समृद्धिको आधार : जैविक प्रविधिको बिस्तार

0
766

विगत केही बर्ष अघिदेखिन नेपालमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा आम जनमानसमा पुगेको छ । गफको बिषय त मज्जाले बनेको यो नारा व्यवहारमा त्यति देखिन्न । जताततै धुले बाटोमा ग्राभेल अनि ग्राभेल बाटाहरुमा पातलो कालोपत्र हाल्नमा प्रतिस्पर्धा चलेको देखिन्छ । अहिले बिकास भनेकै बाटो भन्ने बुझ्न थालिएको छ । जताततै अग्ला–अग्ला दृष्यावलोकनका लागि भ्यू–टावर बन्ने होड नै चलेको छ । मनोरञ्जन र स्थानीय पर्यटनदेखि बाहेक यसको टेवा केही देखिन्न । स्तरीय अस्पताल, अक्सिजन प्लान्ट, बिद्यालय शिक्षा, कृषि उत्पादन र जडिबुटी खेती छायाँमा परेका छन् । झन् जैविक प्रविधि कसैको चासोको बिषय बनेको पनि छैन । समृद्धी बहुआयामिक हुन्छ । यसले जनजिविकाका सबै पक्षलाई समाएको हुनु पर्दछ ।

समृद्ध समाजमा सडक, बत्ती, पिउने सफा पानी, सहज स्वास्थ्य सेवा, शिक्षा, सञ्चार, रोजगारी, कृषि उत्पादनमा बढोत्तरी, सिँचाइ आदिको उचित व्यवस्थापन हुनु पर्दछ । यस आलेखमा आफैंमा बहुआयामिक बिशेषता बोकेको जैविक प्रविधि र समाज विकासमा यसको महत्व बिषयलाई केन्द्रमा राखिएको छ । हाल उत्पादन भइरहेका वस्तुहरु अझ बढी मात्रामा र अझ बढी गुणस्तरीयरुपले उत्पादन गर्न सकिन्छ । सूक्ष्म जीवहरु तथा आँखाले देख्न सकिने ठूला जीवहरुलाई मानवको समृद्धि र विकासको निम्ती उत्पादनमा प्रयोग गरिनुलाई जैविक प्रविधि अर्थात् बायोटेक्नोलोजी भनिन्छ ।

यो जीव विज्ञानको एउटा नवीनतम् शाखा समेत हो । यसलाई सानो छरितोरुपमा परिभाषित गर्न समेत गाह्रो छ । युरोपियन फेडेरेशन अफ बायोटेक्नोलोजीले सन् १९८१ मा यसलाई परिभाषित गरेको छ । जसका अनुसार बायोटेक्नोलोजी भनेको वायोकेमिष्ट्री, सूक्ष्म जीवविज्ञान र जेनेटिक इञ्जिनियरिङको इन्टीग्रेटेड अर्थात् एकीकृतरुप हो । जसले सूक्ष्म जीवहरु, प्रयोगशालामा बिकास गरिएका तन्तुहरु र जैविक प्रक्रियाहरुको औद्योगिक प्रयोग गरी मानव जीवनको उन्नतीमा सहयोग पु¥याउँछ । बायोटेक्नोलोजी शब्द सर्वप्रथम सन् १९१९ मा कार्ल एरेकीले प्रयोग गरेका हुन् ।

विश्वको इतिहासलाई नियाल्ने हो भने मानिसले आफ्नो उन्नतीका लागि धैरै अघिदेखि जैविक प्रविधिको उपयोग गरेको देखिन्छ । झण्डै ६०० ई.पू.तिर नै मेसोपोटामीया, इजिप्ट र भारतीय उपमहाद्वीपमा खाद्यान्न, औषधि, कृषिमल, पेयपदार्थ आदि क्षेत्रहरुमा प्रगति र विकासका लागि मानिसहरु जानी–नजानी सूक्ष्म जीवहरुको समेत प्रयोग गर्दथे । ई पू ५०० मा चाइनिजहरुले भटमासको दही बनाइ एन्टिबायोटीकको रुपमा प्रयोग गर्दथे । सन् ११५० मा सबैभन्दा पहिलोपटक इथानल अर्थात् ईथाइल अल्कोहल बनाइयो । जसको उपयोग गरेर अल्कोहलिक पेयपदार्थहरु बनाउन थालियो । सन् १३०० मा फ्रान्समा भीनेगर (एसिटिक एसीड) बनाइयो । यसको प्रयोग अचार र अन्य खाद्यपदार्थमा गर्न थालियो । सन् १६५० मा फ्रान्सबाटै च्याउ खेतीको शुरुवात गरियो । सन् १६८० मा लेविनहुक नामका वैज्ञानिकले यीष्ट नामका सूक्ष्म जीवहरु पत्ता लगाए जसलाई फर्मेन्टेशन अर्थात् अल्कोहल बनाउन प्रयोग गर्न थालियो ।

