हल्दिवारीः ‘द्वार एक, सेवा अनेक’

0
1011

सुरेन्द्र भण्डारी
झापा,  नेपालकै होचो भू–भाग भनेर चिनिएको केचनादेखि करिव २५ किलोमिटर उत्तर पश्चिममा रहेको धनुष पोखरीलाई पूरातात्विक र ऐतिहासिक महत्वको पोखरीको रुपमा लिइन्छ ।


यो पोखरी हल्दिवारी गाउँपालिकाको वडा नम्वर ५मा अवस्थित छ । महाभारतकालीन इतिहाससँग जोडिएको यो पोखरीको वरिपरि विभिन्न धर्मावलम्वीहरुका मठ मन्दिरहरु रहेका छन् ।
पोखरीको अर्को अनौठो विशेषता हो यहाँको पोखरीमा रहेका माछा मार्ने वा निकाल्ने गरिदैन । यही किम्वदन्तीलाई आत्मसात ँ गर्दै गाउँपालिकाको निर्माणाधीन भवनलाई समेत धनुष आकारमा तयार गरिएको छ । तीन करोड ९० लाख ७९ हजार ३ सय ३ रुपैयाँ ४० पैसाको लागतमा निर्माणाधीन भवनको पश्चिमतर्फको भागलाई धनुष आकारमा मोडिएको छ ।
धनुषपोखरी आसपासको क्षेत्रमा स्थानीय दाताले एक विगाह १० कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएपछि गाउँपालिकाको प्रशासनिक भवन अहिले निर्माणाधीन अवस्थामा रहेको छ । निर्माणाधीन गाउँपालिकाको भवनको करिव ८० प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।
२०७६ साल जेठ १ गते किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङ्ग कम्पनी सुकेधारा काठमाडोंले भवन निर्माणको ठेक्का लिएको थियो । सोही वर्षको असार ३० गते भवन निर्माणको काम सम्पन्न गर्नु पर्ने भए पनि कोभिड १९को बढ्दो संक्रमणका कारण निर्माणको काम सम्पन्न हुन नसकेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए ।
आगामी दुई÷तीन महिना भित्रै गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने गरी तयारी भइरहेको छ– अध्यक्ष लिङ्देनले भने– ऐतिहासिक महत्व बोकेको धनुष पोखरीको संरक्षण र गाउँपालिकाको प्रशासनिक भवन निर्माण एकैपटक सम्पन्न हुँदैछ । गाउँपालिकाको प्रशासनिक भवन नहुँदा अहिलेपनि गाउँपालिकाको काम भाडाको घरबाट सञ्चालन गर्नु परेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए ।
अब केही महिनाभित्रै गाउँपालिकाको भवन निर्माण सम्पन्न हुन्छ– अध्यक्ष लिङ्देनले भने– हामीले निर्माण गरेको भवन छुट्टै मोडालिटीको छ । सेवाग्राही सेवा लिन आएपछि एउटै हाताभित्रबाट सबै सेवा एकै पटक लिन सक्छन् । त्यही डिजाइनमा हामीले भवन निर्माण गरिरहेका छौं । जनप्रतिनिधि बस्ने छुट्टै भवन हुन्छ, बाँकी कर्मचारीका लागि सेवा प्रवाह गर्न एकै ठाउँबाट मिलाइन्छ – अध्यक्ष लिङ्देनले भने ।

गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय दाताले सीमाना मिल्दो गरी जमिन छुट्याएर प्रदान गरेको र गाउँपालिकाको भवन यस क्षेत्रमा बनेकोमा सबै गाउँपालिकावासी हर्षित भएको अध्यक्ष लिङ्देनले बताए । भवन निर्माणका लागि देउकुमार लिम्बू, सन्तोष मेयाङ्वो, तीलप्रसाद सुवेदी लगायतले जमिन उपलब्ध गराएको लिङ्देनले बताए । ऐतिहासिकतालाई समेत मध्यनजर गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको र भवन भूकम्प प्रतिरोधी रहेको बताइएको छ ।
यता गाउँपालिकाका इञ्जिनियर संकल्प खनालले २०७४÷०७५को बजेटबाट गाउँपालिकाको भवन निर्माण भइरहेको बताएका छन् । कूल लागत ५ करोड ५१ लाख २हजार ८ सय ६१ रुपैयाँ अनुमान गरे पनि तीन करोड ९० लाखमा ठेक्का लगाएको उनले बताए । भवन व्लक÷व्लक सिस्टममा तयार भएको इञ्जिनियर खनालले बताए । उनले भने– भवनमा सातवटा व्लक रहेका छन् । जसमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , मिटिङहल, प्रशासनिक भवन, धनुषपोखरी आकारमा निकाल्न अन्य व्लक बनाइएको छ भने क्यान्टिन हल समेतसंगै रहेको छ ।
द्वार एक, सेवा अनेकको अवधारणामा तयार गरिएको यो भवन प्रमुख प्रशासकीय अधिकृतको कोठामा प्रवेश गरेपछि सवै सेवाग्राही काम सम्पन्न नगरुञ्जेल वाहिर निस्कनु पर्दैन । सवै सेवा भित्रैवाट हुन्छ । करिव ५ सय जना मानिस अटाउन सक्ने गरी प्रशासनिक भवन बनाइएको छ– इञ्जिनियर खनालले भने । धनुष आकारमा तयार गरिएको भवनको मोहोडा तयार गरिएको र धनुषको टुप्पो मात्र बनाउन बाँकी रहेको निर्माण व्यवसायी राम वान्तवाले बताए । ऐतिहासिकताको आधारमा निर्माण गरिएको यो भवन निर्माण सम्पन्न भएसंगै यसले छुट्टै महत्व राख्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here