काेराेना संक्रमितलाई अक्सिजन सिलिन्डरदेखि शव व्यबस्थापनसम्म

0
899

तुलसीप्रसाद निराैला
झापा,

काेराेना संक्रमितको घरमा अक्सिजन सिलिन्डर र डाक्टर लिएर जाँदै कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल।

झापामा काेराेना संक्रमणको जोखिम बढेपछि झापाका स्थानीय तहका जनप्रतिनिधिले काेराेना संक्रमणको जोखिम नियन्त्रण गर्न सक्रियता देखाएका छन्।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै झापाका पन्ध्र वटै स्थानीय तहका जनप्रतिनिधिकाे सक्रियतामा अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याइएकाे छ ।

सक्रिय सङ्क्रमितका लागि ठूला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदाघुमाउँदै धेरै बिरामीले ज्यान गुमाउनुपरेको दयनीय अवस्थालाई मध्यनजर गर्दै हरेक पालिकाले आफ्ना नागरिकको जीउधनको सुरक्षाका लागि स्थानीयस्तरमै अक्सिजन सहितको आइसोलेशन कक्ष सञ्चालनमा ल्याएकाे हो।

त्यस्तै आफ्ना पालिकाका नागरिक काेराेना संक्रमित भइहाले भने उनिहरुलाई अक्सिजन सिलिन्डरको व्यवस्था, पाेषिलाे खानेकुरा, डाक्टरकाे परामर्श लगायतका सेवासहित उपस्थित भएर आत्मबल बढाउन जनप्रतिनिधि लागिपरेका छन्।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाका कोराेना संक्रमित विरामीहरुको घरघरमा चिकित्सक ,आवश्यक अक्सिजन र औषधि पुर्‍याउन थालेका छन्।

भद्रपुरका काेराेना संक्रमितको शव व्यबस्थापनमा भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठ।

काेराेनाकाे महामारीबाट कनकाई नगरपालिकाका नागरिकलाई बचाउने उदेश्य लिएर कोराेना संक्रमित विरामीहरुको घरघरमा चिकित्सक ,आवश्यक अक्सिजन र औषधि पुर्‍याउन थालेकाे उनले बताए।

कनकाई नगरपालिकाका काेराेना संक्रमित परिवारका लागि अत्यावश्यक पर्ने अक्सिजन पुर्याउनुका साथै उनिहरुलाई कनकाई नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरीएको नगर प्रमुख पोखरेलले बताए ।

कन्काई नगरपालिकाले कोराेनाका विरामीलाई लक्षित गरेर अक्सिजन सिलिन्डरसहितकाे २० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको उनले बताए। कनकाई नगरपालिकाकाे सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै सङ्क्रमितलाई प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अभिषेक नायकबाट आवश्यक परामर्श सेवा प्रदान गरिँदै आएको उनले बताए।

हाल कोरोनाबाट सङ्क्रमित भई होम आइसोलेशनमा रहेका कनकाई नगरवासीसँग फोन सम्पर्क गरी स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श लिने साथै प्राथमिक औषधोपचारका विषयमा सल्लाह दिने गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अभिषेक नायकले बताए ।

बिर्तामोडका काेराेना संक्रमितकाे घरमा गएर हाैसला दिँदै बिर्तामोडका नगर प्रमुख धुर्बकुमार शिवाकोटी।

कनकाई नगरपालिकाभित्रका विरामीहरुलाई आवश्यक पर्दा नगरको आइसाेलेशन वार्डमा ल्याइने र त्यहाँपनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुकै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको नगर प्रमुख पोखरेलले जानकारी दिए।

काेराेनाका बिरामीका लागि कनकाई नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा समेत तयारी अवस्थामा राखेको बताउँदै उनले हाल २० जना विरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरेको र आवश्यक पर्दा थप गर्दै जाने जानकारी दिए । कोरोनाका विरामीहरुको उपचारका लागि२४ सै घण्टा सेवा दिनेगरि विशेष स्वास्थ्य उद्धार टिमको समेत जनलाई नगरपालिकाले तयार गरिसकेको उनले बताए।

