सिम्रिकद्वारा बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम

0
603

बिर्तामोड ।

बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ ।

संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यहरुका लागि फागुन २९ देखि चैत २ गतेसम्म तालिम दिइएको हो । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षतामा विशेष कार्यक्रमका बीच तालिम सञ्चालन गरिएको थियो ।

उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले सुन्दा सजिलो लागे पनि पशुपालन व्यवसाय त्यति सहज नभएको प्रष्ट पारेका थिए ।

मौरी र बाख्रा पालनका लागि हावापानी, चरन, दानापानी, बासस्थल, स्याहार सुसार कस्तो हुनुपर्छ भन्ने अनुभव संगालेका कृषकहरुबाटै सहजीकरण गरिने तालिम महत्वपूर्ण हुने अध्यक्ष भट्टराईले सहभागीहरुलाई सुझाव दिए ।

यसरी नै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सिम्रिक साकोसको वर्तमान वित्तीय स्थिति एवम् सदस्य र सेवा केन्द्रहरु बारे जानकारी गराए । उनले तालिम आयोजना गर्नुको औचित्य प्रष्ट्याउँदै सबै सेवा केन्द्रबाट चुनिएर आएका संस्थाका सदस्यहरुले तालिम पछि बाख्रापालन वा मौरीपालन गर्न व्यवसाय गर्न सक्ने हिम्मत राख्न सुझाउँदै संस्थाले आवश्यकता अनुसार कर्जा उपलब्ध गराउने बचन पनि दिए ।

सिम्रिकको लक्ष्य आफ्ना सबै ३२ हजार सदस्यहरु व्यवसायी बनुन् भन्ने रहेकाले पशुपालन कै माध्यमबाट पनि आर्थिक अवस्थामा सुधार गर्न सकिने गरी व्यवसाय गर्न तालिम फलदायी बनाउन कार्यकारी प्रमुख बस्नेतले सहभागीहरुलाई आग्रह गरे ।

तालिम उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक हरिप्रसाद कडरिया, घनश्याम न्यौपाने र खेमराज ढकालले आफ्ना धारणा राखेका थिए । उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको सहजीकरण प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुली र सतासी महिला मौरीपालन सहकारी संस्था दूधेका प्रतिनिधिले गरेका थिए ।तालिममा सिद्धान्तका कुरामात्र नगरी आफूले सात वर्षदेखि उन्नत जातका बोयर बाख्रा पालेर बटुलेको अनुभव साट्ने सहजकर्ता पराजुलीले जानकारी दिए ।

‘तालिममा बाख्राको खोर ब्यवस्थापन कसरी गर्ने, गुणस्तरीय दानाको उत्पादन, व्यवस्थापन तथा खुवाउने तरिका बारे सैद्धान्तिक ज्ञान बाँडिने छ भने प्रगति बोयर फर्मको स्थलगत अवलोकन भ्रमण गराइनेछ’ सहजकर्ता पराजुलीले बताए ।

शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शिक्षा उपसमितिका अर्का सदस्य मदन रिजालले शाब्दिक स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here