माइत हिँडेकी श्रीमती वेपत्ता

0
860

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

झापाको बिर्तामोड माइत जान भन्दै घरबाट हिँडेकी एक महिला बेपत्ता भएकी छन् ।

बिर्तामोड नगरपालिका–९ कोलाटोली घर भएका रमेश कार्कीकी श्रीमती ४४वर्षीय सरस्वता कार्की साउन २२गते माइत जाने भन्दै घरबाट हिँडेपछि बेपत्ता भएकी हुन् ।

गत साउन २२ गते बिहान १० बजेतिर मोरङ जिल्ला गछिया लोचना माइतीघर जान हिँडेकी श्रीमतीले माइतीघर आइपुगें भनेर फोन गरेको भए पनि २७ गते आफूले फोन गर्दा सम्पर्कबिहीन भएको पति रमेशले बताए ।

‘आफू केही दिन माइतमा बस्ने धेरै फोन नगर्नु भनेकाले गन्तव्यमा पुगेको भनेर ढुक्कले बसेँ तर साउन २७ गते उसको मोबाइलमा फोन लागेन र माइतीघर नपुगेको भन्ने खबर आयो’– रमेशले भने– ‘यसपछि अन्यत्र आफन्त कहाँ सबैतिर खोजी गरियो तर कतै नभएको खबर पाएपछि पत्नी बेपत्ता भएको निश्चित भयो ।’

दुई छोरा र एक छोरी रहेका कार्कीको परिवारमा यतिखेर उनीहरु दुईजना पतिपत्नी मात्र बस्दै आएका थिए । खेतीपाती सकेर फुर्सदमा केही दिनका लागि पठाएको थिएँ । के विपत्ति आइलाग्यो– रमेशले भक्कानिँदै भने ।

घर छाडेर कतै नहिँडेकी सरल स्वभावकी आफ्नी श्रीमतीलाई कसैले अपहरण गरेको वा बन्धकमा पारेको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा हुलियासहित खोजीका लागि निवेदन दिइसकेको उनले बताए । त्यस्तै उनले सम्पूर्ण सञ्चारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीलगायत सबैलाई खोजीमा सहयोग गरिदिन आव्हान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here