कोरोना कहर : बन्द नाका, खुला मानव तस्करी

0
752

नरेश खाती,

कथा एक : गरिबीले थिचिएको परिवारमा जन्मिएकी संखुवासभाकी १९ वर्षीया सगरमाथा (परिवर्तित नाम)लाई पैसा कमाउने हुटहुटी थियो । यही महत्वकांक्षाले छिमेकी दाइ भीमन राई (३९)सँग नजिकिइन्, । भीमनले उनलाई हङकङमा राम्रो कमाई हुने र त्यहाँसम्म पुग्न सहयोग गर्ने आश्वासन दिए । सरमाथालाई सहजै यस प्रस्तावले आकर्षित ग¥यो । भीमन र युवतीबीच तत्काल हङकङ जाने प्रक्रिया थाल्ने सल्लाह भयो । भीमनको प्रस्ताव थियो– ‘हामी भारतको बाटो भएर जानुपर्छ । भारतको दिल्लीबाट हवाइजाहज चढेर हङकङ जाने हो ।’२०७७ मंसीर १७ गते सल्लाह अनुसार सगरमाथा घरबाट खाँदबारी आइन् । भोलिपल्ट मंसीर १८ गते भिमन र सगरमाथा इटहरी आएर बसे । मंसीर १९ गते उनी भिमनको मोटरसाइकलको पछाडि बसेर काँकरभिट्टाको बसपार्कसम्म आइपुगिन् । उनी कतिबेला काँकरभिट्टा पार गरेर, भारत हुँदै हङकङ पुग्ने भने हतारोमा थिइन् ।

भिमनले काँकरभिट्टामा मोटरसाइकल राखे । उनीहरु दुबै काँकरभिट्टाको गेट पार गर्नै लाग्दा शंका लागि माइती नेपालका कर्मचारीले रोके । माइती नेपालका कर्मचारी र पुलिसको सोधपुछपछि सगरमाथा छाँगोबाट खसे झैं भइन् । त्यति बेला मात्रै उनीलाई आफू बेचिन लागेको थाहा भयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले भिमनलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको आरोपमा हिरासतमा राखेर अनुसन्धान शुरु गर्यो । युवतीलाई केही दिन काँकरभिट्टा माइती नेपालको संरक्षणमा राखी आफ्न्तको जिम्मा लगाइयो । प्रहरीको अनुसन्धान पछि भिमन अहिले पुर्पक्षका लागि झापा जिल्ला कारागारमा छन् । कथा दुईः मकालु (परिवर्तित नाम) १७ लाई काठमाडौंमा बस्ने सानीआमा सुत्केरी भएको खबर आयो । उनी सानीआमालाई सुत्केरी खुवाउन खाद्य सामग्री लिएर जाने भइन् । मकालुकी मिल्ने साथी कंनचनजंघा–१६ (परिवर्तित नाम) पनि उनीसँगै काठमाडौं जान तयार भइन् । काठमाडौं जाँदा उनीहरुले सल्लाह गरेका थिए– उतै काम खोजेर गर्ने ।

काठमाडौं पुगेको केही दिनमै मकालुले– परिवर्तित नाम) गाउँकै चिनेको साथी हिमाल तामाङलाई फोन गरिन् । दुई जनाका लागि काम खोजी दिन आग्रह गरिन् । हिमालले हेटौँडामा चिनेको साथी होटलको म्यानेजर भएको र त्यहीँ काम लगाइदिने आश्वासन दिए । उनका अनुसार दुई जनाले होटलको काम खान बनाउने, टेबल सफा गर्ने गर्नुपर्नेछ । त्यसबापत मासिक १५–१६ हजार तलब दिने आश्वासन दिए । दुवै बालिकालाई हिमालको आश्वासनले आकर्षित ग¥यो । दुवै बालिका हिमालको प्रस्ताव स्वीकार गरी हिमालसँग हेटौंडाको होटलमा काम पाउने आशमा बाटो लागे ।

