कांग्रेसमा अबको नेतृत्व कस्तो हुनुपर्छ ?

0
647

नेपाली कांग्रेस एउटा महान लक्ष्य प्राप्तिको पवित्र उद्देश्यबाट जन्मिएको राजनीतिक दल हो । उच्च आदर्श र निष्ठाको राजनीतिमा हुर्किएको यो पार्टीले इतिहासका कठिन मोडमा आपूmलाई पार लगाउन सकेको अनेक दृश्यहरु अगाडि छन् । कांग्रेसले इतिहासका युगान्तकारी संघर्षमा सफलता हासिल गर्नुका पछाडि ऊ सँग एउटा तागत रहेको थियो । आदर्श, निष्ठा र मूल्य–मान्यताको राजनीतिक धरातलमा उभिएको त्यो तागत नै इतिहासदेखि आजसम्म कांग्रेसका लागि प्रेरणा र राजनीतिक बल हो । तर, आजसम्म आइपुग्दा हिजोको कांग्रेस आज छ या छैन र भोलिको कांग्रेस कस्तो हुने हो ? यो चिन्ता सतहमा प्रकट भएको देखिन्छ ।

कांग्रेसको इतिहास राम्रो छ । तर, यो इतिहासको ब्याज भजाएर मात्र आज न्याय हुन सक्दैन र भविष्यको सही रोडम्याप गर्न पनि सकिन्न । आज कांग्रेस कुन ठाउँमा छ, कस्तो अवस्थामा छ, कार्यकर्ताको मनस्थिति के भएको छ, मूल कुरा यो हो । पार्टीभित्र निष्ठा, आदर्श र मूल्य–मान्यताको राजनीति गर्नेहरु, त्याग र समर्पणलाई आदर्श ठान्नेहरु आज किनारा लाग्दै छन् ।

आर्थिक भएकाहरु, आफ्ना नातेदार वा धुपौरेहरुले नेतालाई आफ्नो बनाउने र तिनै नेताहरु पनि गाउँमा बस्ने कार्यकर्ताहरुलाई पन्छाउने प्रवृत्ति मौलाउँदै जानु, अवसरवादीहरुलाई काखी च्याप्नु, पार्टीमा बर्षांै काम गरेका कार्यकताहरुको मनोबल गिराएर नवआगन्तुकहरुलाई प्रश्रय दिनु पार्टी विधान विपरीत काम–कारवाही गर्नेलाई सघाउने जस्ता अप्रिय निर्णयहरु गर्नाले कांग्रेसको स्वरुप र आगामी राजनीतिले कुन दिशा समात्ला भन्न गाह्रो छ ।

पार्टीमा नेतृत्व लिनु ठूलो कुरा हो, सबै नेता मेरा साथमा छन् भन्नेहरु आज पार्टीमा हावी भएका छन् । यस्तै व्यक्तिले नेतृत्व लिए भने आगामी दिनमा कसरी जनमत प्राप्त गर्न सकिएला ! नेतृत्व लिने व्यक्ति समाजमा कति जना धार भएको व्यक्ति हो । उसको लगाव कति छ भन्ने विषयमा सोच विचार नगरी नेतृत्व दिने हो भने भोलिका दिनमा कांग्रेसको साख रहने छैन् । सोच्ने बेला आएको छ राजनीतिलाई गैर राजनीतिकरण गर्दै लैजादा भविष्यमा पार्टी एउटा गैरसरकारी संस्थाको रुपमा परिणत हुने खतरा बढिरहेको छ ।

लोकतन्त्रका मूल्य–मान्यता, पार्टीको नीति, विधान र अनुशासनलाई आफ्नो जीवनको आदर्श मानेर वीपीको सोचलाई आत्मसाथ गरेर सांगठनिक स्वार्थलाई मान्नेहरुको कुनै मूल्याङ्कन छैन । केवल नेताको घरदैलोमा पुगेर लम्पसार हुनेहरुको मात्र बोलवाला रहेको छ । यस्तोखाले चरित्रले पार्टी सबल हुन कदापि सक्दैन । नेताको चाकरी गरेर नेतृत्व लिनेहरुको न कुनै उच्च भिजन छ न कुनै सांगठनिक कार्यकुशलता छ । नेतृत्वको गलत कार्यशैलीका कारण आज गाउँका युवाहरु पार्टीप्रतिको लगावमा कमी छ । गाउँमा बसेका युवाहरुले एउटा व्यक्तिप्रति समाज रुपान्तरणका सपना बोकेका हुन्छन् । तर, अन्तिम अवस्थामा अर्कै व्यक्ति उपस्थित हुँदा निरासाको राजनीति हावी भएको छ । स्थानीय स्तरबाटै व्यक्ति पहिचानको नीति जबसम्म हुँदैन तबसम्म कांग्रेस बलियो हुने सम्भावना छैन ।

नेतृत्व सफल हुन आदर्श, सिद्धान्त, कुटनीति क्षमता, कुशल नेतृत्व र सांगठनिक भरिभाषा आदिको ज्ञान हुन जरुरी छ । नेतृत्वको सन्दर्भमा भन्नुपर्दा नेतृत्व लिने व्यक्ति आर्दश व्यक्तित्वको हुनु पर्दछ । सिंगो पार्टीको साझा अभिभावक बन्न सक्नु पर्छ, समाजका लागि उदाहरणीय र अनुकरणीय हुनुपर्छ, कांग्रेसमा अहिले जुनसुकै तहमा होस् आफूलाई यो रुपमा प्रस्तुत गर्न सकेको देखिन्न । पार्टीको जग मानिने भातृ संस्थाहरु वडा स्तरदेखि नै परिचालित छैनन् । लोकतन्त्रको पर्याय ठानिने दलभित्रको अलोकतान्त्रिक प्रथाले कांग्रेसको छवि धमिलिँदै गएको छ । कांग्रेसको जग भनेकै वडा हो, वडामा रहेका भातृ संस्थाहरु शिथिल छन्, कमजोर छन् । कमजोर जगमा गरिने निर्माण वा कांग्रेसी घर कति बलियो हुन सक्ला ?

