बिनोद पाण्डे,
चारपाने।

हँसिलो, फरासिलो, स्वाभिमानी अनि मेहनतीका कारण दुई बर्ष अघिसम्म गाउँमा धेरैले चिनेको झापा बिर्तामोड–२, चारपानेका ३२ बर्षीय युवा प्रकाश शर्मा धेरैकोे स्मरणबाट हट्दै गएका छन् ।
अझ सजिलो शब्दमा भन्नु पर्दा प्रकाशलाई समुदायले बिर्सदै जाने अबस्था आएको हो । यसो हुनुमा उनी भित्रको रोग मुख्य कारण हो । दुई बर्षदेखि उनी समुदायमा पुगेका छैनन् । कोहीसँग काम विशेष वा अन्य कारणले भेटघाट, बोलचाल भएको छैन ।
उनी चाहन्थँ आफ्नो परिवारको जिम्मेवारी पूरा गर्दै समाजको लागि पनि केही गरौं । धेरैभन्दा धेरैसँग परिचय गरौं, आत्मीयता बाँडौं, धनको धनी नभए पनि मन र कर्मको धनी प्रकाश यतिवेला अँध्यारो कोठामा सजिलोसँग सुत्न पनि नसकी थलिएका छन् । उनी वृहत् समाजको सम्पर्कभन्दा टाढा हुन पुगेका छन् । प्रकाशको स्वास्थ्य र आर्थिक अवस्थाको बारेमा एक हप्ता अघि पूर्वाञ्चल दैनिकले समाचार बाहिर ल्याएको थियो । उक्त समाचार झापाका धेरै सञ्चार माध्यमबाट पनि सम्प्रेषण भएपछि समुदायका अली टाढाका मानिसहरु समक्ष सम्पर्क, व्यवहारिक सम्बन्ध विच्छेद भए पनि प्रकाशको सवल पक्षका कारण प्रभावित स्थानीय समाजसेवी, संघ–संस्थाका प्रतिनिधिहरुले प्रकाशलाई सम्झिएका छन् । प्रकाशको उपचारको लागि सहयोग गर्दै थप सहयोगका लागि पहलकदमी अघि बढाएका छन् । प्रकाश बचाउ अभियान नै सञ्चालन गरेका छन् उनीहरुले ।
सञ्चारमाध्यम र अभियानले प्रवाह गरेको सूचनाको सकारात्मक प्रभावका कारण मानव सेवा नै धर्म हो, धर्म मात्र होइन मानवले मानवलाई सहयोग नगरे सामाजिक प्राणी भएको औचित्य पनि हुँदैन भनेर सहयोगको भावनाले, प्रकाशको जीवन बचाउन स्थानीय, देश र विदेशबाट धेरैजनाले सकेको आर्थिक सहयोग गर्ने काम शुरु भएको छ । जसअनुसार शनिबारसम्ममा तीन लाख रुपैयाँ संकलन भइसकेको समितिका कोषाध्यक्ष शिखा खड्काले बताइन् । खड्काका अनुसार सहयोग जुट्ने क्रम जारी रहेको छ । प्रकाशको उपचारको लागि १२देखि १५ लार्ख खर्च लाग्ने अनुमान गरिएको प्रकाश बचाउ अभियानका संयोजक डिल्लीराम सिटौलाले बताए ।
यहाँ रोगका कारण पलपल पीडा भोग्दै बाँचिरहेका छन् प्रकाश । रोगले च्याप्नुभन्दा अगाडि सिकर्मी काम गरेर गुजारा चलाउँदै आएका थिए उनी । १० बर्ष अघिदेखि वाथ रोगबाट उत्पन्न समस्यालाई अल्पकालीन समाधान दुखाई कम हुने औषधि खाँदै जेनतेन काम गर्दै आएका प्रकाश दुई बर्षदेखि भने थलिएका थिए ।
प्रकाशको दुवै घुँडाको पाङ्ग्रा र दुईवटै तिघ्राको मुख्य हड्डी मक्किएका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको हो । चिकित्सकको सल्लाह अनुसार कृत्रिम हड्डी (स्टिल) लगाएर उनको उपचार गर्न सकिने र उक्त उपचार सफल भएमा पुनः सामान्य जीवनयापन गर्न सक्ने र ९० प्रतिशत अप्रेशन सफल हुने गरेको जानकारी प्राप्त भएको समितिले जनाएको छ । ९० प्रतिशत निको हुने अवस्थाको रोगको उपचार गर्न समुदाय किन नलाग्ने भन्दै प्रकाशकै घरमा पुगेर सहयोग गर्नेहरुको उपस्थिति बाक्लिन थालेको छ ।
प्रकाशको उचारका लागि दैनिक रुपमा देश विदेशबाट सहयोग जुट्ने काम भइरहेको छ । पहिले पनि प्रकाशको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । उनी काम गर्न सक्न छोडेपछि झन कमजोर बनेको छ । हिजोका दिनमा उपचार गर्दा भएको पाँच धुर जग्गा पनि बैंकमा धितो राखेका कारण सो जग्गा पनि गुम्ने अवस्थामा छ । जग्गा जमिनभन्दा जीवन महत्वपूर्ण हो । प्रकाशलाई समुदायले बचाउन सके उनको सिंगो परिवार बाँच्ने थियो ।
बुवा, आमा, श्रीमती र दुई सन्तानको आशा र भरोसाका केन्द्र प्रकाशको जीवन बचाउन आर्थिक सहयोग गरिदिन समितिले र प्रकाशको अवस्थालाई नजिकबाट देख्ने बुझनेहरुले सामाजिक सञ्जालबाट पनि अपील गरेका छन् । प्रकाशलाई सहयोग गर्न चाहने महानुभाव हरुले एनआईसी बैंकमा प्रकाश शर्माको नाममा रहेको खाता नम्बर L187001034352401 मा सहयोग पठाउन सकिने बताइएको छ । उक्त खाता प्रकाश बचाऊ अभियान समितिले व्यवस्थापन गर्दै आएको छ ।