सन् १७९७ मा जेन्नरले केटाकेटीका लागि दादुराविरुद्धको भ्याक्सिन बनाइसकेका थिए । सन् १८५७ मा लुईपास्चर नामका वैज्ञानिकले सूक्ष्म जीवहरुको व्यापक प्रयोगको ढोका खोली दिए । पास्चराइजेशन विधि समेत उपयोगमा ल्याइयो । उनलाई ‘जैविक प्रविधि विज्ञान’को पिता मानिन्छ । सन् १९१७ मा चईम वीजमेनले मकैमा पाइने स्टार्चबाट एसीटोन नामको रसायन बनाउन ‘क्लोष्ट्रीडियम एसीटोब्युटिलिकम’ नामको ब्याक्टेरियालाई उपयोगमा ल्याए । सन् १९१९ मा कार्ल एरेकीले ‘बायोटेक्नोलोजी’ शब्दको सर्वप्रथम प्रयोग गरे उनी हंगेरीका एक इञ्जिनियर थिए । सन् १९२८ मा अलेक्जेण्डर फ्लेमिङले एन्टीवायोटिक ‘पेनिसिलिन’ पत्ता लगाए । उनले एक प्रकारको ढुसी ‘पेनिसिलियम नोटेटम’ बाट उक्त एन्टिबायोटिक पत्ता लगाएका थिए । सोही बर्ष फ्रीज वेन्टले अक्जीन नामको वनस्पति हर्मोन पत्ता लगाए । सन् १९५३ मा वाट्सन र क्रीकले डीएनएको बनोट र यसको विभाजन प्रक्रियाको बारेमा आफ्नो मत राखे उनीहरुलाई नोबेल पुरस्कारबाट पुरस्कृत समेत गरियो ।

दोस्रो विश्वयुद्धको समयभन्दा ठीक अघि जापानका यावुता र सुमुकी े कुरोसावा नामका कृषकको धानखेतीमा अनावश्यक रुपले धानको बोट बढेको देखे । उनीहरुले वनस्पतिहरुको काण्ड अप्रत्याशित रुपले बढाउन सहयोग पु¥याउने हर्मोन जिब्बेरेलीन पत्ता लगाए । पछि यस्तै प्रकारका असरहरु देखाउने हर्मोनहरु प्रयोगशालामा बनाउन थालियो । सन् १९७२ मा कुनै एकप्रकारको जीवको बंशतत्वलाई परिवर्तन गरेर वा अनुपयुक्त वंशतत्व (जिन)लाई हटाएर बंशाणुमै परिमार्जन भएका नयाँ वनस्पति, प्राणी र केही सूक्ष्मजीवहरुको विकास गर्न थालियो । यो प्रविधिको ढोका पाउल वर्गले खोली दिए । उनलाई जेनेटिक ईञ्जिनियरिङका पिता मानिन्छ । सन् १९८० मा आधुनिक जैविक प्रविधिको ढोका खुलेको मानिन्छ । उक्त बर्षको जुन १६ को दिन संयुक्त राज्य अमेरिकाको सुप्रिम कोर्टले वंशाणुगत रुपले परिवर्तित जीवहरु (जेनेटिकल्ली मोडिफाईड अर्गेनिज्म÷जिएमओ) को उत्पादन, प्रशोधन, व्यापारको ढोका खुल्ला गरी दिएको थियो । सन् १९८२ मा जेनेटिकल्ली ईञ्जिनियर्ड व्याक्टेरीयाको सहयोगबाट मधुमेयका रोगीहरुका लागि ह्यमुलिन (ह्युमुलिन) नामक रसायनको उत्पादन गरियो । सन् २००० तिर नै जीएमओ प्रकारको सुनौलो धान (गोल्डेन राईस) तयार गरियो । यसको भात खाएमा भीटामिन ‘ए’ समेत प्राप्त हुन्छ । तेस्रो विश्वका लाखौंलाख रतन्धोपीडित बालबालिकाका लागि वरदान सावित हुने ठानिएको थियो । तर, यसको साइड इफेक्टको कारण आशा गरे जस्तो प्रतिफल प्राप्त हुन सकेन ।