हिमालको साथी र दुई बालबालिका स्वयम्भुको होटलमा मेनेजरको पर्खाइमा एक रात बास बसे । भोलिपल्ट मेनेजर भनिएको नचिनेका व्यक्ति आए । त्यही दिन, छ जना माइक्रो बस चढेर हेटौंडा जान भनी हिँडे । बाटोमा रात परेपछि त्यही बास बसे । बालिकाहरुलाई थाहा थिएन ‘हामी कहाँ छौँ’ । भोलिपल्ट बिहान बस चढेर पुनः हेटौंडा जान भनी हिँडे । त्यतिबेलासम्म दुवै बालिकाहरुलाई हेटौंडा नै गएको भन्ने भइरहेको थियो । बसबाट ओर्लिएर सानो होटलमा सबैले खाजा खाए । त्यही समय एक महिला आइपुगिन् । उनी सुनिता राई थिइन् । हिमालले अधबंैसे महिलालाई देखाउँदै भने– ‘उनै दिदीले काम लगाइदिने हो । दिदीसँग जानु हामी पछाडि आउँछौं ।’ त्यति भनेर हिमाल त्यहीँ बसे । उनीहरु त्यतिबेलासम्म झापाको काँकरभिट्टा आइसकेका थिए । सुनिताले प्रहरीले सोधी हाले लुगा किन्न जाने भन्न लगाएकी थिइन् ।

सुनिताले आफ्नो डेरामा लगिन् र बालिकाहरुलाई झोला राख्न लगाइन् । सुुनिताका साथमा दुबै बालिका मेची पुलमुनिबाट पानीट्याङ्कीतिर लागे । मेची खोला तरिसकेपछि सशस्त्र प्रहरीलाई शंका लागि सोधपुछ ग¥यो । प्रहरीले सोध्दा दुबै बालिकाले सुनिताले सिकाए जसरी घर धरान भएको र पारी लुगा किन्न गएको बताए । त्यतिले मात्रै प्रहरीलाई शंका निवारण भएन । प्रहरीले माइती नेपाललाई खबर ग¥यो । माइती नेपालको परामर्श पछि मात्रै दुवै बालिकाले हेटौंडा लैजाने भनी एतातिर ल्याएको बताए । त्यतिबेलासम्म उनीहरुलाई भारततर्फ लैजान लागेको थाहा थिएन । प्रहरीले सुनिता राईलाई पक्राउ गरी गर्न सफल भयो । अनुसन्धानपछि सुनिता र हिमाल तामाङविरुद्ध प्रहरीले झापा जिल्ला अदालतमा २०७७ फागुन २ गते मुद्दा दर्ता ग¥यो । सुनिता पुर्पक्षका लागि थुनामा छिन भने हिमाल भने फरार छन् ।

यी दुई घटना महामारीका बेला भएका मानव तस्करीका प्रतिनिधि घटना हुन । विश्वव्यापी फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन गरिए पनि विभिन्न प्रलोभनमा पारेर मानव तस्करी भइरहेको छ । कोरोनाको माहामारीको समयमा पनि मानव तस्करी उत्तिकै मौलाएको छ । बर्षेनि हजारौंको संख्यामा विविध प्रलोभन देखाएर मानव तस्करी गरिन्छ । माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरे भन्छन्– ‘धेरैजसो वैदेशिक रोजगारी बहानामा नेपाली चेलीहरु बेचिन्छन् । भारतमा नेटर्वर्किङ बिजनेशको बहानामा डान्सबार, रेष्टुरेण्टमा काम लगाउने बहानामा मानव तस्करी हुने गरेको छ ।’

किन हुन्छ मानव तस्करी ?

मानव बेचबिखन गर्ने उद्देश्यले नै मानव तस्करी हुने गरेको पाएको छ । विभिन्न प्रयोजनका निमित्त मानव बेचबिखन गरिएको पाइएको छ । मानव बेचबिखन सम्बन्धी काम गर्ने संस्थाहरुका अनुसार खास गरी यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबरजस्ती श्रमका लागि मानव तस्करी हुने गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार, अवैध लागूऔषध र हातहतियार कारोबारपछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार रहेको छ । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार पछिल्लो केही वर्षयता महिलाहरुलाई वैदेशिक रोजगारीमा लैजाने बहानामा ठूलो संख्यामा मानव तस्करी हुने गरेको बताउँछन् । ‘साना हातहरु’का अध्यक्ष जगत वाग्ले भन्छन्– ‘बिशेषगरी १८ देखि २४ वर्षम्मका युवायुवती मानव बेचबिखनको उच्च जोखिममा रहेको तथ्याङ्क छ ।’

