ज्येष्ठ नागरिकलाई सम्मान गर

0
699

पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम स्वास्थ्य कार्यालयको खोप सम्बन्धी समाचारले संवेदनशील बनाएको हुनुपर्छ । कोरोना भाइरसको जोखिम उच्च भई धेरै संक्रमित हुन थालेपछि खोप सम्बन्धी आमधारणा पनि बद्लिएको समाचारले देखाएको छ । कोरोनाको पहिलो लहरले धेरै ग्रामीण जीवनले प्रभाव पारेन । तर, जब तेस्रो लहर शुरू भयो यसले महामारी कै रूप लियो । पाँचथरमा तीन हजारभन्दा बढी दोस्रो लहरमा संक्रमित हुन पुगे । कतिले यसकै कारण ज्यान गुमाउनु प¥यो । संक्रमण बढ्दै जाँदा न औषधि न त उपचारको अवस्थाले स्थानीयको चेतनाको ढोका खोली दियो । त्यसैले पहिलो लहरमा खोप नलगाएकाहरू लामो यात्रा गरेर खोप लगाउन पुग्न थालेका छन् ।

खोप कार्यक्रम वृद्धवृद्धाका लागि सहज भने छैन । फिदिम खोप केन्द्रमा खोप लगाउन पुगेका ८७ वर्षीय श्री भक्त राई र ७७ वर्षीय रामकुमार राईले भोगेको पीडा प्रतिनिधि पीडा हो । प्रायः सबै खोप केन्द्रहरूको व्यवस्थापन यसरी र यस्तै भइरहेको छ । सरकारले निर्धारण गरेको मापदण्ड सम्भवतः खोपको उपलब्धता र आवश्यकता अनुरूप भएको हो । तर, स्थानीय सरकार र जनप्रतिनिधिहरूको अक्षमता र स्वार्थप्रेरीत व्यवस्थापनले लक्षित वर्गले सहज ढङ्गले खोप लगाउन पाएका छैनन्– उक्त समाचारको सार हो । खोप केन्द्रमा देखिने गरेको भीडभाडले एकातिर संक्रमणको जोखिम बढाएको छ भने अर्कातिर मापदण्डभित्रका लक्षित ज्येष्ठ नागरिकहरूले खोप लगाउनै नपाउने निश्चित छ । यस्ता समाचार, सूचना र जानकारीहरूबाट सिकेर आगामी दिनमा खोप लगायतका सार्वजनिक सेवाहरू सञ्चालन गर्न सरोकारवालाहरू सजग हुनुपर्छ ।

अहिले पनि देशभर खोप कार्यक्रम सञ्चालन भइरहेको छ । अव्यवस्थाका कारण यसअघि कतिपय केन्द्रमा खोप दिन रोकिए । कतिपय केन्द्रहरूमा अहिले पनि अनुशासनको पालना गर्नेले फिदिमका ज्येष्ठ नागरिकहरूकै जस्तै यातना सहनु परेको छ । उम्मेदवार, पहुँच हुने र बाहुबल प्रयोग गर्न सक्नेले आज पनि लक्षित वर्गको भाग खोसिरहेका छन् । यसतर्फ स्थानीय सरकार, वडा सरकार र जनप्रतिनिधिको ध्यान जानुपर्छ । खोप पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो । तर, आफू उत्पादक नभएकाले दाताहरूको सहयोगको आधारमा विश्वले प्रयोग गरेको मापदण्ड अवलम्बन गर्नुपर्दा नागरिकले धैर्य गर्नुपर्छ ।‘लाठी हुनेको भैंसी’ उखान कै चरितार्थ गरिरहने हो भने चेतना आएको प्रमाणित हुने छैन । खोपको अनुचित प्रयोग वा दुरूपयोग अथवा मापदण्ड विपरीतको प्रयोग भ्रष्टाचार हो, यसलाई विधि, नैतिकता र मानवीय संवेदनाका आधारमा उपयोग गरौं । यसमै सबैको जय हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here