पदका लागि हुने लँुछाचँुडी उक्त सहकारीमा नभएको बताउँछन्– स्थानीय महिला । स्थापनादेखि अध्यक्ष पदमा रहेकी भट्टराईले कुनै तलव भत्ता लिएकी छैनन् । ‘म सहकारीमार्फत समाज रुपान्तरणको अभियानमा लागेको छु । मलाई यो अभियानमा लागे वापत कुनै पारिश्रमिक लिनु छैन’– उनले भनिन्– ‘सायद यसकै कारणले होला मेरो नेतृत्व सदस्यले डगमाउन दिनु भएको छैन ।’

अन्य सदस्यले पनि पारिश्रमिक लिनु भएको छैन । महिनामा एक पटक अनिवार्य बैठक हुन्छ । बैठकमा आउन जानका लागि पारवहन खर्च भनेर २५० रुपैयाँ सहकारीले उनीहरुलाई भुक्तानी दिने गरेको छ । २०६९ सालमा तत्कालीन सतासीधाम गाविसले माइवेनी महिला कृषि सहकारी लाई १० धुर जग्गा दिने निर्णय गर्यो । उक्त निर्णयको सर्वत्र विरोध भयो । ‘सहकारीलाई गाविसले जग्गा दियो भनेर गाउँकै अग्रज दाजुभाइले खेदो गर्न लाग्नुभयो । तर, गाविसले दिएको जग्गालाई महिला सामुदायिक भवन बनाएर देखाइदिने सपना यतिवेला उनीहरुको पूरा भएको छ’– अध्यक्ष भट्टराईले भनिन् ।

‘देउसी खेलेको पैसाले तत्कालीन गाविसले दिएको जग्गामा चिटिक्क परेको घर निर्माण भएको छ । यो देखेर यतिवेला उहाँहरु सायद डाहा गर्नुहुन्छ ।’ उक्त सामुदायिक भवन माइवेनी महिला कृषि सहकारी संस्थाले बनाएको हो । सहकारीको कार्यालय पनि अहिले त्यही भवनमा सरेकोे छ । उनका अनुसार २८ लाख ५४ हजार ४सय ८९ रुपैयाँमा सहकारीका महिला सदस्यले उक्त विल्डिङ्ग बनाएका हुन् ।

हुन पनि नजिकै तत्कालीन सतासीधाम गाविसले सतासीधाम उद्योग वाणिज्य संघलाई १ कठ्ठा जग्गा दिएको थियो । त्यो जग्गामा भवन निर्माण शुरु भएको ६ वर्ष भयो । यतिवेला उक्त भवन अलपत्र अवस्थामा छ । स्थानीय भन्छन्– ‘महिला र पुरुष नेतृत्वको सामाजिक संस्थाको फरक छुट्याउन टाढा जानु पर्दैन माईवेनी कृषि सहरकारीले निर्माण गरेको महिला सामुदायिक भवन र शिवसताक्षी उद्योग वाणिज्य संघको निर्माणाधीन भवनलाई हेरे हुन्छ ।’
सहकारीमा प्रत्येक व्यक्ति सबैका लागि र सबै व्यक्ति सहकारीका लागि भन्ने सिद्धान्त अवलम्वन गरेका महिलाहरु सहकारीले आफ्नोे आँखा खुलेको बताउँछन् । महिलाको समस्या महिलाहरु नै मिलेर समाधान गर्ने काम गर्दै आएका छन् । सहभागी महिलाहरुले यसको श्रेय सहकारीकी संस्थापक अध्यक्ष रोहिता भट्टराईलाई दिएका छन् । ‘उहाँको ठूलो मेहनतका साथ यो सहकारी स्थापना भएको हो । महिलाको समस्या महिलालले नै गर्नुपर्छ भन्ने भावना अभिप्रेत जगाई सहकारी स्थापनामा महिला दिदीबहिनी समेटिएका हौं’– विमला थपलियाले भनिन् ।

सहकारीमा एक जना सवारी चालकसहित ४ जना महिलाले रोगगारी पनि पाएका छन् । सहकारीको कारोवार र सदस्य संख्या बढ्न थालेपछि रोजगारका अवसर पनि बढ्ने अध्यक्ष भट्टराईले बताइन् ।
सहकारीको माध्यमबाट महिलाहरुको फेरिएको जीवनलाई राज्यले पनि सहयोग गर्न सकेमा पहुँच नपुगेका महिलाको अझै आर्थिक र सामाजिक बृद्धि हुने स्थानीय छवि सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here