जैविक प्रविधिले आम मानिसको स्तरलाई माथि उठाउन सक्छ । उत्पादन बढाउँछ अनि वस्तुको गुणस्तरसमेत बृद्धि गर्दछ । हरित जैविक प्रविधिद्वारा जमिनको नाइट्रोजनको मात्रामा वृद्धि, जैविक मल, जैविक किटनाशक औषधिहरु, हर्मोन आदिको निर्माण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (आईआराअरसी) फिलिपिन्सका वैज्ञानिकहरुले कुनै–कुनै व्याक्टेरियामा भएको नाइट्रोजन फिक्सीङ जीन (निफ जिन)लाई धानमा प्रत्यारोपण गर्ने तयारी थालेका छन् । यसले धानको बोट स्वयम्ले जमिनमा नाइट्रोजनको मात्रा बढाइ उत्पादन वृद्धि गराउँछ । परम्परागत कृषि उत्पादनभन्दा ग्रीन बायोटेकबाट उत्पादित उपजहरु बढी वातावरणमैत्री समेत हुन्छन् । टिस्यु कल्चर प्रविधिले अनेकौं प्रकारका उन्नतिशील र बढी उत्पादन दिन सक्ने वनस्पतिहरु तयार गर्न सकिन्छ ।

औषधि विज्ञानको क्षेत्रमा प्रयोग गरिने जैविक प्रविधिलाई रेडबायोटेक्नोलोजी भनिन्छ । यस प्रविधिलाई एन्टिवायोटिक, एन्टिबडी, भ्याक्सिन, एन्टिसेरम आदि औषधिजन्य रसायनहरु बनाउन उपयोग गरिन्छ । क्यान्सरजन्य कोषलाई अन्य सामान्य कोषहरुसँग जोडाएर चाडै एन्टीबडी बनाउने प्रविधिलाई हाइब्रिडोमा टेक्नोलोजी भनिन्छ । यसलाई क्यान्सरसँग लड्न र त्यसको उपचारमा प्रयोग गरिन्छ । जैविक प्रविधि जसलाई औद्योगिक क्षेत्रमा उपयोग गरिन्छ । त्यसलाई ह्वाइट बायोटेक्नोलोजी भनिन्छ । यस प्रविधिबाट इन्जाइमहरु, उपयोगी रसायनहरु, प्रदुषण रोक्ने पदार्थहरु, रेशा, सीसा, घरायसी सामग्रीहरु आदिको अत्याधिक तथा गुणस्तरीय उत्पादन गर्न सकिन्छ । ब्लुवायोटेक्नोलोजी भन्नाले जैविक प्रविधिको त्यस्तो शाखा भन्ने बुझिन्छ । जसलाई समुद्री तथा जलीय क्षेत्रमा उपयोग गरिन्छ । यस प्रविधिबाट ‘सुडोमोनस पुटीडा’ नामको वंश परिवर्तित जीएमओ ब्याक्टेरीया तयार गरिएको छ । जसले समुद्रहरु एवम् अन्य पानीका स्रोतहरुमा तेल र तेलजन्य पदार्थहरुद्वारा हुने प्रदुषणलाई कम गर्दछ ।

