सिलिगुडी-झापा पाईपलाईन परियोजना महत्वपूर्ण हो : मन्त्री यादव

0
818

लक्ष्मी उप्रेती,
मेचीनगर,

संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले झापा मेचीनगरमा रहेका आफ्नो मन्त्रालय अन्तर्गतको दुईवटा कार्यालयको स्थलगत अवलोक गर्दै निर्देशन दिनुभएको छ ।

आइतबार झापाको मेचीनगर आइपुग्नुभएका मन्त्री यादवले मेचीनगर—१३ चारआलीस्थित नेपाल आयल निगम लि शाखा कार्यालय र मेचीनगर—६ काँकरभिट्टास्थित नेपाल इन्टरमोडल यातायात विकास समितको कार्यालयको स्थलगत अनुगमन गदैं निर्देशन दिनुभएको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै आकस्मिक रुपमा पूर्व आइपुग्नु भएका मन्त्री यादवले मेचीनगर —१३ चारआलीस्थित नेपाल सरकारबाट प्रस्तावित सिलिगुडी—झापा पाईपलाईन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको निरीक्षण गर्नुभएको थियो ।


निरीक्षण पश्चात आयोजित कार्यक्रममा बोल्दैं मन्त्री यादवले यो प्रस्तावित परियोजना नेपाल सरकारको महत्वपूर्ण योजना भएको बताउँदैं यसले दिर्घकालिनरुपमा नेपालको अर्थतन्त्र र खासगरी आयल निगमको पारदर्शिता र आयल निगमलाई सर्वसाधारणले हेर्ने दृष्टिकोण जुन छ यसलाई चिर्ने काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

परियोजनाले यसको गुणस्तर र पारदर्शिताको उचित व्यवस्थापन गर्ने, अहिलेको प्रविधिलाई समेत प्रयोग गर्ने सोचका साथ नेपाल सरकारबाट प्रस्तावित सिलिगुडी—झापा पाईपलाईन परियोजना तथा भण्डारण गृहलाई प्राथमिकताका साथ अघि बढाएको मन्त्री यादवले स्पष्ट पार्नुभयो । नेपाललाई अन्य देशसँगको जुन जुन विषयमा परनिर्भरता छ त्यसलाई कम गर्न समेत यो परियोजना कोशेढुङ्गा सावित हुने उहाँको विश्वास छ ।

नेपाल सरकारले यो परियोजनाबाट ९० दिनको जुन भण्डारणको नीति अघि बढाएको छ, यसले इन्धनसँगको अन्य देशसँगको परनिर्भरतालाई कम गदैं आत्मनिर्भर बन्ने मन्त्री यादवको तर्क छ । नेपाल सरकारले यो प्रस्तावित सिलिगुडी—झापा पाईपलाईन परियोजना प्रदेश नम्बर १ को खपतलाई ध्यानमा राखेर ४ करोड लिटर भण्डारण क्षमता रहेको र यसले प्रदेश नम्बर १ लाई ९० दिनसम्म हुने गरी अघि बढाएको मन्त्री यादवको भनाई छ ।

यसले चोरी निकासी, कर्मचारीबाट हुने कमजोरीलाई नियन्त्रण गदैं पारदर्शिता सुशासनमा बल पुग्ने उहाँको तर्क छ । अहिले प्राविधिक अध्ययन नीतिगत निर्णय तथा परियोजना गठन भइसकेको भन्दैं मन्त्री यादवले नेपाल तथा भारत सरकार स्तरीय ‘जी टुजी’ को माध्यमबाट असोज मसान्तभित्र वाकी प्रक्रिया पुरा गरेर निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि अमलेखगञ्ज परियोजना निर्धारति समयभन्दा अघि नै सम्पन्न भईसकेकाले यो परियोजना समेत निर्धारित समयमै सम्पन्न हुने उहाँको तर्क थियो

निरीक्षणका क्रममा नेपाल आयल निगमका इञ्जिनियर भरत रेग्मी कार्यकारी निर्देशक सुरेन्द्रकुमार पाण्डेलगायतले नेपाल सरकारबाट प्रस्तावित सिलिगुडी—झापा पाईपलाईन परियोजना तथा भण्डारण गृह निर्माणस्थलका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी, मन्त्री यादवले आइतबार नै मेचीनगर —६ काँकरभिट्टास्थित नेपाल इन्टरमोडल यातायात विकास समितको कार्यालयको स्थलगत अनुगमन गदैं विविध विषयमा जानकारी लिनुभयो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सिभियल इञ्जिनियर कमलप्रसाद जोशी कार्यालय प्रमुख अम्बिका सुवेदीले मन्त्री यादवलाई सुख्खा बन्दरगाहसहित अन्य विषयमा जानकारी गराउनुभएको थियो । मन्त्री यादवले दुवै कार्यालयका प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here