कांग्रेस किसान र मजदुरले बनेका पार्टी हो, तर कांग्रेस नेतृत्वले मजदुर र किसानका मुद्दाहरुलाई चाल्न सकेका छैन, कांगे्रसलाई श्रमिक पक्षीय बनाउन श्रमिकका मुद्दाहरुलाई सम्बोधन गराउन नेतृत्व क्रियाशील हुन जरुरी छ । जुनसुकै तहका नेतृत्वहरुले श्रमिक र किसानहरुको हकहितका लागि स्थानीय स्तरमा रहेका मुद्दाहरु उठाउन जरुरी छ । आजको दिनमा युवाहरुले चाहेको जस्तो कांग्रेस र कांग्रेसी नेतृत्व भएको छैन । कांग्रेसलाई अझ गतिशील बनाउन सुतेर देखेको सपनाले सम्भव छैन । युवाहरुलाई पनि सुत्न नदिने सपनाको आवश्यकता छ, सायद हामीले सुतेर सपना देखिरहेका छौं, तर अब यसभन्दा माीथ उठ्ने बेला आएको छ ।

तमाम समस्याका बाबजुद प्रिय साथीहरुले गाउँ–गाउँबाट पार्टी सुदृढीकरणका लागि जुन अभियान थाल्नु भएको छ, त्यसले हामीलाई चाडै हाम्रो लक्ष्यमा पुग्न बल दिनेछ । धेरै युवा साथीहरु यसपटक जसरी पार्टीमा युवा सफल नेतृत्वले नै पार्टीलाई भविष्यमा हुने चुनावमा सफल बनाउँछ भनेर नेतृत्व परिवर्तनको पक्षमा लाग्नु भएको छ । जसरी धेरै युवा साथीहरुले अब युवा पुस्ताले अब पार्टीको नेतृत्व लिनुपर्छ भनेर जोडदार आवाज उठाइरहनु भएको छ । यी आवाजहरु नै कांग्रेसको सुनौलो भविष्य निर्माणका लागि प्रेरणादायी हुने छन् ।

आजको दिनमा इमान्दारीपूर्वक भन्ने हो, भने हाम्रो नेतृत्वमाथि युवा पुस्ताको निकै ठूलो गुनासो रहेको छ । त्यसैले होला सिंगो समाजले युवापुस्ताको सक्रियताको आवश्यकता महशुस गरिरहेको छ । अब गतिशील नेतृत्व छान्ने काम पनि हाम्रै काँधमा छ , र बेला पनि यही हो । कांग्रेसको युवा पुस्ता सबैखाले दायित्वहरुलाई निर्वाह गर्दै पार्टी र समाजलाई जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छ भन्ने सन्देश दिन अब ढिलो गर्नुहुँदैन । प्रत्येक स्थानीय तह वडाहरुमा आगामी दिनमा पार्टीका नेतृत्वदायी भूमिकामा जान चाहने व्यक्तिहरुलाई एक ठाउँमा जम्मा गरेर उहाँहरुका विचार र उद्देश्यहरुका बारेमा स्पष्ट थाह पाउने गरी छलफल भएर नेतृत्व चयन भयो भने मात्र सही नेतृत्व आउँछ र पार्टीको संगठन सुचारुरुपले परिचालन हुन्छ ।

संगठनमा हैकमवादी नेतृत्वको पदार्पण भयो भने संगठन धारासायी हुनेछ । टोल–टोलमा रहेका बासिन्दाहरुको भावना बोकेको व्यक्ति नेतृत्वमा आउनु पर्छ तब मात्र आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित छ । शक्ति, पैसा र टिके प्रथाबाट आएको व्यक्ति नेताका लागि त फलदायी होला । तर, संगठन, कार्यकर्ता, जनता र शुभचिन्तकका लागि भने अभिसाप हुनेछ ।

अन्त्यमा चौथो महाधिवेशनको मैदान पुग्दै गर्दा आम कांग्रेसीहरु एकपटक गम्भीर हुनै पर्दछ, आगामी राजनीतिलाई सही दिशामा लान कांग्रेसी नेतृत्वको दृष्टिकोण र विचार स्पष्ट हुन जरुरी छ । आगामी महाधिवेशनबाट वडादेखि माथिल्लो तहमा रहने नेतृत्वले पार्टीलाई उपयुक्त दिशानिर्देश गर्न सक्नु पर्छ । व्यक्तिलाई प्राथमिकतामा राख्ने प्रवृत्ति र शैलीलाई राजनीतिबाट हटाउन सक्नु पर्छ ।

राजनीतिको लक्ष्य प्रष्ट हुनुपर्छ, राजनीतिको केन्द्रमा प्रथमतः जनता र समाजलाई राख्नु पर्छ, सोच, शैली र संगठनमा नवीकरण नभईकन कांग्रेसको नवीकरण हुन सक्दैन । त्यसैले आचरणमा शुद्धिकरण, संगठनमा सुदृढिकरण र सामाजिक सौदाबाजी नेतृत्वको मूल आवश्यकता हुन जरुरी छ । यो आवश्यकतालाई आगामी नयाँ नेतृत्वले पार्टीभित्र स्थायित्व ग्रहण गर्न सकेमा हिजोको जस्तो कांग्रेस फेरि बनाउन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here