कोरोनाका कारण थलिएको वेलामा कनकाई नगरपालिका प्रमुख पाेखरेल आफै औषधि र अक्सिजन लिएर घरमा आइपुगेपछि कनकाईका कोरोना संक्रमितले खुशी व्यक्त गरेका छन्। डाक्टर र अक्सिजनसहित आएका नगरप्रमुख पाेखरेलले थप समस्या हुदा सम्पर्क गर्नुपर्ने नम्बर समेत दिएर आफूहरुलाई ठूलो गुन लगाएको बताउँदै उनिहरुले नगरप्रमुख पाेखरेलकाे व्यावहारले थप बल पुगेको बताएका छन्।

त्यसैगरि काेराेना संक्रमितको सँख्यामा बृद्धि भएर अस्पतालमा अक्सिजन सिलिन्डरकाे अभाव भइरहेको भन्दै कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण सुरु गरेको छ । करिब २ करोड रुपैँया लागत लाग्ने उक्त अक्सिजन प्लान्टमा दैनिक ५० सिलिण्डर अक्सिजन भर्न मिल्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।

उक्त अक्सिजन प्लान्टका लागि कनकाई नगरप्रमुख पोखरेलले आफ्नो सेवा सुविधाबाट जम्मा भएको तीन बर्षकाे पारिश्रमिक १० लाख रुपैँया कनकाई नगरपालिकाकि उपप्रमुख मन्जु प्रसाईलाई हस्तान्तरण गरेकाे बताए।

जनलाई नगरपालिकाले अन्य पदाधिकारी कर्मचारी , र नगरपालिकाको कोषबाट एक करोड रुपैँया र बाँकी एक करोड रुपैँया अन्य नगरवाशी र दाताहरुबाट संकलन गरि ३ महिनाभित्र उत्पादन सुरु गर्नेगरि अक्सिजन प्लान्टको सुरुवात गरिने बताउँदै नगर प्रमुख पोखरेलले कनकाई नगरपालिकाद्धारा उत्पादन गरिएको अक्सिजन आवश्यकताअनुसार अन्यत्र समेत विक्री गरिने जानकारी दिए। हाल रकम संकलन तिब्र रुपमा भइरहेको बताउँदै उनले चाँडै अक्सिजन प्लान्ट निर्माण शुरु गरिने बताए। आफ्ना नगरका नागरिक अक्सिजनकाे अभावमा अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अक्सिजन प्लान्ट निर्माण गरिने उनले बताए।

काेराेना संक्रमितको निधन भएपछि उनीहरूकाे शव व्यबस्थापन गर्न समस्या भइरहेको अवस्थामा झापा भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठ भने आफैं काेराेना संक्रमितको शव व्यबस्थापन गर्न जुटेका छन्।

भद्रपुर नगरपालिका वडा नम्बर ४ का नरेन्द्र लिम्बूको उपचारको क्रममा मेची कोभीड अस्पतालमा निधन भए पछि लिम्बूको शब ब्यवस्थापनमा भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठ आफैले शब बाहन गाडी चलाएर अन्त्यष्टी कार्यमा सहभागी भएका हुन् ।

आफू जनप्रतिनिधि भएकाले आफ्नो नगरका जनताको सेवामा लाग्नु कर्तव्य भएकाले काेराेना संक्रमणबाट निधन भएका लिम्बूकाे शव व्यवस्थापनमा नेपाली सेना र आफू सरिक भएको उनले बताए। जनप्रतिनिधि भएर कुर्सीमा मात्र बस्ने काम नभएर आफ्ना नागरिक को सेवा गर्नुपर्नेमा जाेड दिए।

कोरोना परिक्षण गर्न सहजिकरण गर्दै अर्जुनधारा १० का वडाध्यक्ष बलदेव गोम्देन।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले स्वास्थ्य मापदण्ड पुरा गरेर गरिएको कार्य स्वागत योग्य भएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठकाे प्रसंशा गरे। पन्ध्र वटै स्थानीय तहका जनप्रतिनिधि यतिबेला काेराेना संक्रमितको घरमा पुग्न थालेका छन्। काेराेना संक्रमित भई हाेम आइसाेलेसनमा बसेका उनीहरुलाई स्वास्थ्य सामग्री, पाेषिलाे खानेकुरा लिएर जनप्रतिनिधि पुग्न थालेका हुन् ।

