विवाह पञ्चमीको शुभकामना

0
527

वैदिक सनातन संस्कृतिले आजको दिनलाई विशेष महत्वका साथ लिएको छ । आज अर्थात् मंसीर शुक्ल पञ्चमी तिथि, यो दिनलाई विवाह पञ्चमी पनि भनिन्छ । वैदिक गणनामा वर्णन गरिएको त्रेतायुगका नायक भगवान रामलाई मानिन्छ । उनकी धर्मपत्नी मिथिलाकी राजकुमारी देवी सीतासँग भगवान रामको विवाह यही दिन भएकाले यसलाई विवाह पञ्चमी भनिएको हो । अयोध्याका राजकुमार, राजा दशरथका जेठा छोरा रामलाई सीताले स्वयम् वरका रुपमा वरण गरेको र त्यही संस्कृतिलाई अनुशरण गर्दै आजपर्यन्त मिथिलाञ्चलमा सबैभन्दा ठूलो पर्वका रुपमा यसलाई मनाइँदैछ । सीता स्वयम्बर हेर्न आएका राजकुमार रामले राजा जनकको प्रतिज्ञा अनुसार शिवधनु उचालेर सीताको वरमाला ग्रहण गरेको पौराणिक मान्यता छ । त्यसै अनुसार मिथिलाको राजधानी जनकपुरस्थित रामजानकी मन्दिरमा पाँच दिनसम्म विवाहउत्सव गरिन्छ । धार्मिक विधि अनुसार पञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा विशेष पूजासहित गरिने अनुष्ठानको छुट्टै महत्व छ ।

भगवान शिवले राख्न दिएको धनुष राजा जनकले आफ्नो पूजा कोठामा राखेका थिए । पौराणिक कथन अनुसार दुई चार बलिया मानिसले हल्लाउन नसक्ने सो धनुष सीता एक्लैले उठाएको देखेपछि छोरी सीताको असाधारण क्षमताका कारण राजा जनकले वाचा गरे कि ‘जसले शिवधनु उठाउँछ, त्यसैलाई छोरी सीता दिनेछु ।’ त्यही वाचा अनुसार भएको स्वयम्वर समारोहमा कसैले उठाउन नसकेको धनु भगवान रामले उठाए । धनुको ‘ताँदो’ चढाउने क्रममा तीन ठाउँमा भाँचियो । त्यही दिनको स्मरण गराउँछ विवाह पञ्चमीले । त्यसो त देवी सीताको आदर्श, चरित्र, सेवा र त्यागका कथा पनि उत्तिकै प्रचलित छन् । दरबारमा रहँदा होस् वा वनबास जाँदा अथवा रावणले हरण गरेर लैजाँदा जहाँ पनि उनको गाथा अनुपम र पे्ररणादायी छ । त्यसैगरी रावणको वध गरेर अयोध्या फर्किएपछि परित्याग हुनुपर्दाको समय होस्, कि दरवारको सुख भोग्दाको अवस्था होस् सीताको चरित्र, निष्ठा, सेवा र त्याग उदाहरणीय रहेको छ ।

असल छोरी, असल पत्नी, असल बुहारी, असल भाउजूका रुपमा वैदिक सनातन धर्ममा वर्णन गरिएकी देवी सीताको विशेष स्मरण गर्ने दिन नै आज हो । जस्तै कठिन परिस्थितिमा पनि अविचलित रहेर कर्तव्य र धर्मको निर्वाह गर्ने देवी सीताको विवाह भएको दिनलाई सम्झिएर सबै नारी जातिमा त्यही विशिष्टता र विशेषताको अपेक्षा गर्नु यो दिनको सान्दर्भिकता पनि हो । ‘घर भन्नु नै नारी हो’, यसको सार्थकता हाम्रा पौराणिक ग्रन्थहरुले पुष्टि गरेका छन् । आज पनि राम राज्यको उदाहरण दिइन्छ, सीताको आदर्श र निष्ठाको बयान गरिन्छ । रामायण हिन्दू धर्मको महान ग्रन्थ हो जहाँ राम–सीताको जीवन कथा छ, जसले सम्मानपूर्वक सीता–राम भन्न सिकाएको छ । एउटा पुरुषलाई सफल बनाउने शक्ति र स्रोत भनेकै नारी हुन् र त्यही महानताले यो दिनलाई अझै स्मरणीय बनाएको छ । त्यसैले सीतारामको कथा सदा प्रेरणाको स्रोत बनियोस्, जुगजुगान्तर बाँचिरहोस्, सबैमा विवाह पञ्चमीको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here