विश्व सुरक्षित घर बनोस्

0
688

बिकासको उद्देश्य मानव सभ्यताको प्रवद्र्धनका लागि हुनुपर्छ । आज विश्वका सबै देश विकासको प्रतिष्पर्धामा छन् । ती साना हुन् वा ठूला, सम्पन्न हुन् वा निर्धन, शक्तिशाली हुन् वा कमजोर सबै शक्ति, सामर्थ्य र सम्पन्नताको होड गरिरहेका छन् । यसले अहंकार, दम्भ र घमण्ड बढाउँछ, अराजकता फैलिन्छ र आतङ्क शुरू हुन्छ । यसरी बढ्दै गएको आतंकले युद्ध निम्त्याउँछ जसले निरपराध मानिसले अकारण जीवन गुमाउनु पर्छ । विश्व इतिहासमा मानव सभ्यतालाई सङ्कटमा धकेल्ने ठूला दुईवटा युद्ध भइसकेका छन् । त्यसमध्ये सन् १९४५ को अगस्त महिनाको ६ तारिखमा जापानको नागासाकी र हिरोसिमामा भएको बम प्रहारको घटना मानवताविरोधी पहिलो ठूलो आक्रमण हो, जहाँ युद्धका नाममा झण्डै डेढ लाख जनाले मृत्युवरण गर्नु परेको थियो ।

मानिसमा बढ्दै गएको घमण्ड र शक्ति सञ्चय गर्ने महत्वाकांक्षाले नकारात्मकता र विनाशक मानसिकता चुलिँदै जान्छ । त्यही कारण वीसौं शताव्दीको मध्यबाट आणविक हतियारको परीक्षण गर्न थालियो । सन् १९४५ को जुलाई १६ बाट शुरू भएको परीक्षण अहिलेसम्ममा दुई हजारभन्दा माथि पुगिसकेको छ। मानिसमा बढ्दै गएको अहंकारकै परिणामले जापानमा भएको बम प्रहारका कारण आज पनि त्यहाँको जीवन प्रभावित छ । त्यही आणविक बमको असरले ७० हजारभन्दा बढी मानिस रेडियसनबाट प्रभावित भएका थिए । पहिलो र दोस्रो युद्धबाट भएको क्षतिलाई भविष्यमा दोहोरिन नदिन स्थापना गरिएको संयुक्त राष्ट्र संघले विश्वलाई मानिसको सुरक्षित घर बनाउन प्रयास गरिरहेको छ । उसकै प्रयासले शक्ति प्रदर्शन गर्न उद्धत देशहरू सम्भावित युद्धबाट रोकिएका छन् । हाम्रो पौराणिक मान्यताले युद्धलाई दुष्प्रवृत्ति, दुर्भावना, दुराचार अन्त्यको आधार मानेको छ । त्रेता युग होस् वा द्वापर युग त्यसकालमा ठूल्ठूला लडाइँ लडिएका थिए । तिनै युद्धले असत्य, दुराचार, दुर्विचार, दुर्भावना र दुर्बुद्धिको अन्त्य गरेको थियो ।

आज पनि विश्वमा शान्ति छैन । देश– देशका वीच वैमनस्यता, असमझदारी छ। सहअस्तित्व स्वीकार नगर्ने दम्भ यथावत छ। यसले हिंसा त बढाउँछ नै सँगै ढिलोचाँडो आणविक युद्धको आधार तयार गर्छ । उत्तर कोरिया र अमेरिका, भारत र चीनबीच अहिले पनि शीतयुद्ध नै छ । भर्खरै स्वशासनका नाममा अफगानिस्तानमाथि प्रहार गरिएको छ । युद्धको नियम विपरीत बालबालिका, महिला, निहत्ता, बृद्ध तथा आत्मसमर्पण गर्नेहरूको हत्या गर्न पाइँदैन । आणविक हतियारले यो नियमको पालना गर्दैन त्यसैले संयुक्त राष्ट्र संघले आजको दिनलाई विश्व आणविक हतियारविरूद्धको दिवस मानेको छ । यदि यही अवस्था र शक्तिको होड यथावत रह्यो भने भोलि तेस्रो विश्व युद्ध निश्चित छ । यदि त्यसो भयो भने मानव जातिको विनाश पनि निश्चित नै छ । यसले वातावरणको विनाश गर्नेछ, अनेक रोग जन्माउने छ, विषालु ग्यासको उत्सर्जन हुनेछ र अक्सिजन ग्यासको अभावमा मानव जातिको अस्तित्व सङ्कटमा पर्नेछ । त्यसैले यो दिवसले मानिसमा शान्ति, धैर्य र संयम जगाओस्, अहंकार, घमण्ड, अराजकता र आतङ्क निस्तेज बनाओस् । अनि मात्र यस्ता विनाशक हतियारको उत्पादन, परीक्षण र प्रयोग रोकिएर विश्व शान्त र सुरक्षित घर हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here