डिजिटल साक्षरतामा जोड देऊ

0
660

प्रविधिको प्रयोगले मानिसको जीवनमा सहयोग गरेको भनिरहँदा त्यही प्रविधि नै दुःखको कारण बनिनु राम्रो होइन । आजको युगलाई विज्ञानको युग भनिन्छ । जहाँ वैज्ञानिक वस्तुको अधिकतम् प्रयोगले मानिसको व्यवहार सहज पनि भएको छ । तर, त्यही प्रविधिजन्य आविष्कार र प्रयोग प्रविधिमा ज्ञान नहुनेका लागि आर्थिक, भौतिक तथा मानसिक पीडाको कारण बन्ने गरेको थुप्रै उदाहरण हाम्रा सामु छन् । शिक्षाको विकासले मारेको फड्कोले सञ्चार क्षेत्र समृद्ध भएको छ । हाम्रै देशमा पनि सञ्चार सर्वाधिक विकसित आधार हो जसले सूचनादेखि नेपालीका व्यवहारजन्य दैनिकीलाई सरल बनाइदिएको छ । हात–हातमा रहेको मोबाइलले विश्वलाई आफूमा समेटेको छ र सबैलाई नजिक बनाइदिएको छ । इन्टरनेटको माध्यमबाट अनेक कामहरु गर्न सकिने र कोरोना पीडाले सृजना गरेको बन्दाबन्दीमा लेखपढको माध्यम नै इन्टरनेट हुन पुगेपछि त यसको प्रयोग व्यापक भएको छ ।

सेवा–सुविधाका कारण अन्योन्यास्रित जस्तै बनेको इन्टरनेट सेवालाई सधैँ र सबैले सहयोगीका रुपमपा उपयोग नगरेको खबर सामान्य झैं हुन थालेको छ । दिनहुँ प्रहरी समक्ष परेका उजुरीका विवरणले पनि त्यही इन्टरनेटको दुरुपयोग भइरहेको देखाउँछ । अहिले यस क्षेत्रमा बढ्दै गरेको अपराध नियन्त्रण गर्न बेग्लै ‘सेल’ खडा गरिएको छ । अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय आर्थिक क्षेत्रमा प्रविधिको दुरुपयोगका घटना बढेको जनाएको छ । नेपालमा बैंकिङ प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण हुँदै जाँदा त्यसकै दुरुपयोग गरी प्रविधिमा निरक्षर सर्वसाधारण ढगीमा पर्दै जान थालेको महाशाखाका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । प्रविधि र त्यसको माध्यमबाट प्राप्त हुने सेवाको बारेमा अनभिज्ञ सर्वसाधारणलाई अनेक बहाना देखाएर ठग्ने गरेको प्रहरीमा दर्ता भएको तथ्यांकले पनि पुष्टि गरेको छ ।

विद्युतीय माध्यम भनिने यस्तो प्रविधिको दुरुपयोग भएका उजुरीहरु औसतमा मासिक सय वटा दर्ता हुन थालेका छन् । एटीएम कार्ड, अनलाइन कारोबार, डिजिटल माध्यम विकसित देशहरुका लागि समेत टाउको दुखाइको विषय भइरहेका बेला हाम्रो देशमा यसको दुष्परिणाम झनै पीडदायी हुन्छ नै । प्रहरीले उजुरीका आधारमा विश्लेषण गर्दै प्रविधिको दुरुपयोग गर्नेले बढीमा साठ्ठी लाख रुपैयाँसम्म ठगी गरेको पाइएको उल्लेख गरेको छ । खासगरी वित्तीय क्षेत्रमा उत्पन्न यो समस्यामा वित्तीय साक्षरता नभएका व्यक्तिहरु परेको बैंकर्स एशोसिएशनका अध्यक्ष अनिलकुमार उपाध्यायले पनि स्वीकार गरेका छन् । त्यसैले प्रविधिको प्रयोग गर्नेहरुलाई डिजिटल शिक्षा दिन सम्बद्ध सबैले अग्रसर हुनुपर्छ । अन्यथा यस्तो ठगीको अन्त्य हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here