तिहारले कल्मषता पखालोस्

0
652

नेपालीको दोस्रो ठूलो चाड तिहार घर–घरमा प्रवेश गरिसकेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले पाँच दिनसम्म मनाउने यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमसँग सम्बन्धित पाँच दिनलाई समष्टिमा यमपञ्चक भनिएको हो । यसको प्रारम्भ आजदेखि भएको छ, अर्थात् कागतिहारबाट तिहारको प्रारम्भ हुने मान्यता छ । वैदिक सनातन धर्म प्रकृति पुजक मान्यताबाट संस्कारित छ । त्यहीकारण पञ्चकका पाँच दिन काग, कुकुर, गाई, गोरु जस्ता प्रकृतिका अंशहरुको विशेष पूजा गर्ने परम्परा छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु भएको तिहार भाइटीकामा पुगेर समापन हुन्छ । त्यसमध्येको पहिलो दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिइन्छ । कागलाई नरकलोकका राजा यमको सन्देशवाहकका रुपमा लिइन्छ । जन्म र मृत्युको विवरण राख्ने यमराजलाई पृथ्वीलोकमा रहेका मानिस र सबै प्राणीहरुको जन्म–मृत्युको विवरण ल्याउने–लैजाने काम कागले गर्छ भन्ने सनातनी मान्यता छ । काग आधुनिक, वैज्ञानिक र वातावरणीय दृष्टिले पनि मानिसका लागि उपयोगी जीव हो । जसले माटोमा भएका शत्रुजीवहरु खाएर अन्न उत्पादनमा सहयोग गर्छ भने मासुजन्य फोहर खाएर वातावरणको स्वच्छतामा योगदान दिन्छ ।

यसलगत्तै आउने कुकुर तिहारमा कुकुरको विशेष पूजा गरी खानेकुरा दिइन्छ । मानव सभ्यताको प्रारम्भसँगै मानवसँग बसेर अत्यन्त बफादार भएर सेवा गर्ने प्राणी कुकुर नै हो । यमराजको दूत, मानवको सुरक्षाकर्मी र मोक्षद्वारको पहरेदारका रुपमा लिइने कुकुरलाई द्वापरयुगमा युधिष्टिरले समेत स्वर्ग जाँदा आफूसँगै लिएर गएको पुराणमा उल्लेख छ । तन्त्रसाधक भगवान भैरवको वाहन समेत भनिने कुकुरलाई पातलो निद्रा भएको, चंख र थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रुपमा चित्रित गरिएको छ । यता आधुनिक युगमा मानिसले गर्न नसक्ने काम कुकुरलाई जिम्मा दिइन्छ । प्रहरी संगठनमा जटिल अनुसन्धान गर्न कुकुरको प्रयोग गर्नु त्यसको उदाहरण हो भने अन्तरिक्ष यात्रीका रुपमा समेत कुकुरलाई पठाइने तथ्यले कुकुरको महत्व उजागर गरेको छ ।

यमपञ्चकका पाँच दिनका अलग–अलग विशेषता र महत्व छन् । यहीबीच धन्वन्तरी जयन्ती, लक्ष्मी पूजा, म्हपूजा, हलि तिहार आदि पनि पर्दछन् । यी सबै मानव जातिको सभ्यता, संस्कार, संस्कृति र पम्परासँग जोडिएका छन् । वैदिक संस्कृतिसँग जोडिएको नेपाली समाजमा जाति, वर्ग, लिङ्ग वा धर्म, सम्प्रदायले विविधता भए पनि सहअस्तित्व स्वीकार गर्ने उदात्त चरित्र छ । त्यसैले नेपाली समाज र नेपाली जीवनको मौलिक विशिष्टता विश्वका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । यही संस्कारमा माटोदेखि हावा, पानी, बाघ, कुकुर, काग, बोटबिरुवा हुँदै अदृश्य भगवान तत्वलाई सम्मानपूर्वक स्वीकार गरिएको छ । दाजुभाइलाई दिदीबहिनीले र दिदीबहिनीलाई दाजुभाइले विशेष पूजा गर्ने, घरआगन सिँगारेर झलमल्ल बत्तीको प्रकाश र सयपत्री, मखमलीको फूलमा सकारात्मकता खोज्ने यो पर्व देउसी–भैलोको संस्कारित गीतहरुमा मौलिक बाजा–गाजाहरुले सुगन्धमय बनोस् । आपसी तिक्तता बिर्सिएर, हिजोका सबै कल्मष पखालेर उल्लासपूर्वक तिहार मनाउने वातावरण बनोस् हामी पनि तपाईंहरुसँग हर्षपूर्वक यस वर्षको तिहारलाई हार्दिक स्वागत गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here