झापाकाे मेचीनगर नगरपालिकाले नगरपालिकाभित्रका होमआइसोलेसनमा बसेका काेराेना संक्रमितहरुका लागि तत्काल चाहिने औषधि तथा साना खाले अक्सिजन ग्यास , आवश्यक औषधि जनप्रतिनिधिहरुमार्फत घर घरमै पुर्याउने गरेकाे मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले बताए।

कुनै पनि नगरवासीलाई कोभिड १९ को लक्षण देखा परे उपचार गर्न अस्पताल लैजानु पर्ने भएकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने, निशुल्क शबबाहनकाेव्यवस्था गरेकाे उनले बताए ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा पनि काेराेना संक्रमितसंग भेटघाटमा व्यस्त छन् । काेराेना संक्रमितको स्वास्थ्य अवस्था र समस्या बुझेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी लिएर घरदैलो कार्यक्रम चलाएको उनले बताए।

शिवसताक्षी नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडाका काेराेना संक्रमितलाई भेटेर रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिसमेत वितरण गरेकाे उनले बताए । शिवसताक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपाल ,वडा नम्बर वडा नं १ का अध्यक्ष सुवास राई, वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेत , बडा नम्बर ३ का अध्यक्ष पुण्यप्रसाद सापकोटा ,शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाबाट सञ्जय ठकुरी, दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोखरेल र कोभीड फोकल पर्सन रोशन अधिकारीसहित आएका उनले काेराेना संक्रमितलाई गुडूची क्याप्सुल, आमलकी चूर्ण, कोर्डिजोन क्याप्सुल, च्यवनप्राश सहित माक्स र सेनिटाइजर प्रदान गरेका थिए ।

स्वास्थ्यको विषयमा जानकार नहुँदा मानवीय क्षतिसमेत हुने गरेकाले संक्रमितको स्वास्थ्यस्थिति बुझ्न उनीहरुकै घरमा जाने गरेको नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइन् । संक्रमितका घरघरमा नगरप्रमुख जनप्रतिनिधि र स्वास्थ्यकर्मी रोग प्रतिरोधात्मक क्षमताका औषधि लिएर आउँदा आफूहरुकाे मनोवल उच्च भएको वडा नं १ का संक्रमित दलबहादुर बोहोराले बताए ।

शिवसताक्षी नगरपालिकाले दिएको रोगप्रतिरोधात्मक क्षमताका औषधि सेवन गरेकै कारणले आफू संक्रमण मुक्त भएको वडा नम्बर २ का अजित मण्डलले बताए । त्यसैगरी झापाकाे दमक नगरपालिकाले होमआइसोलेसनमा रहेका काेराेना संक्रमितहरुलाई वडा–वडाका समितिहरुले समन्वय गरिरहेको र उनीहरुका लागि दमक नगरपालिकाले सन्देशमूलक पर्चा, ४ किसिमको औषधिसहितको किट प्याकेट लिएर घरघरमा जाने गरेको दमक नगरपालिकाकि उपप्रमुख तथा कोभिड उपचार केन्द्रकी संयोजक गीता अधिकारीले बताइन्।

त्यसैगरी बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी,नगरपालिका प्रेस सम्योजक रमेश तिवारी, जनप्रतिनिधि नगरपालिकाको स्वास्थ्य शाखाको टोलि होम आइसोलेसनमा बसेका काेराेना संक्रमितलाई भेटेर हाैसला प्रदान गरेका छन्। उनले काेराेना संक्रमितसँग ब्यवहार किरियापुत्रिकाे र स्याहार सुसार सुत्केरीकाे गर्न आग्रह गर्दै काेराेना संक्रमितको उपचारमा आफू दत्तचित्त भएर लाग्ने बताए।

त्यसैगरी झापाकाे कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम, हल्दिबारि गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, बाह्रदशि गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीलगायत पनि जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख ,अायुर्बेद शाखा प्रमुखहरु लिएर पाेषिलाे खानेकुरा, स्वास्थ्य सामग्रीसहित काेराेना संक्रमितको घर घरमा पुगेर उनीहरुकाे स्वास्थ्य स्थितिबुझ्दै हाैसला बढाउन थालेका छन्।