राष्ट्रिय मानव अधिकार आयोगले प्रकाशन गरेको ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६’ अनुसार थुप्रै युवा मानव बेचबिखनको प्रलोभनमा पर्ने गरेको उल्लेख छ । युवाहरुलाई मलेसिया लगायत खाडी मुलुक, इराक, लिबिया, अफ्रीका, अमेरिका, अस्ट्रेलिया, जापान, जर्मनी, सिरीया, ओमान, तजाकिस्तान तथा युरोपीयन राष्ट्रहरुसम्म पु¥याउने प्रलोभनका साथ भारतको बाटो हुँदै लैजाने अभ्यास संगठितरुपमा बलियो रहेको प्रतिवेदनमा उल्लेख छ । श्रम विज्ञ डा. गणेश गुरुङ अनुसार ‘नेपालमा रोजगारीका प्रशस्त अवसर सिर्जना नहुँदा र मलेसिया लगायत खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने कामदार रोक लगाएसँगै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली कामदारको संख्या बढ्दै गइरहेका ठहर छ ।

तथ्यांकमा मानव तस्करी :

जिल्ला प्रहरी कार्यालय झापाको २०७६÷०७७ तथ्यांक अनुसार हराएका छ सय ४९ जनामध्ये तीन सय ४५ जना महिला दुई सय ५९ जना बालबालिका र एक सय ३० जना पुरुष र १५ जना जेष्ठ नागरिक रहेका छन् । जसमध्ये दुई सय ४८ जना महिला ३७ जना बालबालिका फेला परेका उल्लेख छ । जसमा ४३ प्रतिशत १८ देखि ३० वर्ष उमेर समूहका छन् । त्यस्तै जिल्ला प्रहरीकै ०७६ पुष ९ देखि ७७ पुष ९ अवधि अर्थात् (कोरोना कालको) तथ्यांक अनुसार छ सय ५२ हराएको मध्ये चार सय २५ जना फेला परेको उल्लेख छ ।

यसै समयमा एक सय ७६ जनालाई सीमा नाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको उल्लेख छ भने १४ जनालाई पुनस्र्थापना केन्द्रमा राखिएको जनाइएको छ । त्यसैगरी माइती नेपालको तथ्यांक अनुसार २०७५ मा एक सय ७९ जना महिलाहरुलाई भारतको विभिन्न ठाउँबाट उद्धार गरिको थियो भने ०७६/०७७ अर्थात् कोरोना कहरमा एक सय ३१ जनालाई सीमाबाट फर्काइएको र ४१ जनालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको उल्लेख छ । ‘साना हातहरु’ आर्थिक वर्ष ०७६÷०७७ मध्ये आठ महिनाको अवधिको तथ्यांक अनुसार बेचबिखनको जोखिममा परेका पिडितहरुको उद्धार गरिएको सख्या ६० जना रहेको जनाइएको छ । यसरी विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको समयमा मानव तस्करी घटनमा उल्लेख्यरुपमा कमी नआएको देखिन्छ ।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेल, राष्ट्रिय विपत्तिका बेला सुरक्षा संयन्त्रको दिमाग अर्कातिर हुने भएको त्यही बेला हातहतियार, चेलीवेटी बेचबिखन या मानव तस्करी, लागूऔषध जस्ता अन्तर्राष्ट्रिय अपराधका संजालहरु सक्रिय हुने बताउँछन् । उनी भन्छन्– ‘यस्ता बेलामा सबैभन्दा बढी मानव बेचबिखन हातहतियार ओसारपसार र लागूऔषधको कारोबार हुन्छ ।’ झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापा यस्तो निषेधाज्ञका समयमा सहजै रुपमा मानव बेचबिखन नहुने बताउँछन् ।

मानव तस्करीको बहाना :

मानव तस्करीका विभिन्न बहाना रहेको मानव बेचबिखन तथा ओसारपसार रोकथाममा काम गर्ने संघ–संस्था तथा प्रहरीको भनाइ छ । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे महिलाहरुलाई वैदेशिक रोजगारीको बहानामा भारत लैजाने गरेको बताउँछन् । ‘साना हातहरु’ अध्यक्ष जगत वाग्ले वैदेशिक रोजगारी अतिरिक्त भारतमा विवाह गराइदिने, राम्रो काम प्रलोभन लगाइ दिने जस्तो प्रलोभनमा भारत लैजाने गरेको बताउँछन् । बाबु–आमा नभएका बालबालिका घर छाडेर हिँडेका बालबालिकालाई भने भारतमा सजिलो र राम्रो तलब भएको काममा लगाइदिने प्रलोभनमा भारत लगिन्छ ।

