म्याद गुज्रिएका खाद्यवस्तु फेला

0
591

छविराज ढकाल / पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयद्वारा खटिएको टोलीले शनिवार नगर क्षेत्रका हाटबजारमा सञ्चालित मासु तथा किराना पसलहरुमा अनुगमन गरेको छ । टोलीले अनुगमनका क्रममा अधिकांश मासु तथा खाद्य किराना पसलहरू न्यूनतम् मापदण्ड समेत पूरा नगरी सञ्चालन भएको पाइएको जनाएको छ ।

वडा नम्बर १ को पथरी बजार र २ को बुद्धचोक बजार क्षेत्रको अनुगमनका क्रममा अधिकांश मासु पसलहरु सरसफाईमा ध्यान नदिई समग्र न्यूनतम् मापदण्ड समेत पूरा नगरी सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक बाँस्तोलाले बताए । उनले त्यसखाले लापरवाही गर्ने पसलहरुलाई स्वास्थ्य तथा सरसफाईको न्यूनतम् मापदण्ड तत्काल पूरा गर्न चेतावनीसहित सचेत गराइएको जनाए । अघिल्लोपटक अनुगमन गर्दा सचेत गराइएका पसलहरुको अवस्थाहाल पनि नसुध्रिएको पाइएको उनले उल्लेख गरे ।

अधिकांश मासु पसलमा मासु जालीभित्र वा सिसाभित्र सुरक्षित नराखी खुला रुपमा राखिएको, मासु काट्दा लगाइने एप्रोनको सफाई, अचानोसहित मासु काट्नेस्थल तथा विक्रीस्थलमा सरसफाईमा ध्यान नदिएको पाइएको बताइएको छ । कोरोना संक्रमणकै अवस्था भएकाले कोरोनाबाट बच्न तथा जेनेटिक रोगबाट समेत बच्न पसलेले मास्क, सेनिटाइजर र ग्लोब्सको प्रयोग नगरेको अवस्थामा कोरोना र जेनेटिक रोगको समेत जोखिम देखिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।

नगर प्रमुख दिलीपकुमार राईको समेत उपस्थिति रहेको उक्त टोलीको संयोजन नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वाँस्तोलाले गरेकी थिइन् । अधिकृत शिव राई, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण खड्का, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ समेत सहभागी टोलीले मासु तथा किराना पसलहरुको छड्के अनुगमन गरेको हो ।

कतिपय पसलहरु दर्ता नै नभइ सञ्चालन भएको, मासु पसलमा केही मात्रामा मूल्यसूची टाँसिएको भए पनि ग्राहकले देख्ने गरी नराखिएको, आयोडिन नष्ट हुने गरी नूनलाई घाममा राखिएको सहितका अव्यवस्थित सञ्चालन भएको पाइएपछि त्यसका सञ्चालकहरुलाई आउने सोमबार नगरपालिका कार्यालयमा बोलाइ पूर्ण रुपमा मापदण्ड पालना गर्न सचेत गराउने बताइएको छ ।

त्यसैगरी, नगरकै ठूलो पसलका रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरसहितका केही किराना पसलमा पनि अनुगमन गरिएको थियो । यस क्रममा उत्पादन मिति, म्याद सकिने मितिसहितको लेभल नभएका केही चकलेटसहितका सामग्री फेला परेकाले कम्पनीलाई सोको बारेमा तत्काल जानकारी गराइ सामग्री फिर्ता गर्न सचेत गराइएको छ ।

पसलले प्याकिङ गरेर विक्रीका लागि राखेका खाद्यवस्तुको पनि उत्पादन मिति र उपभोग गर्ने अवधिको मिति उल्लेख गर्न सचेत गराइएको छ । किराना पसलमा अधिकांशमा मूल्यसूची टाँस गरिएको छैन । अनुगमन टोलीले कालोबजारी नगर्न तथा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर खाद्य सामग्री विक्री वितरण गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here