निपाह भाइरसको सन्त्रास

0
663

झापा ।

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका एक सय १८ अस्पताल र स्वास्थ्य संस्थाहरूलाइ तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

मन्त्रालयले निपाह भाइरसको परीक्षणका लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चमेराबाट सर्ने यो प्राणघातक रोग मानिसबाट मानिसमा पनि सर्ने जोखिम रहेकाले सबै सचेत हुनु पर्ने बताए । शरीरको तरल पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सतर्कता अपनाउनु पर्नेमा उनले जोड दिए ।

रगतबाट परीक्षण गरिने यस भाइरस परीक्षण गर्ने किट सबैतिर नभएको प्रवक्ता पौडेलको भनाइ छ । भारतसँग सीमा जोडिएका कारण र संक्रमण फैलाउने चमेरा नेपालमा पनि पाइने भएकाले थप सचेत हुन पनि उनले आग्रह गरे ।

पशुपंक्षीको सम्पर्कमा धेरै रहने व्यक्तिहरू यसको जोखिमबाट जोगिन बढी सचेत हुनुपर्नेमा डा. पौडेलले जोड दिए । चराले टोकेका वा घाउ लागेका फलफूलहरू नखान र मासुजन्य पदार्थहरू राम्रोसँग पकाएर मात्र खान उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच ०७२ को भूकम्पपछि नेपालमा देखिन थालेको स्क्रब टाइफस रोग यस वर्ष ५० जनामा देखिसकेको छ । एक प्रकारको सानो किर्नाको टोकाइबाट सर्ने यस रोगको लक्षण कोरोना संक्रमणसँग मिल्दोजुल्दो हुने चिकित्सकहरू बताउँछन् । ज्वरो आउने, शरीर दुख्ने नै यसको मुख्य लक्षण हो । ज्वरोको कारण नखुलेका र कोरोना संक्रमण नेगेटिभ देखिएका सबै व्यक्तिहरूले स्क्रब टाइफसको परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह पनि गरेको छ ।

वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् । उनका अनुसार यस वर्ष मृत्यु भएकामध्ये १६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । जसमध्ये पाल्पामा सबैभन्दा बढी चार जना मृत्यु भएका व्यक्तिमा स्क्रब टाइफस पोजेटिभ देखिएको प्रवक्ता डा. अधिकारीको भनाइ छ । उनका अनुसार चितवन र कैलालीमा मृत्यु भएकाहरूमा पनि संक्रमण देखिएको छ ।

स्क्रब टाइफसको औषधि सहज रूपमा पाइने र परीक्षण पनि सहज भएकाले ज्वरो आउने र जीउ दुख्ने लक्षण भएका बिरामीहरूमा कोभिड–१९ नदेखिए स्क्रब टाइफसको पनि परीक्षण गर्न उनले आग्रह गरे ।

पछिल्लो समय यो रोगको संक्रमण बढ्न थालेसँगै मन्त्रालयले पनि सजग रहन सचेत गराएको छ । ज्वरोका कारणहरू खोज्ने क्रममा यस रोगको पनि परीक्षणको सिफारिस गर्न उनले स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here