अध्यक्ष वाग्ले बिगतको एउटा घटना सुनाउँदै भन्छन्– ‘पोहोर साल अभिभावक नभएकी, झापाकी एक १३ वर्षीया बालिकालाई भारतमा कुखुराको अण्डा टिप्ने काम छ भनी लगिएको रहेछ ।’ अभिभावकबाट हेला गरिएका, बाबु–आमा नभएका, आर्थिक अवस्था कमजोर भएका, कम लेखपढ भएका महिला तथा बालबालिका नै बेचबिखनको शिकारमा परेका मानव बेचबिखन तथा ओसारपसार रोकथाममा काम गर्ने संघ–संस्थाहरुको ठम्याइ छ । पछिल्लो समयमा पढेलेखे पनि वैदेशिक रोजगारीको बहानामा मानव तस्करी पर्ने गरेका छन् ।

पक्राउ पर्दैनन् दलाल :

प्रत्येक वर्ष ठूलो संख्यामा बेचबिखनमा पर्न लागेको महिला बालबालिकाहरुको उद्वार गरिन्छ । तर, तिनीहरुलाई लैजाने दलाल भने सधैँ उम्कने सफल हुन्छन् । काँकरभिट्टामा रहेको माइती नेपाल पूर्वाञ्चल शाखाको तथ्यांक अनुसार सन् २०२० र २०२१ को एक वर्षको अवधिमा एक सय ३१ जना महिला बालबालिकालाई पूर्वी नाकाबाट रोकेको र ४१ जनालाई उद्वार गरिएको उल्लेख छ । तर, संस्थाले तीन वटा मात्रै मुद्दा दर्ता गर्न सफल भयो । धेरै मानव बेचबिखन गर्ने दलाल चिनजानका गाउँले नाता पर्ने भएकोले पीडितले उजुरी गर्दैनन् । तर, त्यही गाउँले नाता उनीहरुका शत्रु हुन्छन् भन्ने कमैले मात्र बुझेका हुन्छन् ।

माइती नेपाल पूर्वाञ्चल शाखाको संयोजक गोविन्द घिमिरे’ ‘पीडितले सकेसम्म दलालको पहिचान नखोल्ने गरेको बताउँछन् । उनी पीडित र पीडितको आफन्तले दलालको पहिचान नखुलाएको कारण दलाललाई पक्राउ गर्न नसकिएको बताउँछन् । घिमिरेका अनुसार ‘प्राय दलाल गाउँकै चिने जानको गाउँले नाता पर्ने हुन्छन् । दलालहरु गाउँकै काका, मामा, दाजु साइनो पर्ने हुन्छन् । त्यही भएर पीडित र पीडितका आफन्तले दलालले बेचबिखन गर्दैनन् भन्ने विश्वास गर्दछन् ।’ पीडितका आफन्तको यही विश्वास महँगो पर्छ ।

झापामै रहेर मानव बेचबिखन रोकथाम गर्दै आएको ‘साना हातहरु’ नामक संस्थाले आ.व.०७६÷०७७ को आठ महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ६० जना पीडितहरुको उद्धार गरेको उल्लेख छ । संस्थाका अध्यक्ष जगत वाग्ले, पीडितहरुले दलालविरुद्ध उजुरी नदिएकोले पक्राउ पर्न नसकेको बताउँछन् । पीडितका परिवारले स्पष्ट दलालको नाम नभने पनि भनेकामध्ये बार–बार एउटै दलालको नाम दोहो¥याउने गरेको अध्यक्ष वाग्ले बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापा दलाल पक्राउ नपर्नुमा पीडितले उजुरी नगरेका कारण मुख्य रहेको बताउँछन् । दलाल पक्राउ नपर्नुका पछाडि दलालको धाकधम्की र प्रलोभन पनि मुख्य कारण रहेको माइती नेपाल पूर्वाञ्चल शाखाको संयोजक गोविन्द घिमिरेको ठहर छ । ‘पीडितले पोल खोलेमा दलालले पीडितको परिवारमा क्षति पु¥याइ दिने धम्की दिन्छन् रे’ –घिमिरेको थप्छन्– ‘पोल नखोले घर बनाइ दिने खेत किनिदिने जस्ता प्रलोभन देखाएकोले पीडितले दलालको पहिचान खुलाउँदैनन् ।’