कोरोना संक्रमित विरामीलाई एक्लै राख्दा उसको दिमागमा अनेक कुराहरु आउने, एक्लो महसुस हुने भएकाले उसलाई कसरीहुन्छ खुसि राख्ने कार्य गर्नुपर्ने हल्दिबारि गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन बताउँछन्। आफुहरुले काेराेना संक्रमित विरामीलाई भेट्दा उनीहरुले आफुहरुकाे मनोबल उच्च भएको बताएकाे उनले बताए । आफ्नो क्षमताले भ्याए अनुसार काेराेना संक्रमित जनताको समस्या र स्वास्थ्य अवस्था बुझेर समाधान गर्न आफु हर हालतमा लागि पर्ने उनी बताउँछन् ।

काेराेना संक्रमितकाे एन्टिजेन र पिसिआर परिक्षण गराउँदै झापाका जनप्रतिनिधि झापामा काेराेना संक्रमित बढेसँगै पन्ध्र वटै स्थानीय तहका जनप्रतिनिधिले स्थानीयको‌‌ निःशूल्क एन्टिजेन र पिसिआर परीक्षणकाे दायरा बढा‌एका छन् । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनलेे अर्जुनधारा नगरपालिका वडा नम्बर १०, वडा नम्बर ९ र ११ का बासिन्दाकाे पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको बताए।

अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा पीसीआर परीक्षण गर्न पहुँच नपुगेका तथा संक्रमितहरुकै लागि पुनः परीक्षणका लागि स्वाब संकलन गरिएको वडाध्यक्ष गोम्देनले बताए । त्यसैगरी अर्जुनधारा नगरपालिकाले कोरोना भाइरस संक्रमणको एन्टिजेन परीक्षण निःशूल्क गर्न शुरु गरेको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बताए।

बाह्रदशिका काेराेना संक्रमितको घरमा सांसद राजेन्द्र लिङ्देन।

काेराेना संक्रमित व्यक्तिको परिवारमा काेराेना भाइरस संक्रमणको लक्षण देखा परेका व्यक्तिको एन्टिजेन परीक्षण गरिएको बताउँदै उनले सबै वडामा एन्टिजेन परीक्षण गरिने बताए। झापाको सबै पालिकाले निःशूल्क एन्टिजेन र पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाएका छन्।

पालिकाहरुले प्रत्येक वडामा निःशूल्क एन्टिजेन र पिसिआर परीक्षण गर्ने व्यबस्था मिलाएकाेले काेराेनाकाे लक्षण देखिएकालाई परीक्षण गराउन सहज भएकाे छ। जसले गर्दा झापामा काेराेना संक्रमणको दर घट्ने निश्चित छ।

झापा क्षेत्र नं ३ बाट निवार्चित प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन पनि यतिबेला काेराेना संक्रमित भएकाकाे ‌आत्मबल बढाउन लागिपरेका छन्। उनले बाह्रदशि गाउँपालिका -६ का काेराेना सँक्रमितहरुकाे घर घरमै भेटेर उनी हरुकाे स्वास्थ्यस्थिति बुझ्नुका साथै हौसला प्रदान गरेका थिए।

काेराेनाकाे महामारीकाे समयमा आफ्ना क्षेत्रका जनताको स्वास्थ्य स्थितिबारे जानकारी लिनु र उनीहरुलाई आवश्यक सहयोग गर्नु आफ्नो कर्तव्य भएको उनले बताए।

त्यसैगरी सांसद लिङ्देनले मेची अस्पतालको निरीक्षण गर्दै मेची अस्पतालमा रहेको कोभिडका बिरामी उपचार सम्बन्धी व्यवस्थापन लगायतका समस्या समाधानको पहल गरिदिएका छन्। त्यस्तै उनले निषेधाज्ञाका कारण भाेकभाेकै बस्न बाध्य बिर्तामोड र बाह्रदशीका अपांग, एकल महिला तथा दैनिक ज्याला मजदुरी गरिखाने १०० घर परिवारलाई ओरेन्टाे मल्टि ट्रेड प्रालिकाे सहयोगमा उपलब्ध राहत सामाग्री वितरण गरेका छन्।