विश्व मानचित्रमा ज्यादै सानो क्षेत्रफलमा रहेके भए पनि नेपाल कृषि–पर्या क्षेत्रमा फराकिलो सम्भावना बोकेको मुलुक हो । सन् १९७६ मा वनस्पति अनुसन्धान विभाग गोदावरी स्थापनापछि केही कामहरु भएका छन् । हाल यसको रुप नेशनल हर्वारीयम एण्ड प्लान्ट लेवोरेटरीज भएको छ । यसले एक सयभन्दा बढी औषधिजन्य अर्नामेन्टल वनस्पतिहरुको क्लोनल प्रोपागेसन गरेको छ । आलु अनुसन्धान केन्द्रले भाईरसबाट स्वतन्त्र आलु उत्पादन गर्न सक्षम भएको छ । नेपाल बायोटेक्नोलोजी एसोसिएसन(एनबिए)को स्थापना सन् १९८८ मा भयो भने नेपाल मलिकुलर बायोलोजिकल सोसाइटीको स्थापना सन् १९९५ मा भयो । त्यस्तै काठमाडौं बाहिर विराटनगरमा नेपाल बायोलोजिकल सोसाइटीको स्थापना सन् २००० मा गरियो । यसले ‘आवर नेचर’ नामक साइन्टीफिक जर्नल प्रकाशित गर्दछ । यी बिभिन्न संस्थाहरुले नेपालमा बायोटेक्नोलोजीको प्रचार–प्रसार र सचेतनाका कामहरु गरिरहेका छन् । जैविक प्रविधिको पाठ्यक्रम बनाएर नेपालमा बिभिन्न विश्वविद्यालय मार्फत् पठनपाठन समेत शुरु भइसकेको अवस्था छ । नेपाल कृषि अनुसन्धान केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र तिनीहरु मार्फत् चलिरहेका अनुसन्धानका कार्यहरुले नेपालमा जैविक प्रविधिलाई प्रोत्साहन गरिरहेका छन् ।

मार्च ४ सन् २००५ मा नेपालमा प्रथम टेष्टट्युव बेवीको जन्म गराइयो ओम हस्पिटल काठमाडौंमा । उक्त बेवीको नाम ओममणि तामाङ राखिएको थियो । आम नेपालीहरुले समेत इतिहासदेखि वर्तमानसम्म जैविक प्रविधिको उपयोग गरिरहेका छन् । गाउँघरमा जाड बनाउने चलन पुरानो हो । यसमा मर्चाको प्रयोग गरिन्छ । यीष्ट सूक्ष्मजीवको क्रियाकलापबाट यो सम्भव भएको हो । हामी दूधलाई जमाएर दही बनाउँछौं । दूधलाई जमाएर दही बनाउन ‘ल्याक्टिक एसीड ब्याक्टेरीया’को समूहले सहयोग गरेका हुन्छन् । यिनीहरु धेरै प्रकारका छन् जस्तैः ‘ल्याक्टोकोकस ल्याक्टिस’, ‘स्ट्रेप्टोकोकस ल्याक्टिस’ आदि । किनिमा बनाउने, अचारहरु बनाउने, जाड रक्सी बनाउने, मोही पारेर घ्यू निकाल्ने आदि हाम्रा समाजमा चलिआएका चलनहरु हाम्रो परम्परागत जैविक प्रविधि हो । गुन्द्रुक र सिन्की नेपालीहरुका मौलिक परिकारहरु हुन् । खाद्य संकटको समयमा सहयोग गर्ने यिनिहरुलाई अमिलो पार्ने काम सूक्ष्मजीवहरुले गरिरहेको कुरा पुस महिनाको जाडोमा गुन्द्रुक भात खाएर शरीर न्यानो बनाइरहेका धेरैलाई थाह नहुन सक्छ ।

अबको युग जैविक प्रविधिको युग हो । विश्वको मानवको जनसंख्या साढे सात अर्ब नाघिसकेको अवस्थामा तिनलाई खुवाउन र वस्तुहरुको सुविधाजनक उत्पादनमा यस प्रविधिको सहयोग नलिई उपाय पनि छैन । नेपाल जैविक विविधताले सम्पन्न छ । कृषि, उद्योग, औषधि विज्ञानमा आदि क्षेत्रमा बायोटेक्नोलोजीको इमान्दार प्रयोगले नेपालले काँचुली फेर्न सक्छ । विभिन्न आदिवासीहरुका परम्परागत जैविक प्रविधिको खोजी गरी तिनीहरुको आधुनिकीकरण गर्नु झन् ठूलो आवश्यकता बनिसकेको छ । यो देश विकासको मेरुदण्ड बन्न सक्छ । पूर्ण प्रांगारिक खाद्यान्न, लचकदार दीगो रेशा, उर्वर भूमि, जैविक मल, जैविक किटनासक औषधि, आफ्नै हर्बल मेडिसीन र गतिलो जनस्वास्थ्य यसले निर्माण गर्दछ । अरवियन मरुभूमिका मुलुकहरु तेल बेचेर सम्पन्न भए, इजरायल र कोरियाले कृषिको आधुनिकीकरणबाटै उन्नती गरे । हामीले अब जलबिद्युत, जडीबुटी, पर्यटन र जैविक प्रविधिको प्रयोगबाट उन्नतीको पथमा हिँड्न ढीलो गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here