निर्वाचन द्वेषको कारण नबनियोस्

0
569

नेपाली कांग्रेस यतिबेला आन्तरिक निर्वाचनको चटारोमा छ । स्थानीय तहको निर्वाचनपछि तत्काल प्रदेशको र त्यसपछि हुने केन्द्रीय महाधिवेशनको चटारोले कांग्रेस वृत्त निर्वाचनमय भएको छ । वडा, पालिका र क्षेत्रीय समितिको निर्वाचन झापामा सम्पन्न भइसकेको छ भने आज शुक्रबार जिल्ला समितिको निर्वाचन हुँदैछ । जिल्ला समितिको निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन केन्द्रीय नेतृत्वको प्रतिष्पर्धा पनि तीव्र गतिमा भइरहेको छ । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा समर्थित दुईवटा समूहबाट सभापतिमा दुई जनाले उम्मेद्वारी दिने घोषणासँगै चुलिएको निर्वाचनको चर्चा बिहीबार मनोनयन दर्ता गरेपछि व्यापक भएको छ । टिम बनाएरै उम्मेद्वार घोषणा गरेका सिटौला पक्षधर भनिएका देउकुमार थेवे र शर्मा पक्षधर भनिएका राम कट्टेल दुबैले आन्तरिक प्रतिष्पर्धामा आ–आफ्नो जितको दाबी गर्दै आएका छन् । पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाउने यो र यस्तो निर्वाचनसँग आमजनताको अपेक्षा त हुँदैन, तर उत्सुकता चाहिँ हुन्छ नै ।

नेपाली कांग्रेस प्रजातन्त्रको लागि संघर्ष गरेको पहिलो शक्ति हो । आज राजनीतिमा उपस्थिती जनाइरहेका मध्ये पुरानो पार्टी भएकाले उसले प्रजातान्त्रिक मूल्य–मान्यता, आदर्श र संस्कार भुल्नु हुँदैन । त्यसकारण पनि आन्तरिक प्रजातन्त्रलाई बलियो बनाउँदै भाइचाराको सम्बन्धभित्रैबाट निर्वाचनकालमा भएका चर्चा, विवाद र प्रतिष्पर्धालाई आत्मसात गर्न सक्नु पर्दछ । झापा जिल्ला आफैंमा चेतना, जागरण र परिवर्तनका दृष्टिले अग्रणी मानिन्छ । आजसम्मका राजनीतिक घटनाक्रमहरु हुन् वा राजनीतिक, सामाजिक तथा आर्थिक गतिविधि हुन् जहिल्यै झापाले चर्चा पाएकै छ । त्यसैले पनि नेपाली कांग्रेस झापाको आज मंसीर १० गते हुने निर्वाचन र त्यसको परिणामले भद्रता नै प्रदर्शन गर्नुपर्छ । जसले जिते पनि कांग्रेसले जित्ने भएकाले उम्मेद्वार अथवा समर्थकहरुले परिणामलाई द्वेषको कारण बनाउनु हुँदैन ।

आम जनता पार्टीको आन्तरिक निर्वाचनमा मतदाता समेत नहुने व्यवस्था अनुरुप ‘काग र बेल’को सम्बन्ध जस्तै निरपेक्ष त कोही हुँदैन नै । तर, पनि धेरैको चासो कांग्रेसको निर्वाचनमा केन्द्रित भएको छ । यही परिणामले भोलि हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन परिणामको संकेत गर्ने भएकाले पनि चासोमा रहेको कांग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा भइरहेको यो निर्वाचन उसका लागि ऊर्जा नै हो । पछिल्लो समय बामपन्थीहरुको वर्चस्व रहँदै आएको झापामा अब आउने कांग्रेस नेतृत्वले आफ्नो पार्टीको गौरव जोगाइ राख्न सक्ने, आम कार्यकर्ता, समर्थक तथा मतदाताहरुलाई संरक्षण गर्न सक्ने हुनु पर्दछ । त्यसका लागि दलभित्र उच्च मर्यादा कायम राख्न, सहिष्णु र सहअस्तित्वको आदर्शलाई आत्मसात गर्नुपर्छ । परिणामपछिको दिनमा उदारतापूवर्क मित्रवत् व्यवहार गर्न र एकअर्काप्रति सम्मान गर्ने क्षमता राख्नु पर्छ र उदाहरणीय बन्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here