वेपर्वाह स्थानीय सरकार

नेपालको पूर्वीमा भारतसँग जोडिएका मुख्यगरी इलामको पशुपतिनगर, काँकरभिट्टा, विराटनगरको जोगमनी नाका रहेका छन् । यी सीमानाकाबाट दैनिक हजारौं मानिसको आवत–जावत हुने गर्दछ । यी देखि बाहेक सानातिना थुपै्र खुला सीमाना छन् । जहाँबाट सजिलै नेपाल–भारत जान–आउन सकिन्छ । यसको फाइदा मानव तस्करी गर्ने दलालले सहजरुपमा लिएका छन् । त्यसको पछिल्लो उदाहरण २०७५ फागुन ७ गते भारतको मणिपुरबाट एक सय ४७ जना महिलाहरुलाई उद्धार गरिएको थियो । झापाका १५ वटा स्थानीय तहमध्ये मेचीनगरको काँकरभिट्टा र भद्रपुरको गलगलीया नाकाबाट खुला सीमानाको उपयोग गर्दै मानिसहरु आवत–जावत गर्दछन् । हजारौंको संख्यामा यही नाका भएर नेपालीहरुलाई बेचबिखनको उद्देश्यले भारत लगिन्छ । तर, स्थानीय तहमा मानव तस्करीको रोकथाम गर्न बजेट तथा कुनै कार्यक्रमको छैन । मानव बेचबिखन हुन नदिन सक्रिय रहेका केही संस्थाहरु र प्रहरी मात्रै मानव तस्करीको रोकथाममा लागि परेका छन् ।

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५, को नियम ७ को (१) (ख) मा स्थानीय तहमा मानव बेचबिखन समिति गठन गर्ने प्रावधान छ । तर, पनि हालसम्म झापाका कुनै पनि स्थानीय तहमा यस्तो समिति गठन हुन नसकेको छैन । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले ‘स्थानीय तहहरुले आफू रहेको संस्थालाई आर्थिक सहयोग नगरेकोे र अरु यस्तै संस्थाहरुलाई सहयोग गरेको आफूलाई थाहा नभएको बताए । उनले भने– ‘मेचीनगर नगरपालिकाले हालसम्म हामीलाई आर्थिक सहयोग गरेको छैन ।’ झापाका एकाध स्थानीय सरकारले मानव बेचबिखन रोकथामका जनचेतनामूलका कार्यक्रम गरेका छन् । अर्को सीमानाकामा रहेको भद्रपुर नगरपालिकाकाले मानव बेचबिखन रोकथाम लागि रुपमा बजेट विनियोजन नगरे पनि समग्ररुपमा विभिन्न शीर्षकमा सचेतनामूलक कार्यक्रममा बजेट विनियोजन गरेको उपप्रमुख चन्द्रमाया श्रेष्ठले बताइन् । उपप्रमखले भनिन्– ‘घटना हुन नदिन विभिन्न शीर्षकमा जनचेतनामूलका कार्यक्रम गरेका छौं ।’ उनले कोभिडको कारणले ती कार्यक्रम पनि रोकिएको जानकारी दिइन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले पहिला जसरी काम भइरहेको थियो, त्यसरी काम भइरहेको बताए । उनले झापाका कुनै पालिकाहरुले बजेट विनियोजन नगरेको स्वीकार गर्दै आगामी दिनमा पालिकाहरुसँग लविङ्ग गर्ने बताए । झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापा स्थानीय तहले शंकास्पद सूचनाहरु थाहा भएको अवस्थामा जानकारी दिएर सहयोग गर्न सक्ने बताउँछन् । मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेल स्थानीय तहहरु संविधानले दिएको जिम्मेवारी निर्वाह गर्न चुक्नु नहुने बताउँछन् । अध्यक्ष खरेल स्थानीय सरकारले रणनीतिक योजना बनाउनुपर्नेमा जोड दिँदै भन्छन्– ‘स्थानीय सरकारहरुले चेलीबेटी बेचबिखन मानव तस्करी बलात्कार जस्ता जघन्य अपराध र सामाजिक अपराधमा रणनीतिक योजना नै तयार गरेर जानुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here