काेराेना नियन्त्रणमा प्रदेश सरकारकाे भुमिका महत्वपूर्ण

कोभिड १९ महामारीको राेकथाम, उपचार र नियन्त्रणका लागि प्रदेश नम्बर १ सरकारले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाे छ। कोभिड १९ महामारीको राेकथाम, उपचार र नियन्त्रणका लागि प्रदेश नम्बर १ सरकारले आर्थिक वर्षका लागि चाैवालिस कराेड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

प्रदेश नम्बर १ सरकारले कोभिड १९ महामारीको राेकथाम, उपचार र नियन्त्रणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने योजना रहेको जनाएको छ। त्यस्तै राहत, सहुलियत दरमा ऋण र पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारले सञ्चालन गर्ने आयाेजनामा स्थानीयबासीलाई राेजगारिकाे अवसर सिर्जना गर्ने लगायतका याेजना अघि बढाउने भएको छ।

त्यस्तै प्रदेश नम्बर १ सरकारले स्वास्थ्य ‌ क्षेत्रमा यस आर्थिक वर्षका लागि तीन अर्ब पच्चीस कराेड बजेट विनियोजन गरेर कोभिड १९ महामारीको राेकथाम, उपचार र नियन्त्रणका लागि उल्लेख्य कार्य गर्ने भएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा, प्रदेश सरकारकाे प्रतिबद्धता भन्ने नाराका साथ काेभिडकाे राेकथाम, उपचार गर्ने शिलशिलामा निर्माण भएका सबै स्वास्थ्य संरचनाहरु स्थानीय तहकाे सहकार्यमा नियमित संरक्षण र सम्भार गर्ने भएको छ।

त्यस्तै अक्सिजन प्लान्ट ,सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक यन्त्र, उपकरण, आैजार र पुर्वाधारसहित झापाकाे मेची प्रादेशिक अस्पताल भद्रपुरलाई दुई सय शय्याको अस्पताल स्तराेन्नति गर्ने भएको छ।

त्यस्तै झापाकाे दमकको लाइफलाइन अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि कोभिड १९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय र कोभिड उपचार युनिट सञ्चालनका लागि लाईफलाइन अस्पतालबीच दूई पक्षिय सम्झौता भएकाे लाइफलाइन अस्पतालका मेडिकल डाइरेक्टर सूर्यनारायण शाहले बताए।

लाइफलाइन अस्पतालमा भर्ना भएका कोराेना संक्रमितका विरामीहरुका लागि प्रदेश सरकारले उपचारका लागि निश्चित तोकिएको सहयोग उपलब्ध गराउने उनले बताए । त्यस्तै प्रदेश नम्बर १ सरकारले कोभिड १९ महामारीको राेकथाम, उपचार र नियन्त्रण गरी प्रदेशका जनताकाे जिवन बचाउने भएको छ।

कोभिड १९ महामारीको राेकथाम, उपचार र नियन्त्रणका लागि झापाको पुर्विनाकासहितका खुला सीमा क्षेत्रलाई व्यवस्थित गरिएको प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले बताए। विदेशवाट आउने नागरिकलाई हाेल्डिङ एरियामा राखेर काेराेना संक्रमण देखिएकालाई अस्पताल र काेराेना संक्रमण नदेखिएकालाई घर पठाउने व्यवस्था मिलाइएको उनले बताए।

सिमा नाका भएर भित्रिनेकाे अनिवार्य एन्टिजेन परिक्षण गर्ने गरेको उनले बताए। कन्ट्रयाक्ट ट्रेसिङकाे आधारमा प्रयाप्त मात्रामा पिसिआर र एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाइएको मन्त्री कार्कीले बताए। प्रदेश नम्बर १ का काेराेना संक्रमित भएकाकाे सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताउँदै उनले काेहिपनि काेराेना संक्रमितले अस्पतालकाे मुख नहेरी मर्नु नपर्ने जनाए।

प्रदेश नम्बर १ का जनताकाे स्वास्थ्यकाे पूर्ण ग्यारेन्टी प्रदेश सरकारले लिएको बताउँदै मन्त्री कार्कीले अब कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here